• २३ वैशाख २०८२, मङ्गलबार

राष्ट्रिय कर्मचारी सङ्गठन, गोरखापत्रले तीन जनालाई सम्मान गर्ने

blog

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, गोरखापत्र संस्थान, केन्द्रीय समितिले पुरस्कार प्रदान गर्ने कर्मचारीहरू ।

काठमाडौँ, वैशाख २३ गते । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, गोरखापत्र संस्थान, केन्द्रीय समितिले गोरखापत्रका १२५ वर्ष प्रवेश तथा संस्थानको ६३ औं वार्षिकोत्सवको अवसरमा आयोजना हुने कार्यक्रममा तीन जना कर्मचारीलाई पुरस्कार प्रदान गर्ने भएको छ ।

समितिका अध्यक्ष विष्णुप्रसाद खनालको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले संस्थानमा कार्यरत कर्मचारीमध्येबाट तीन जना कर्मचारीलाई ‘जागरुक जनसेवक सम्मान’बाट सम्मानित गर्ने निर्णय गरेको हो ।

निर्णयअनुसार वरिष्ठ कम्प्युटर अधिकृत अमिरमैया रञ्जित, टंकबहादुर दानी र शैलेस पराजुलीलाई जागरुक जनसेवक सम्मानबाट सम्मानित गरिने भएको हो ।

रञ्जित २०४७ भदौ २९ गतेदेखि संस्थान सेवामा प्रवेश गर्नुभएको थियो । काठमाडौँको यङ्गाल, मञ्जुश्री स्थायी ठेगाना रहनुभएको उहाँ हाल कम्प्युटर शाखामा कार्यरत हुनुहुन्छ । लामो समयदेखि कम्प्युटर शाखामा कार्यरत उहाँ इमानदार, अनुशासित, लगनशील र कर्तव्यनिष्ठ कर्मचारीका रूपमा चिनिनुहुन्छ ।

यसैगरी २०४६ चैत १ गतेबाट संस्थामा प्रवेश गर्नुभएका दानी कार्यालय सहयोगी (पाँचौँस्तर) पदमा सेवारत हुनुहुन्छ । हाल द राइजिङ नेपाल दैनिकमा कार्यरत उहाँ लगनशील, इमानदार, अनुशासित र कर्तव्यनिष्ठ कर्मचारीका रूपमा चिनिनुहुन्छ । यसै वर्ष अवकाशमा जान लाग्नुभएका उहाँ गोरखा नगरपालिका–३ गोरखाका स्थायी बासिन्दा हुनुहुन्छ । 

त्यस्तै, २०५३ भदौ १० गते कार्यालय सहयोग पदमा संस्थान सेवामा प्रवेश गर्नुभएका पराजुली वितरण विभागअन्तर्गत ग्राहक सेवा शाखामा कार्यरत हुनुहुन्छ । काठमाडौँ कोटेश्वरमा स्थानीयबासिन्दा उहाँ लगनशील, इमानदार, अनुशासित र कर्तव्यनिष्ठ कर्मचारीका रूपमा परिचित हुनुहुन्छ ।