विष्णुप्रसाद पोखरेल
दमक, वैशाख २३ गते । झापाको मेचीनगरका किसानहरूलाई हात्तीबाट मकै जोगाउन मुश्किल भएको छ । दिनहु आउने जङ्गली हात्तीले मकैबालीमा नष्ट गर्न थालेको हो । अहिले मकैको सिजन भएकाले भारतबाट हुलका हुल हात्ती नेपाल प्रवेश गर्ने गरेका छन् ।
मेचीनगर ४ बाहुण्डागीका उज्वल अधिकारीको ५ कट्ठा, गीता अधिकारीको ३ कठ्ठा, लिलामाया गौतमको ३ कट्ठा, ज्ञानबहादुर गुरुङको साढे ४ कट्ठा जमिनमा लगाएको मकै खेती पूर्णरूपमा नष्ट गरेको हो ।
हात्तीको विषयमा जानकार स्थानीय शङ्कर लुइटेलका अनुसार समूह बनाएर हात्तीहरू मकै खान आउने गरेका छन् । हात्तीका लागि मकै राम्रो र मनपर्ने आहार भएको उहाँले जनाउनु भएको छ ।
पछिल्लो समयमा बाहुण्डागीमा स्थानीयले हात्तीमैत्री व्यवहार गरिरहेका कारण खेतबारीमा विद्युतीय तार लगाउने गरेका छैनन् । यसले गर्दा मकै र अन्य खाद्यान्न बाली नष्ट गर्दै आएको छ ।
वडा नं. ४ का वडाध्यक्ष अर्जुन कार्कीका अनुसार अन्नबालीमा हात्तीले वर्षे बर्सेनि क्षति पुर्याउने गरेकाले बाली बिमामा जोडिन सबैलाई आग्रह गरिएको छ । बिमा गरेका किसानहरूले बिमाबाट क्षतिको बिमा दाबी भुक्तानी पाउने उहाँले जनाउनुभयो ।
झापाका सबैजसो पालिकाहरूमा हात्ती आतङ्क रहेको छ । जिल्लालाई मकै जोनको रूपमा विकास गरिएकाले मकैको व्यवसायीक खेती हुने गरेकाले हात्तीहरू यो समय पल्किएर आउने गरेको बताइने गरेको छ ।