गोरखापत्र अनलाइन
काठमडौँ, असार १३ गते । जल तथा मौसम विज्ञान विभागले शनिबार साँझदेखि लुम्बिनी प्रदेशसहितका पश्चिम नेपालको केही ठाउँमा भारी वर्षा हुने जनाएको छ। आज साँझ मनसुन विशेष मौसम बुलेटिन जारीगरी विभागको मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
विभागका अनुसार बङ्गालको खाडी तथा अरबको सागरबाट प्रवाह हुने जलवाष्पयुक्त हावाका साथै त्यस क्षेत्रहरूमा न्यूनचापीय प्रणालीको प्रभावको कारण भारी वर्षा हुन लागेको हो ।
विभागले भनेको छ, “असार १४ गते शनिबार साँझदेखि २०८२ असार १६ सोमबार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भूभाग, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । साथै अन्य प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।”
महाशाखाले हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानमा तथा पश्चिममा सरदर स्थानबाट दक्षिणतर्फ अवस्थित रहेको जनाइएको छ । भोलि शनिबार साँझबाट उक्त रेखा सरदर स्थानबाट उत्तरतर्फ पश्चिम नेपालको केही नजिक सर्ने सम्भावना देखिएको विभागले जनाएकको छ ।
यस प्रणालीको प्रभावले शनिबार साँझदेखि असार १६ गते सोमबार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भूभाग, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभागमा मनसुन सक्रिय हुनेछ ।
सम्भावित वर्षाको कारणले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठुला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माणकार्य, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।