• २१ पुस २०८१, आइतबार

दोहोरी क्विन आयुषा

blog

बाल कलाकार आयुषा गौतम सानी छिन् तर उनले दोहोरी गीत गाउन सुरु गरिन् भने ठुला मान्छे पनि चकित पर्छन् । दर्शकको मन जितिरहेकी छन् । आयुषा गौतम कागेश्वरी मनोहरामा रहेको अक्ष्यरिका स्कुलमा कक्षा ६ मा पढ्छिन् । ११ वर्षकी आयुषा लोकदोहोरी क्षेत्रमा लोकप्रिय नाम हो । सानैमा गायन क्षेत्रमा नाम कमाउन सफल उनी दर्शकको मनमा बस्न सफल भएकी छन् । 

नेपाली लोकदोहोरी क्षेत्रमा अब्बल ठहरिएका यी बाल कलाकार सामाजिक सञ्जालमा समेत भाइरल बनेका छन् । उनको स्वर र अभिनयमा रहेको गीत श्रोताले पनि सर्वाधिक रूपमा मन पराएका छन् । इन्द्रेणी लाइभ दोहोरी कार्यक्रमबाट चर्चामा आएकी गौतमले सानै उमेरदेखि साङ्गीतिक क्षेत्रमा नाम कमाएकी उनले आफ्नो करिब २६ वटा लोकदोहोरीमा आफ्नो सुमधुर आवाज भरिसकेकी छिन् । उनले अभिनय गरेको गीत करिब १६ वटा जति पुगिसकेका छन् । जसमा उनको अब्बल अभिनय कौशल देख्न सकिन्छ ।

यस्तै इन्द्रेणीमा उनले गाएको दोहोरी गीत अनगिन्ती छन् । यसलगायत उनले धेरै गीतमा अभिनयसमेत गरेकी छन् । 

आयुषाले दोहोरी गीत गाउन सुरु गरेको करिब पाँच वर्ष भएको छ । गायनबाहेक उनी कविता वाचनमा पनि अब्बल छिन् । विद्यालयमा भएको इन्टर स्कुल गायन प्रतियोगितामा पनि केही सयमअघि मात्रै उनी गायनमा प्रथम भएकी थिइन् । 

सानैदेखि इन्द्रेणी लोकदोहोरी हेर्दै हुर्किएकी आयुषालाई नृत्यको मोह पनि छुट्टै छ । एकदिन बिदाको दिन आफ्नी आमासँग इन्द्रेणी लोकदोहोरीमा पुगेकी आयुषाको त्यहीँबाट गायन यात्रा सुरु भएको हो । 

इन्द्रेणीमा उनले नृत्य त प्रस्तुत गरिन् । नृत्यको तारिफ हुँदै गर्दा आफूले दोहोरी पनि गाउन आउँछ भनेपछि त्यही इन्द्रेणी कार्यक्रमबाट उनको गायन यात्रा सुरु भएको हो । यस्तै फुली नाकैमा भन्ने गीत उनको पहिलो अफिसियल म्युजिक भिडियो हो भने उनको स्वर रहेको अर्को गीत ताराबाजी लै गीतले तीन करोडभन्दा बढी भ्युज पाएको छ । उनको पानी गिलासमा, फुली नाकैमा, यो मान्छे चिन्छौलगायत अन्य गीत करोड कल्बमा पुगेको छ । 

आयुषाको स्वरमा रहेको अर्को तिज गीत ‘विधवा’ ले बजारमा निकै चर्चा पायो । उक्त गीत युट्युबमा ट्रेडिङ १ नम्बरमा समेत परेको थियो । गीतमा गायिका गीतादेवी र गायक हेमन्त रसाइली कान्छाले गौतमलाई आवाजमा साथ दिएका छन् । सतीश अधिकारीको शब्द र देवेन्द्र कुँवरद्वारा निर्देशित उक्त गीतमा नेपाली समाजमा विधवा नारीमाथि हेरिने दृष्टिकोणको यथार्थलाई देखाउने प्रयास गरिएको छ ।

यसै गरी उनलाई दर्शकले ज्ञानी, संस्कारी, अनुशासित बाल कलाकारको उपनामसमेत दिने गर्छन् । यसबाहेक उनले संस्कारी बालबालिका अवार्ड पनि जितेकी छन् । काँठे लोकदोहोरीबाट, म्युजिक खबर, इन्टरनेसनल योग ध्यान समितिबाट विभिन्न समयमा उनी पुरस्कृत भएकी छिन् । 

यसका साथै उनले विभिन्न मेला तथा महोत्सवमा पनि दोहोरी गाउने गर्छिन् । विभिन्न मेला महोत्सवमा समय दिँदै गर्दा पनि उनी आफ्नो पढाइमा समेत अब्बल छन् । 

 प्रस्तुति : सनम महर्जन