• २३ वैशाख २०८२, मङ्गलबार

नारायणीमा जथाभाबी उत्खनन, धार परिर्वतन हुने जोखिम

blog

नारायणी नदी (गण्डक बाँध) क्षेत्रमा धमाधम मेसिनको प्रयोग गरेर भइरहेको नदीजन्य पर्दाथ उत्खनन । तस्बिरः बिकास अधिकारी

बिकास अधिकारी
पश्चिम नवलपरासी, वैशाख २३ गते ।
सुस्तास्थित नारायणी नदीमा, जोखिमको आँकलननै नगरी नदीजन्य पदार्थको धमाधम उत्खनन् भइरहेको छ । नेपाल र भारतसँग सम्बन्धित गण्डक बाँधअन्तर्गत पर्ने नारायणी नदीमा अहिले एक्साभेटर मेसिन प्रयोग गरेर उत्खनन् भइरहेको छ ।

सुस्ता गाउँपालिकाले तीन वटा ठेकेदार कम्पनीलाई गण्डक बाँधको एक किलोमिटर क्षेत्रको पाँच स्थानमा नदीजन्य पदार्थ उत्खनन गर्ने गरी साढे पाँच करोडमा ठेक्का लगाएको छ । स्थानीय केही व्यक्तिको मिलेमतोमा नारायणीमा मेसिन प्रयोग गरेर भइरहेको उत्खनन नदीको धारनै परिर्वतन हुने जोखिम समेत बढेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

सुस्ता गाउँपालिकाका इन्जिनियर शाहरुख खाँले नापजाँच भइरहेकाले तोकिएको परिमाण पूरा भएमा उत्खनन कार्य रोक्ने बताउनुभयो । तर स्थानीयले तोकिएको भन्दा धेरै उत्खनन भएको भए पनि मिलेमतोमा परिमाण हेरफेर गरिएको आरोप लगाएका छन् । उत्खनन भइरहेको क्षेत्रअन्तर्गत पर्ने सुस्ता ३ का वडाध्यक्ष हरिलाल दुसाधले गाउँपालिकालाई एक हप्ता अगाडि पत्र लेखेरै जानकारी माग गर्दा समेत कुनै सुनुवाइ नभएको गुनासो गर्दे नदीले बस्तीनै जोखिममा पर्न सक्ने खतरा रहेको बताउनुभयो ।


उत्खनन गरिएको नदीजन्य पर्दाथ घाटगद्दी गर्नुपर्नेमा सिधैँ क्रसर उद्योगहरूमा पठाउने तथा व्यक्तिगत रूपमा बिक्री गर्ने गरेको पाइएको छ । नारायणी नदीमा कारण गण्डक कमान्ड क्षेत्रअन्तर्गतका १३ गाँउ डुबानको जोखिममा पर्दै आएका छन् । दुई देशबिचको महत्त्वपूर्ण नदी भएका कारण नारायणीमा यसअघि ठेक्का लगाइने गरेको थिएन । तर अहिले प्रारम्भिक वातावरण परीक्षणकै भरमा पालिकाले ठेक्का लगाउँदा जोखिम बढेको सुस्ता गाउँपालिकाका निर्वतमान अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो ।

नारायणीमा भइरहेको उत्खनन नियमसङ्गत भए नभएको विषयमा अनुगमन गरिने प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनुभयो । स्थानीयवासीले जनप्रतिनिधि र सुरक्षा निकायको मिलेमतोमा व्यापक मात्रामा नदि दोहन भइरहेको गुनासो गरेका छन् । 

गण्डक बाँध क्षेत्रमा गत वर्षको वर्षायाममा बाढीले भत्काएको ठोक्करका संरचना अझै मर्मत हुन सकेको छैन । भत्किएको स्थानको मर्मत नगरी जथाभावी भइरहेको उत्खननले गण्डक बाँध क्षेत्र जोखिममा पर्ने सरोकारवालाको चिन्ता छ । नारायणी नदीको पानी विगतमा बस्ती पस्दा ठुलो जनधनको क्षति भएको थियो ।