ज्ञानु पंगेनी
मध्यविन्दु, वैशाख २३ गते । वैशाख २ गते मध्यविन्दु नगरपालिका–१२ का १४ वर्षीय प्रज्वल पौडेल र १५ वर्षीय विजय पौडेलले नारायणी नदीमा पौडी खेल्ने क्रमममा डुबेर ज्यान गुमाए ।
दुई दाजुभाईका छोरा रहेका उहाँहरू पाँच जना साथीसँग नयाँ वर्षको अवसर पारेर ड्राइ पिकनिक गएका थिए । नारायणी नदी किनारमा रमाउन गएका उहाँहरू पौडी खेल्न नदीमा पसे तर सधैँका लागि नदीमै विलीन भए ।
यस्तै अर्को घटना गत चैत महिनामा गैंडाकोटमा भयो । चैत महिनाको २६ गते गैँडाकोट नगरपालिका १ कुमालटोल बस्दै आएका १३ वर्षीया दिक्षा सेर्पुजा र ९ वर्षका स्वपनील सेर्पुजा बृटिसक्याप स्थित नारायणी नदीमा डुबेर बेपत्ता भए ।
चैत २७ गते मात्रै उहाँहरू दुवै जानको शव फेला पर्यो । हजुरआमासँगै नारायणी नदीमा पुगेका उहाँहरू हजुरआमाको चप्पल नदीमा खसेपछि सोहि चप्पल समाउन भन्दै नदीमा पसेका थिए । गहिरो नारायणीमा पसेका उनीहरू फर्किनन सकेनन अनि ज्यान जान पुग्यो ।
यी दुई दुखद घटना त प्रतिनिधी पात्र हुन् । नारायणी नदी किनारमा रमाउन गएकाहरू अकालमा मृत्यु वरण गरेका घटना जिल्लामा धेरै छन् ।
नवलपरासी पूर्व (नवलपुर) भएर बग्ने नारायणी नदीमा डुबेर १३ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको अहिलेसम्म नारायणी नदीमा डुबेर मृत्यु हुनेको सङ्ख्या १३ जना छ भने , विभिन्न खोला कुलो, नहरमा समेत गरी डुबेर मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरको तथ्याङ्क अनुसार नारायणी नदीमा चालु आर्थिक वर्षको साउनदेखि वैशाख २२ गतेसम्मको तथ्याङ्क अनुसार १८ वर्ष मुनिका बालबालिका मात्रै पाँच जनाले नारायणी नदीमा डुबेर ज्यान गुमाएका छन् । जसमध्ये चार जना बालक र एक जना बालिका छन् । १८ वर्षभन्दा माथिको पाँच जना पुरुष र दुई जना महिलाले नारायणीमा डुबेर ज्यान गुमाएका हुन् ।
नवलपुरको गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका तथा विनयी त्रिवेणी गाउँपालिकाका केही वडाहरूलाई छोएर नारायणी नदी बहने गर्दछ । नारायणी नदीमा डुबेर ज्यान गुमाउनेहरूमा धेरै जसो पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको पाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो । कतिपय घटनामा दुर्घटनावश नदीमा खसेर मृत्यु भएका छन् भने कतिपय आफैँ हाम फाल्दा ज्यान गुमाएका छन् भने, केही घटना माछा मार्ने क्रमम डुबेर ज्यान गुमाएका रहेको प्रहरी नायब उपरीक्षक नेपालले बताउनुभयो।
डुबेर मृत्यु भएका २४ जना मध्ये ११ जना अन्य खोला, कुलो, नहरमा डुबेर ज्यान गुमाएका छन् । एक जना दुई वर्षको बालकको गोबर ग्यासको ट्याङकीमा खस्दा मृत्यु भएको घटना समेत रहेको नेपालले जानकारी दिनुभयो ।