• २२ वैशाख २०८२, सोमबार

सडक दुर्घटनामा १८ जनाको मृत्यु

blog

तमानखोला गाउँपालिकामा दुर्घटना भएको पिकअप जिप । तस्बिरः अर्जुन कार्की

अर्जुन कार्की 

काठेखोला (बागलुङ), वैशाख २२ गते । बागलुङमा चालु आर्थिक वर्ष २०८१–८२ को नौ महिनामा सवारी दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार नौ महिनामा १९ सवारी दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रहरी हवलदार बैकुण्ठ पौडेलले सवारी दुर्घटनामा १२ जना पुरुष र ६ जना महिलाको मृत्यु भएको बताउनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार दुर्घटनामा परी १९ जना घाइते भएका छन् । प्रहरी हवलदार बैकुण्ठ पौडेलले दुर्घटनामा परी १० जना गम्भीर र ९ जना साधारण घाइते भएको बताउनुभयो ।

बागलुङमा सबैभन्दा बढी जिप र कार दुर्घटनामा परेका छन् । प्रहरी हवलदार पौडेलले नौ महिनामा ११ वटा जिप र कार दुर्घटना भएको बताउनुभयो । उहाँले ३ वटा मोटरसाइकल, २ ट्याक्टर, १ टिपर, १ बस र १ डोजर दुर्घटना भएको बताउनुभयो । 

कात्तिक र चैत महिनामा धेरै दुर्घटना भएको छ । कात्तिक र चैत महिनामा ५–५ वटा सवारी दुर्घटनामा परेका छन् भने भाद्र महिनामा १ वटा, मङ्सिर र पु्स महिनामा २–२ वटा, माघ महिनामा १ वटा र फागुन महिनामा ३ वटा सवारी दुर्घटनामा परेको प्रहरी हवलदार पौडेलले बताउनुभयो ।

यस्तै, ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ६ सय ६८ वटा सवारी साधनलाई कारबाही गरिएको छ । प्रहरी हवलदार पौडेलका अनुसार साउन महिनामा ९ सय ७० वटा, भदौ महिनामा १ हजार १ सय ७४ वटा, असोज महिनामा १ हजार १ सय ८४ वटा, कात्तिक महिनामा १ हजार ७ सय ४५ वटा, मङ्सिर महिनामा १ हजार ६ सय ९६ वटा, पु्स महिनामा १ हाजर ५ सय ३८ वटा सवारी कारबाहीमा परेका छन् ।

त्यस्तै माघ महिनामा १ हजार ४ सय २१ वटा, फागुन महिनामा १ हजार ३ सय ८८ वटा र चैत महिनामा १ हजार ५ सय ५२ वटा सवारी साधनलाई कारबाही गरिएको पौडेलले जानकारी दिनुभयो ।

प्रहरी हवलदार पौडेलले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीलाई कारबाहीबाट नौं महिनामा १ करोड ४ लाख ६५ हजार रुपियाँ राजस्व सङ्कलन भएको बताउनुभयो । उहाँले साउन महिनामा ८ लाख ४१ हजार रुपियाँ, भदौ महिनामा ९६ लाख ६ हजार रुपियाँ, असोज महिनामा ९ लाख ५८ हजार रुपियाँ र कात्तिक महिनामा १४ लाख ७ हजार रुपियाँ राजस्व सङ्कलन गरिएको बताउनुभयो । 

कार्यालयले मङ्सिर महिनामा १४ लाख २७ हजार पाँच सय रुपियाँ, पुस महिनामा १२ लाख १२ हजार पाँच सय रुपियाँ, माघ महिनामा ११ लाख ७६ हजार रुपियाँ, फागुन महिनामा ११ लाख ७७ हजार पाँच सय रुपियाँ र चैत महिनामा १२ लाख ९९ हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन गरिएको जनाएको छ ।

पछिल्लो नौं महिनामा सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लङ्घन गर्ने ५ हजार ५० वटा कार–जिप कारबाहीमा परेको र ४१ लाख ४७ हजार पाँचसय रुपियाँ राजस्व सङ्कलन भएको हवलदार पौडेलको भनाइ छ । कार्यालयका अनुसार नियम उल्लङ्घन गर्ने १ हजार १ सय ३३ वटा ट्रक–टिप्परबाट ९ लाख ६१ हजार पाँच सय रुपियाँ, ५ सय ९१ वटा बसबाट ४ लाख ८४ हजार पाँच सय रुपियाँ, ४ हजार ९ सय ६४ वटा मोटरसाइकलबाट ४१ लाख ८२ हजार पाँच सय रुपियाँ, ७ सय ७३ वटा ट्याक्टरबाट ५ लाख ६७ हजार रुपियाँ र १ सय ५७ वटा अन्य सवारी कारबाहीबाट १ लाख २२ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ ।

ट्राफिक प्रहरी कार्यालय बागलुङले नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाहीका साथै विद्यार्थी, सवारी चालक, व्यवसायी र सर्वसाधारणलाई जनचेतनाका कार्यक्रम समेत गर्दै आइरहेको छ ।