• १९ असार २०८२, बिहिबार

स्वास्थ्य बिमाको ४० प्रतिशत प्रिमियम ललितपुर महानगरले तिर्ने

blog

ललितपुर महानगर र राष्ट्रिय बिमा बोर्डबिच बुधबार प्रिमियम तिर्ने सम्बन्धी समझदारी पत्र हस्ताक्षर कार्यक्रममा ।

काठमाडौँ, असार १८ गते । ललितपुर महानगरले महानगरवासीको स्वास्थ्य बिमाको ४० प्रतिशत प्रिमियम तिर्ने भएको छ । 

ललितपुर महानगर र राष्ट्रिय बिमा बोर्डबिच बुधबार प्रिमियम तिर्नेसम्बन्धी समझदारी पत्रमा महानगरले महानगरवासीको स्वास्थ्य बिमाको ४० प्रतिशत प्रिमियम तिर्ने उल्लेख गरेको छ । समझदारी पत्रमा महानगर प्रमुख चिरीबाबु महर्जन र बिमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले संयुक्तरूपमा हस्ताक्षर गर्नुभएको थियो ।  

 यसैगरी नगर प्रहरी, महानगरका सरसफाइकर्मी, सवारीचालक र महानगरमा बसोवास गर्ने एकल महिला र  टोल स्वास्थ्य उत्प्रेरकको सय प्रतिशत नै प्रिमियम तिर्ने महानगरले जनाएको  छ ।

 ललितपुर महानगरले पाटन अस्पतालसँगको प्राविधिक सहयोगमा स्वास्थ्य बिमा कार्यक्रम दुई वर्षअघिबाट सुरु गरेको हो । हाल बिमितले यल स्वास्थ्य केन्द्र मार्फत बिमा कार्यक्रमको प्रथम सेवा केन्द्रबाट प्राप्त हुने स्वास्थ्य सेवा लिइरहेका छन् । 

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले पाटन अस्पतालसँग सहकार्य गरेर महानगरको स्वास्थ्य क्षेत्रमा नयाँ र नौलो काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘महानगरले महानगरवासीलाई प्रदान गर्ने स्वास्थ्य सेवाको प्रस्थान विन्दु हो । ’

महर्जनका अनुसार  महानगरले कोभिडको बेलादेखि पाटन अस्पतालसँग सहकार्य गर्दै आएको छ । कोभिडपछि महानगरले सहयोगमा पाटन अस्पतालमा  अक्सिजन प्लान्टसमेत जडान गरेको नगर प्रमुख  बताउनुहुन्छ ।  

पाटन अस्पतालमा मर्चरी हाउसको स्तरोन्नतिका लागि समेत महानगरले सहयोग गरेको थियो । उहाँले यल स्वास्थ्य केन्द्रमा चाप बढेको बताउँदै उपयुक्त स्थानमा यसलाई विस्तार गर्ने तयारी गरेको जानकारी दिनुभयो । 

 महानगर प्रवक्ता राजु महर्जनले महानगरवासीको स्वास्थ्यप्रति महानगर संवेदनशील भएको बताउँदै प्रिमियम तिर्ने महानगर पहिलो स्थानीय तह भएको दाबी गर्नुभयो ।  

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक रवि शाक्यले स्वास्थ्य बिमा कार्यक्रममा समेटिएका नागरिकको ४० प्रतिशत प्रिमियम तिर्ने निर्णय महत्त्वपूर्ण निर्णय भएको बताउनुभयो । ललितपुर महानगर पाटन अस्पतालको अभिभावक भएको बताउँदै पाटन अस्पतालको उतारचढाव र कठिनाईमा सँगै भएको बताउनुभयो ।  

राष्ट्रिय बिमा बोर्डका रघुराज काफ्लेले बिमा कार्यक्रमभित्र समेटिएका नागरिकको ४० प्रतिशत बिमा गरेर महानगर आफ्ना नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएको प्रमाणित गरेको बताउनुभयो । उहाँले भन्नुभयो,  ‘यो अन्य सात सय ५२ स्थानीय तहका लागि अनुकरणीय काम हो  ’

 विभिन्न क्षेत्रमा बिमा कार्यक्रमलाई कमजोर बनाउन खोजिए पनि अब कसैले चाहेर पनि यो कार्यक्रम कमजोर हुन नसक्ने बताउनुभयो । बिमा कार्यक्रम भुइँ तहका नागरिकले स्वास्थ्य क्षेत्रमा प्राप्त गरेको महत्त्वपूर्ण उपलब्धि भएको उहाँले बताउनुभयो । बिमा कार्यक्रमका थुप्रै आरोह अवरोह भएको बताउँदै त्यसलाई पन्छाउँदै अघि बढेको उहाँले प्रष्ट पार्नुभयो ।