• २३ वैशाख २०८२, मङ्गलबार

नेपालगन्जमा हात्तीपाइले रोगविरुद्धको अभियान लम्बियो

blog

नेपालगन्ज ५ मा धर्मगुरुले समुदायमा गएर औषधी सेवन गरेर देखाउँदै । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, वैशाख २३ गते । १३ पटकसम्म अभियान सञ्चालन गर्दा पनि लक्ष्य पुरा नभएपछि बाँकेका तीन पालिकामा १४ औं पटक सुरु गरिएको हात्तीपाइले रोगविरुद्धको औषधी सेवन अभियानमा यस पटक पनि धेरैले औषधी सेवन नगर्दा अभियान लम्बिएको छ ।     

स्वास्थ्य कार्यालय बाँकेका किटजन्य फोकल पर्सन दुर्गा गौतमले बाँके जिल्लाका तीन वटा पालिकामा १४ औं पटक गत फागुन पाँच गतेबाट सुरु गरिएको अभियानमा पनि धेरैले औषधी सेवन गर्न नमानेपछि अभियानलाई लम्ब्याइएको बताउनुभयो । उहाँले नेपालगन्जमा हालसम्म ५३ प्रतिशतले मात्र औषधी सेवन गरेको जनाउँदै नरैनापुरमा ६८ प्रतिशत र डुडुवामा ७० प्रतिशतले औषधी सेवन गरेको हुँदा अभियानको समय बढाइएको बताउनुभयो । 

८० प्रतिशतले औषधी सेवन नगर्दासम्म अभियान असफल मानिने हुँदा कम्तीमा यस पटक ८० प्रतिशत प्रगति पुर्‍याउने लक्ष्यका साथ अभियानलाई अगाडि बढाइएको फोकल पर्सन गौतमले बताउनुभयो । 

बाँके जिल्लाका तीन वटा पालिकामा लक्ष्य पूरा नहुँदा सन् २०३० सम्म नेपाललाई हात्तीपाइले रोग मुक्त देश घोषणा गर्ने योजना समेत प्रभावित हुने देखिएकोले जसरी पनि तीन वटा पालिकामा ८० प्रतिशतलाई औषधी खुवाउनुपर्ने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । नेपालगन्ज उपमहानगरपालिकाका वडा नम्बर ३, ४, ५, ७, ८, ९, १३, १६, २१, २२ र २३ मा हालसम्म ५० प्रतिशतले औषधी खाएको हुँदा सो प्रतिशतलाई बढाएर कम्तीमा ८० प्रतिशत पुर्‍याउन दिनरात खटिएको स्वास्थ्यकर्मीहरूको भनाइ छ । 

अभियान सुरु भएको तीन महिना पुग्न लाग्दा समेत लक्ष्य हासिल नहुँदा अहिले धर्मगुरुहरूलाईसँगै लिएर घरघरमा पुगी औषधी खुवाइरहेको स्वास्थ्य कार्यालय बाँकेका किटजन्य फोकल पर्सन गौतमले बताउनुभयो । उहाँले अहिले वडा नम्बर पाँचलाई फोकस गरेर अभियानलाई अगाडि बढाइएको बताउनुभयो । 

यसैबिच सो अभियानलाई सफल पार्न नेपालगन्जमा रहेका विभिन्न गैर सरकारी सङ्घसंस्थालाई पनि परिचालन गर्ने निर्णय गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसका लागि सङ्घसंस्थाका अगुवा र प्रतिनिधिसँग नेपालगन्जमा छलफल गरेर निर्णय गरिएको नेपालगन्ज उपमहानगरको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो । 

उहाँले चिकित्सक, स्वास्थ्यकर्मी लगायत पढेलेखेका र जानकारहरूलेनै हात्तीपाइले रोग विरुद्धको औषधी सेवन नगरिदिएका कारण हात्तीपाइले रोग निवारण चुनौतीपूर्ण बनेको बताउनुभयो । 

६ वर्षमै अभियान सकिने गरी १४ वर्षअघि सुरु गरिएको अभियान सोही कारणले अझैसम्म पनि सफल नभएको प्रमुख चन्दको गुनासो छ । औषधी सेवन गर्नेले सेवन गरिरहने तर नगर्नेले गर्दै नगर्ने गरेका कारण अभियान निष्कर्षमा पुग्न नसकेको जनाइएको छ ।