नेपालका अधिकांश जातिले आफूलाई कुनै न कुनै भगवान् वा ऋषिका सन्तान मान्दछन् । नेपाली समाजमामा प्रचलित गोत्र तथा जातिको नामकरणले पनि यस्तो दाबी पुष्टि गर्छ ।
दनुवारहरू आफूहरूलाई द्रोणाचार्य ऋषिका सन्तान भएको दाबी गर्छन् । हुन त कतिपयले दुन क्षेत्रमा बसोबास गरेकाले दनुवार नामकरण भएको विश्वास गर्छन् तर दुन शब्दको प्रयोग धेरै पछि भएको विश्वास गर्ने हो भने यो आधार त्यति विश्वासिलो लाग्दैन । केही दनुवारले आफूलाई मध्यकालीन नेपालको सिम्रौनगढ राज्यका राजा नान्यदेवका सन्तान भएको बताउँछन् ।
भारतको कर्नाटकस्थित दोन (सरयु) किनारमा बसोबास गरी माछा र खेतीपातीबाट जीविकोपार्जन गरेका यिनीहरूले नेपालको हालको बारा जिल्लामा आएर सिम्रौनगढ राज्य स्थापना गरेका हुन् पनि भनिन्छ ।
दनुवार जातिको सामाजिक संरचना : एक समाजशास्त्रीय अध्ययनका लेखक राजकुमार केसीले दनुवार जातिको उत्पत्ति दुनाबाट भएको तर्क गरेका छन् ।
उनका अनुसार एक युवती जङ्गलमा तपस्या गर्दैगर्दा त्यही निदाइन् । त्यसैबखत कोही युवक त्यहाँ आए । युवकले दुनामा आफ्नो वीर्य स्खलन गराई युवतीको योनीबाट सेचन गराए । त्यस वीर्यबाट जन्मेको बच्चा दनुवार भयो । कोही लेखक तथा अनुसन्धाता धनुवाण/धनुवार चलाउने सिकारी जाति भएकाले दनुवार कहलाइएको विश्वास गर्छन् । राष्ट्रिय जनजाति विकास समितिद्वारा प्रकाशित स्मारिकामा दनुवारको आदि थलो बाँके, बर्दिया हो भनिएको छ तर धेरै लेखक नेपालको पूर्वी भाग नै यिनीहरूको पुख्र्यौली भूमि भएको दाबी छन् ।
नेपालका सबैजसो जिल्लामा बसोबास रहेको दनुवार जातिको बाक्लो जनसङ्ख्या सिन्धुली, सिरहा, झापा, सर्लाही, धनुषा, मोरङ सुनसरी, काभे्रपलाञ्चोक, उदयपुरतिर पाइएकाले पश्चिम होइन दनुवारहरूको मूलो थलो पूर्वी नेपाल नै हो भन्ने दाबी पुष्टि हुन्छ ।
सो समितिका अनुसार कछाड लगाउने, डोरो लगाउने, राई र अधिकारी गरी चार थरी दनुवार छन् तर कतिले कछार क्षेत्रमा बसोबास गरेकाले कछारे दनुवार भएका हुन् भन्छन् । रजहन, कछरिया र राई दनुवारका प्रमुख थर हुन् । रजहन तराई, कछरिया र राई पहाडी जिल्लामा बसोबास गर्छन् । पूर्वी तराईका दनुवारले आफैँलाई राजखलकका हिन्हु राजपुत भन्छन् र अन्य क्षेत्रका दनुवारभन्दा उच्च थरी (कुल) को भएको दाबी गर्छन् ।
कसैले दनुवारलाई दलबार अर्थात् बलिया, लडाकु जातिका रूपमा बुझ्ने गरेको पाइन्छ । दनुवार जातिका मानिसको शारीरिक विशेषता धेरै हदसम्म मङ्गोल प्रजातीय विशेषतासँग समान देखिन्छन् । शारीरिक रूपमा यिनीहरू चेप्टा तथा होचा देखिन्छन् । दरिलो, हृष्टपुष्ट शरीर तथा छोटो कद र कालो वर्ण हुनु यिनको शारीरिक विशेषता हो ।
मङ्गोल प्रजाति समूहमा पनि शारीरिक बनोट किराँत जातिसँग मिल्छ तर छालाको रङ कालो, थ्याप्चो मोटो नाक, सेता दाँत, गोलो अनुहार, केही जर्रो बाक्लो कालो कपाल, मोटो ओँठ, पातला जुँगादाह्री थारूसँग मिल्छ । केही हदसम्म यिनीहरूको चालढाल र शारीरिक बनोट धिमालसँग पनि मिल्दछ ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार दनुवारलाई नेपालको आदिवासी जनजातिमा सूचीकृत गरिएको छ । विसं २०५८ को राष्ट्रिय जनगणना अनुसार कुल जनसङ्ख्या ५३ हजार २२९ रहेको दनुवारको सङ्ख्या २०६८ मा ८४ हजार ११५ रहेको देखिन्छ तर २०७८ अनुसार जनसङ्ख्या घटेर ८२ हजार ७८४ देखिएकाले यी जातिमा थर परिवर्तनको प्रभाव अनुमान गर्न सकिन्छ ।
राई, ठकुरी, अधिकारी, बस्नेत, खप्तरी, कुँवर चौधरीजस्ता थर प्रयोग गरेकाले उनीहरूको सङ्ख्या घटेको हुन सक्छ । ललितपुर डुकुछापका दनुवारले त ‘बाहुन’ थर लेख्ने गरेको पाइएको छ । बासस्थान र अन्य जातिसँगको मिश्रणले यिनको सामाजिक जीवन, सांस्कृतिक रहनसहन, पर्व, संस्कार, खानपानमा विविधता छ । राझन, रजहन, बहादुरियालाई राजपुत दनुवार भनिन्छ । जसले विधिवत् रूपमा जनै धारण गर्ने तथ्य दनुवार लोकवार्ता तथा लोकजीवन (२०६५) मा उल्लेख गरिएको छ ।
दनुवारको भाषालाई दनुवारी भाषा भनिन्छ तर उनीहरू आफ्नो भाषालाई कइनी वा कैनी भन्दछन् । भारोपेली भाषा परिवारको आर्य इरानी शाखाको भारोपेली उपशाखामा पर्ने पूर्वेली हाँगोको मगधी भाषा अन्तर्गत दनुवार भाषा पर्छ । बुढापाकाहरूले मातृभाषा बोले पनि नवपुस्ता भने नेपाली र मैथिली बोल्छन् । सम्पर्क भाषा नेपाली नै हो ।
प्रकृति पूजक यिनीहरूमा सांस्कृतिक मिश्रणको प्रभाव परेको छ । जसले यिनीहरूमा हिन्दु मान्यताका धार्मिक तथा सांस्कृतिक चाडपर्व तथा परम्परा प्रचलित छन् । नदीनाला, सूर्य, हात्ती, बाघ, रुखको पूजा गर्ने यिनीहरूले दसैँ तिहार, विवाहपञ्चमी माघेसङ्क्रान्ति, डिहवार/डिहवार्नी, बड्की/बर्की एकादशी, नागपूजा, न्वागी, कुशेऔँसी, जितिया चाडपर्व मनाउँछन् ।
कृषि र पशुपालन मुख्य पेसा मानेका यिनीहरू माछा मार्ने, हस्तकला, बुनाइ, बेतबाँसका घरेलु सामग्री बनाउने गर्छन् । घरलाई सिँगार्ने यिनीहरूको सोख र प्रचलन नै हो तर पछिल्ला वर्षमा यिनीहरू वैदेशिक रोजगारीमा जाने, निजामती, प्रहरी, सेनामा पनि आबद्ध हुँदै छन् । बन्द व्यापार र राजनीतिमा पनि यिनीहरूको उपस्थिति बढ्दै छ ।
दनुवार समाजमा मानजनी प्रथाको ठूलो महत्व छ । मान्यजनले सामाजिक प्रथा तथा घटनाका बारेमा आधिकारिक निर्णय दिन्थे र त्यसलाई पालना गर्नु आमदनुवार समुदायको कर्तव्य मानिन्छ । मानजनी प्रथाका प्रमुख मानजन हुन् । सामाजिक नियन्त्रण तथा नियमनका लागि गुमस्ता (सल्लाहकार), पगरी (सचिव) बिचारी, जमदार, गौरेत, जयबार, भण्डारीजस्ता पदीय जिम्मेवारी प्राप्त व्यक्तिहरू हुने गर्थे तर हाल यस्तो प्रचलनमा विघटन आउँदै छ ।
दनुवार जातिमा पितृसत्तात्मक समाजको विशेषता पाइन्छ । परिवारमा पुरुषको प्रधानता, छोराको बढी महत्व रहन्छ । हाल छोराछोरीबीचको विभेदमा क्रमशः कमी आएको भए पनि समानता छैन । सम्पत्ति तथा घरपरिवारको निर्णयमा बावु र छोरा निर्णायक हुन्छन् । बावुपछि छोराले घरमूलीको हैसियत र अधिकार प्राप्त गर्छ ।
विवाहको आमप्रचलन हिन्दु समाज अनुकूल छ । मागी र भागी (प्रेम/भगाउने) विवाह प्रचलित छन् । भरसक आफ्नै जातिभित्र विवाह गरिन्छ । जन्म–मृत्युका अधिकांश संस्कार तथा विधि पनि हिन्दु परम्परा अनुसार नै गरिन्छ । केही जातीय पहिरनबाहेक अन्य लुगाफाटोमा त्यस्तो भिन्नता छैन ।
महिलाले मुगा र पैसाको माला लगाउने प्रचलन छ । लुङ्गी, सारी, चोली पनि लगाउँछन् । चाडबाडमा सेतोमा कालो पहरी आँचल भएको सारी लगाउने गरिन्छ । नाकमा फुली, कानमा टप, तिलहरी, पोते लगाउँछन् । पुरुषले धोती, कछाड, सुरुवाल, सेताफेटा, गम्छा (रुमाल) लगाउने गर्छन् ।
नाचगान र मनोरञ्जनमा रमाउने दनुवार जातिमा विभिन्न धार्मिक तथा सांस्कृतिक पर्वमा जातीय बाजा बजाउने र गीत गाउने चलन छ । सङ्गीतविद् बुलु मुकारुङका अनुसार दनुवार जातिमा पुरानो रामदले लोकभाका पाइन्छ । जसलाई कृषि लोकगीतका रूपमा लिइन्छ । यस जातिमा ढोल, घाँडो, डफरा, घुँगर, धुथुर, झ्यालीजस्ता बाजा प्रचलित छन् ।
–त्रिभुवनचन्द्र वाग्ले