• १८ असार २०८२, बुधबार

सरकारी जग्गा मिचेर सडक निर्माण

blog

जलेश्वर नगरपालिकाले बनाइरहेको बाइपास सडक । कृषि सामग्री कम्पनी लिमिटेडको स्वामित्वमा रहेको जग्गामा रहेको पर्खाल भत्काएर सडक बनाइँदै छ । तस्बिर : नागेन्द्रकुमार कर्ण

नागेन्द्रकुमार कर्ण

महोत्तरी, असार १८ गते । महोत्तरीको जलेश्वर नगरपालिकाले गैरकानुनी रूपमा सरकारी जग्गा मिचेर बाइपास सडक बनाइरहेको छ । जलेश्वर नगरपालिकाले जलेश्वर–जनकपुर सडकखण्डको सिँचाइ कार्यालय नजिकैबाट जलेश्वर नगरपालिकाको कार्यालयसम्म (जलेश्वर–बर्दीबास, जलेश्वर–सम्सी सडकखण्ड) जोड्ने गरी बाइपास सडक निर्माण गरिरहेको छ । जलेश्वर नगरपालिकाको पूर्वनगर प्रमुख रामशङ्कर मिश्रले चार वर्षअगाडि निर्माण सुरु गर्नुभएको बाइपास सडकको दक्षिणबाट फेरि वर्तमान नगर प्रमुख सुरेश साह सोनारले थालनी गर्नुभएको हो । जलेश्वर नगरपालिकाले निर्माण गरिरहेको बाइपास सडक कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरको जग्गा रहेको खुलेको छ । सो कार्यालयका निमित्त शाखा प्रमुख वेचनकुमार साहले जलेश्वर नगरपालिकाले सरकारी जग्गामा गैरकानुनी रूपमा बाटो बनाइरहेको बताउनुभयो ।

उहाँले जग्गालाई व्यवस्थित गर्न बनाइएको पर्खालसमेत भत्काएर नगरपालिकाले आफूखुसी सडक बनाइरहेको भन्दै कार्यालयको जग्गाभित्र पर्ने गरी सडक निर्माण नगर्न नगरपालिकालाई पत्राचारसमेत गरिएको बताउनुभयो ।  

उहाँले नगरपालिकाले निर्माण गरिरहेको बाइपास सडकमा कृषि सामग्री कम्पनी लिमिटेड कार्यालयको स्वामित्वमा रहेको ११ वटा कित्ताको जग्गा परिरहेको बताउनुभयो । निमित्त शाखा अधिकृत साहले भन्नुभयो, “सरकारी सम्पत्तिको संरक्षण गर्नुपर्नेमा नगरपालिकाले क्षति हुने गरी सडक बनाइरहेको जानकारी प्राप्त भएपछि हामीले स्थलगत रूपमा अवलोकन गरेका छौँ । कृषि सामग्री कम्पनी लिमिटेडको जलेश्वर नगरपालिका–९ को कित्ता नं. २५५, २५६, २५७, २६०, २६४, २६५, २६६, २६७, ४९५, ५७७ र ५७९ मा सडक निर्माण भइरहेको छ ।” 

उहाँले कम्पाउन्ड वाल नै भत्काएर नगरपालिकाले सडक निर्माण गरिरहेको बताउँदै यस विषयमा आफूले सहायक प्रमुख जिल्ला अधिकारीसहित नगरपालिकालाई समेत जानकारी गराइसकेको बताउनुभयो । कार्यालय यहाँ नभएपछि कार्यालयको स्वामित्वमा जग्गा रहेकोले नगरपालिकाले जग्गाको संरक्षण गर्नुपर्ने निमित्त शाखा प्रबन्धक साहले बताउनुभयो ।

जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनारले सडक निर्माण नाप तथा नक्साङ्कन गरेर नै बनाइरहेको बताउँदै सरकारी जग्गा अतिक्रमण गर्ने कुनै मनसाय नगरपालिकाको नभएको स्पष्ट पार्नुभयो ।  उहाँले भन्नुभयो, “जग्गा अतिक्रमण पनि भएको छैन ।  हामीले नापी कार्यालय तथा कार्यालयको नापी टोलीले गरेको नक्साङ्कनका आधारमा सडक बनाइरहेका छौँ । कृषि सामग्री कम्पनी लिमिटेडले हामीसँग कुनै समन्वय गरेको छैन ।”

सडक निर्माण अगाडि बढेपछि मात्रै कृषि सामग्री कम्पनी लिमिटेडको पत्र प्राप्त भएको बताउनुहुँदै सरकारी जग्गाको क्षति हुन नदिन पुनः नापी कार्यालय, जलेश्वर नगरपालिकाको नापी टोली तथा कार्यालयका प्रतिनिधि राखेर नक्साङ्कन गरी सडक निर्माण गरिने बताउनुभयो । नगरस्तरीय योजनाबाट १० लाख रुपियाँको लागतमा तत्कालका लागि माटो र ग्राभेल हालेर सडक निर्माण भइरहेको नगर प्रमुख सोनारले बताउनुभयो ।

जलेश्वर नगरपालिकाका–९ का वडाध्यक्ष रवीन्द्र यादवले सरकारी जग्गामा नगरपालिकाले सडक बनाइरहेको पाएपछि आफूले विरोध गरे पनि रातारात सडक निर्माण भइरहेको पाएपछि कृषि सामग्री कम्पनी लिमिटेडलाई आफूले जानकारी गराएको बताउनुभयो । सरकारी सम्पत्तिको संरक्षण गर्नुपर्ने दायित्व अनुसार आफूले कार्यालयलाई जानकारी गराएको र कार्यालयका प्रमुख स्थलगत अवलोकनपछि जग्गा मिचिएको पाएपछि सो कार्य नगर्नका लागि वडालाई समेत पत्राचार गरेको बताउनुभयो । जलेश्वर नगरपालिकामा बाइपास बनेपछि बजारभित्र सवारी साधनको चाप घट्ने हुँदा यो सडक जलेश्वरको राम्रो विकल्प रहेको भनाइ स्थानीयको रहेको छ ।