भक्तिविलास पोखरेल
गाईघाट, असार १८ गते । उदयपुरको कटारी नगरपालिका क्षेत्रभित्र पर्ने स्थानीय र राष्ट्रिय राजमार्गमा भारी वर्षाको समयमा बढी भार भएका सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको छ । स्थानीय विपत् व्यवस्थापन समिति र जिल्ला विपत् व्यवस्थापन समितिको मङ्गलबार कटारीमा बसेको समन्वय बैठकले यस्तो निर्णय गरेको हो ।
विगतमा मनसुन अवधिमा बढी भार भएका सवारी साधनको आवागमनका कारण सडक र राजमार्गका पुलमा क्षति हुने र सडक अवरुद्ध हुने गरेको तथ्यलाई नियाल्दै त्यस किसिमका समस्यालाई दोहोरिन नदिन पुलको भारवहन क्षमताभन्दा बढी भार बोकेका सवारी साधन सञ्चालनमा कडाइ गर्न स्थानीय सुरक्षा निकायलाई अनुरोध गरिएको नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले बताउनुभयो । तोकिएको क्षमताभन्दा बढी भार भएका सवारी साधनको सञ्चालनमा रोक लगाउन प्रारम्भिक विन्दुमा नै कडाइ गर्ने निर्णय भएको छ । कटारी नगरपालिकाको क्षेत्रभित्र सिद्धिचरण राजमार्ग र मदन भण्डारी राजमार्ग पर्दछन् । यस्तो निर्णयले सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङका आमउपभोक्तालाई भने बर्सातको समयमा खाद्यान्न, कपडा, नुनतेल जस्ता दैनिक उपभोग्य सामग्रीको ढुवानीमा केही असहज हुने छ किनकी उपभोग्य सामग्री कटारी हुँदै जाने सिद्धिचरण राजमार्गबाट ती जिल्लामा लगिने गरिन्छ । यसबाहेक मनसुन अवधिभर विपत् व्यवस्थापन समितिले सवारी सञ्चालनसम्बन्धी गरेका निर्णयको पालना गर्न सार्वजनिक सवारी साधन सञ्चालक, यातायात व्यवसायी, ढुवानी पारवहनसम्बन्धी सङ्घ र निजी सवारी साधनलाई अनुरोध गरेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।