राममणि दाहाल
मकवानपुर, वैशाख २३ गते । हेटौँडामा जारी मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब प्रवेश गरेको छ ।
हेटौँडा उपमहानगरपालिका वडा ६ स्थित गौरीटार रङ्गशालामा भएको पहिलो सेमिफाइनल खेलमा चितवन फुटबल सङ्घको टिमलाई ७–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
पुलिसको जीतमा मीना देउवा र निर्मा उपाध्यायले ह्याट्रिक गर्नुभएको थियो । देउवाले खेलको २१औँ, ४०औँ र ५९औँ मिनेटमा तथा उपाध्यायले ३४, ६६ र ८० औँ मिनेटमा गोल गर्नुभएको थियो ।
पुलिसका लागि अर्को एक गोल ४५औँ मिनेटमा सुश्मा तामाङले गर्नुभयो । देउवा प्लेयर अफ दी म्याच घोषित हुँदै १० हजार रुपियाँ प्राप्त गर्नुभयो । फाइनल प्रवेश गरेको पुलिसले उपाधिका लागि बिहीबार विभागीय टोली एपीएफ र सङ्कटा क्लबबिचको विजेतासँग भिड्ने भएको छ ।
एपीएफ र सङ्कटाबिचको सेमिफाइनल खेल मङ्लबार हुने छ । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपियाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।