• २१ पुस २०८१, आइतबार

प्रशंसनीय क्षमताकी प्रशंसा

blog

भरतपुर महानगरपालिका–२, आँपटारीमा जन्मिएकी १५ वर्षीय प्रशंसा पराजुली प्रशंसनीय क्षमताकी धनी छिन् । स्मल हेभन मोडेल स्कुल कक्षा १० मा अध्ययनरत उनी विद्यालयकी प्रथम छात्रा हुन् । उनको लेखन, वाचनमा पनि त्यत्तिकै अब्बल छिन । कथा, कविता, निबन्ध जस्ता साहित्यिक लेखनमा उत्तिकै दक्षता राख्ने प्रशंसा मुना तथा अन्य पत्रपत्रिकाकी राम्रो लेखिकाका रूपमा यति सानो उमेरमै स्थापित भइसकेकी छन ।  

उनको लेखन तथा वाचन क्षमता विद्यालयभित्र वा बाहिर हुने विभिन्न प्रतियोगितामा भाग लिई विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गरिसकेकी छन् ।  उनले १५ देशका माध्यमिक तहका एक हजार पाँच सय विद्यार्थी सहभागी २१ औँ अन्तर्राष्ट्रिय विद्यार्थी गुणीय चक्र सम्मेलन–२०२२ मा कथा लेखनमा तृतीय पुरस्कार, नमुना विश्व व्यापार सङ्गठनको सम्मेलनमा सहभागी भई उत्कृष्ट सहभागी सम्मान, चितवनमा सिनर्जी एफएमले आयोजना गरेको खुला कविता प्रतियोगितामा सान्त्वना, विद्यालयस्तरीय विभिन्न प्रतियोगितामा प्रथम स्थान पुरस्कार प्राप्त गरेकी प्रशंसाले अन्य दर्जनौँ पुरस्कार तथा सम्मानपत्र प्राप्त गरिसकेकी छन् ।

मुनासँगको कुराकानीमा प्रशंसाले घरमा बुवा निरन्तर पढलेख गर्ने भएकाले आफू पनि त्यसैबाट प्रेरित भएको बताउँछिन् । चितवनका पत्रकार तथा पर्यटन व्यवसायी रहेका वसन्त पराजुली तथा माता सञ्जु पौडेलकी छोरी हुन् । 

उनले सूचना प्रविधिमा अलिकति चासो राख्ने व्यक्तिले कुनै पनि कुराको अनविज्ञता भए सजिलै खोज्ने माध्यम बनेको छ च्याट जिपिटी । यसलाई हामीले विश्वास पनि गर्छौं तर यही च्याट जिपिटीले पनि कहिलेकाहीँ गल्ती गर्छ भन्ने कुरा थोरैले मात्रै भेउ पाउँछन् । यस्तै भेउ पाउने सचेत विद्यार्थी हुन् चितवनकी प्रशंसा पराजुली । 

उनले आफ्नो अनुभव सुनाउँदै भनिन्, पढ्दै जाँदा उनलाई ऐक्षिक गणितको एउटा प्रश्न बुझ्नै सकिन । खासै जिपिटी च्याट प्रयोग  नगर्ने उनले पहिलो पटक आफूले नजानेको प्रश्न च्याट जिपिटीलाई सोधिन् । च्याट जिपिटीले दिएको उत्तरले उनलाई चित्त बुझेन । फेरि प्रतिप्रश्न गरिन् र त्यसले एउटै फर्मुला दुई पटक प्रयोग गरेको फेला परेपछि यो गल्ती भयो भनेर त्यही उत्तर गरिन् । उत्तिखेरै च्याट जिपिटीले पनि गल्ती स्वीकारेर नयाँ ढङ्गले त्यसको उत्तर दिएको प्रसङ्ग प्रस्तुत गरिन् ।

प्रस्तुति : आर्यन थापा