• १३ पुस २०८१, शनिबार

‘अनेकोs हम् एकः स्याम’ उन्मुख तरुण–तपसी (समालोचना)

blog

तरुण–तपसी नव्यकाव्य लेखनाथ पौड्यालको अद्वितीय दार्शनिक कृति मानिन्छ । धुनिकतासँग प्राणीजगतकाे जीवनदर्शनलाई जोडेर अध्यात्मको सुन्दर नमुना पस्किन सफल कवि लेखनाथको यो कृति एउटा तरु र तपस्वीको जीवनकथाका साथै स्वयम् कविको पनि आत्मकथा हो । कान्ताविरहको ज्वाला दन्किइरहेका बेला चौतारामा तन्द्रिल बनेका कविले देखेको सपना तरु र तपस्वीको एकवृक्षगत संयोग तथा तज्जनित प्रभावबाट कविहृदयमा उद्भुत कोमल भावको प्रवाहमा कलकलाउँदै सांसारिक चरित्रको काव्यधारा यहाँ बगेको छ । काव्यको विषयप्रस्तुतिको शृङ्खलालाई सूक्ष्म दृष्टिले निरीक्षण गर्दा एकबाट विस्तारित जगत्प्रपञ्च अनेक बनेर भवचक्रमा विचरण गर्दा र संसारका अनेक अनुकूल प्रतिकूल विधि–व्यवहार भोग्दा भोग्दा थकित भई अब फेरि उही अनन्त शक्तिको स्रोत परमप्रकाशमय परब्रह्ममा लीन हुन तयार भएको स्थितिलाई देखाई कविले अनेकोऽहम् एकः स्याम्, यस दर्शनलाई प्रतिपादन गरेको स्पष्ट हुन आउँछ । 

तरुण–तपसीको पहिलो व्युत्पत्ति र तात्पर्यार्थ 

तरुण–तपसी यो विशेषण–विशेष्य सम्बन्ध राख्ने कर्मधारय समास भई बनको शब्द हो । ‘तरुण’ यो तत्सम विशेषण शब्द हो र ‘तपसी’ संस्कृतको ‘तपस्वी’ शब्दको अपभ्रंश रूप लिई बनेको तद्भव नेपाली शब्द हो । बिचमा राखिएको योजक चिह्न (–) ले यसलाई एउटै समस्त शब्दको स्वरूप दिन मद्दत गरेको छ । यो चिह्न नराखे यो शीर्षक असमस्त पदावली रहेको विशेषण–विशेष्ययुक्त रहन्छ, अर्थमा खासै भिन्नता आउँदैन । ‘तरुण’ शब्दको अर्थ ‘यौवन भरिएको तन्नेरी युवक र नयाँ, ताजा’ भन्ने हो भने ‘तपसी’ शब्दको अर्थ ‘सांसारिक प्रपञ्चबाट मुक्त भएर एकान्तमा गई ईश्वरको आराधना गर्ने, तपस्या गर्ने तपस्वी’ भन्ने हो ।  

उपर्युक्त व्युत्पत्ति अनुसार तरुण–तपसी तरुण अर्थात् तन्नेरी तपसी अर्थात् तपस्या गर्ने व्यक्तिका विषयमा रचिएको काव्य हो भन्ने स्पष्ट छ । तरुण शब्दको वाच्य अर्थलाई सहारा बनाएर अलि गहिराइमा पसे शारीरिक हिसाबले मात्र नभई मानसिक हिसाबले पनि पूर्ण युवा अवस्थाको व्यक्तिविशेष भन्ने अर्थ बुझ्न सकिन्छ । तरुण भनिएका व्यक्ति यहाँ एक तपसी भएकाले उनको शारीरिक र मानसिक तारुण्यका बारेमा कविले दिएको खुलासा वास्तवमा तपस्वीको अनुकूल कति छ भनेर पनि कृतिगत आधारको विवेचन गर्नु आवश्यक हुन आउँछ । 

तरुण–तपसीको पहिलो विश्रामको २२ औँ पद्यको अन्तिम चरणदेखि तन्द्रामा परेका कविले तपसीको दर्शन पाएको प्रसङ्ग सुरु हुन्छ र २७ औँ पद्यसम्म पुग्दा तपसीको शारीरिक बनोट, पहिरन, तपस्याले गर्दा उत्पन्न दिव्य तेज र ज्ञानज्योतिद्वारा आलोकित मुहार आदिको वर्णनसँगै कवि स्वयम् उनीबाट प्रभावित भई आफ्ना सन्देहको निवारणका लागि उनीसामु जिज्ञासा राख्न उद्यत बनेको सन्दर्भ अगाडि आउँछ । त्यहाँ गरिएको वर्णनअनुसार ती तपसी मोटो अग्लो कदको शरीर भएका; घुँडा, तिघ्रा, बाहु, पेट र छातीलगायत सबै अङ्गप्रत्यङ्ग पुष्ट भएका; अति कसिलो सुगठित शरीरका; लाम्चिलो मुहुडायुक्त; काला, लामा जटाधारी, रुखका बोक्राको परिधानमा सजिएका भव्य मूर्ति देखिन्छन् । उनी समुद जस्तै अधीर, गम्भीर देखिन्छन् । सांसारिक विषयका प्रति उनी सदा एकरस अर्थात् दुःख, सुख जे भए पनि कुनै वितृष्णा वा मोह नराख्ने समदर्शी छन् । कठोर तपस्या अनि धैर्यगुणका सुदृढ खम्बा जस्ता उनका नयनमा भरिलो ओजस्विता र दिव्य ज्योति चम्किएको देखिन्छ । 

हृदयमा कान्ताजन अर्थात् प्यारी पत्नीको विरहको आलो चोट हुनाले सांसारिक विषयका प्रति वैराग्यभाव राख्ने कवि ती तपस्वीबाट केही उपदेश पाइन्छ कि भन्ने सोच्दै छन् भने तपस्वी चाहिँ कविको भाग्यरेखा नियालिरहेका हुन्छन् । फलामको टुव्रmा चुम्बकतिर तानिए जस्तै कवि उनीतिर आकृष्ट भइरहेका छन् र तिनै तपस्वीका वशमा पर्दै गइरहेका छन् । गहिरिएर हेर्दा कविले उनमा दया, मैत्री, श्रद्धा र प्रेमरसले भरिपूर्ण हुनाले भित्रदेखि नै उनी अतिशय रसिलो भएको तथा तपस्याले गर्दा धपक्क बलेको भए पनि हरक्षण अत्यन्त शान्त अनि हँसिलो त्यो दिव्य चेहरामा झल्किएको प्रभा देखेर कविको मनभित्रैबाट गद्गद् बनेको छ र उनले श्रद्धापूर्वक झुकेर विनयभावले ‘हजुर को हुनुहुन्छ ? योगाश्रम हजुरको कहाँ छ ?’ आदि प्रश्नहरू गर्दै तपसीका बारेमा अनेकौँ जिज्ञासा राखेका छन् । 

काव्यको प्रथम विश्रामको २९ औँ पद्यबाट तपसीले कविका जिज्ञासा शान्त पार्न आफ्नो जीवनगाथा आरम्भ गरेका छन् । प्रकृतिको अत्यन्त निकटमा रहेर बिताएका तपसीका मातापिताको थिए ? कुन नियतिवश नरजुनी पाए ? जीवनको यो कठिन यात्रा लिने गरी जन्म कसरी पाइयो ? आदिबारे उनलाई जानकारी नभएको उनी बताउँछन् । झोली, तुम्बा, चिम्टा, छाला, माला, गेरुकपडा आदि केही नभएको र चेलाचपेटाबिनाको एक्लो जीवन चलाउँदै उनले यौवन अवस्था बिताएको सन्दर्भ उनकै मुखबाट आएको छ । पाञ्चभौतिक शरीरको निर्माणको निरूपण र गगनाच्छादित भुवनकुटियाको स्वरूपको वर्णनबाट नै उनी सृष्टि, स्थिति र लयका बारेमा विशिष्ट ज्ञान राख्दा रहेछन् भन्ने बोध कविलाई भएको छ । एउटा रुखमा आफूलाई आरोपित गरी उनले गरेको जीवन र जगत्को व्याख्या एउटा प्रौढ पाण्डित्य हासिल गरेको विद्वान् तपस्वीले दिन सक्ने उच्चस्तरीय दार्शनिक स्वरूपमा परिणत भएको छ । यस प्रकार यो काव्य तरुण तपसीको चरित्रको द्योतक दार्शनिक काव्य रहेको पुष्टि वाच्यात्मक अभिव्यक्तिबाट हुन जान्छ । 

तरुण–तपसीको दोस्रो व्युत्पत्ति र तात्पर्यार्थ 

‘तरुण–तपसी’ यो नाम शब्दको ‘तरु न तपसी’ यस्तो पदविच्छेद गरेर ‘तरु’ शब्दको पछाडि अल्पविराम (,) राख्ने र ‘न तपसी’ यस अंशलाई पृथक् गरेर व्युत्पत्ति मिलाउने गर्दा ‘यो तरु हो, तपसी होइन भन्ने यस्तो अर्थ निकाल्न सकिन्छ । संस्कृत व्याकरणको नियमअनुसार ‘र’ को पछिल्तिर आउने ‘न’ एकपद बन्दाको स्थितिमा ‘ण’ मा परिवर्तित हुन्छ । त्यही नियमका आधारमा यस्तो व्युत्पत्ति गर्न सकिन्छ । यस व्युत्पत्तिलाई समातेर अर्थ गर्दा तरुण–तपसी नामको यो काव्य सबै नै एउटा वृक्षको कथामा अडेको तथा रुखका दृष्टिमा उपस्थित दृश्यको वर्णन गरेर जीवन र जगत्को चारित्रिक वैशिष्ट्यको विवेचनका साथ प्रकृतिप्रतिको कविसंवेदना प्रकट गर्ने दार्शनिक काव्य भएको पुष्टि गर्ने प्रशस्त आधार खडा हुन्छ । 

रुख नै यस काव्यमा एउटा वक्ता हो भन्ने सिद्ध गर्ने अनेक प्रसङ्गहरू यस काव्यभित्र छन् । कविको तन्द्रामा उपस्थित भएका तपसीले तरुका रूपमा रहेर नै आफूले भोगेका र अनुभव गरेका जगत् एवं लोकका स्वार्थी, हिंस्रक चरित्रको उपस्थापन गरेको देखिन्छ । प्रथमतः दोस्रो विश्रामको तेस्रो र चौथो पद्यमा भर्खरै मात्र उम्रेर माटोमाथि जरा गाड्न तम्सिँदै गरेको एउटा कलिलो बिरुवाको चित्र उतारिएको छ । रुखले भनेको छ– ‘म जन्मेको मात्रै थिएँ । मेरो शरीर अत्यन्त शिथिल थियो । मुन्टो पनि ज्यादै लुलो, रौँ जस्ता कलिला पयर, अडिने शक्ति फितलो भएको, दाह्रे–चुच्चे ढुङ्गाको कडा जमिनमाथि खडा भएको विचरा जस्तै थिएँ म । यो सानो बालक छ, यसलाई शरण दिने कोही छैन, यसको स्याहार गर्नु पर्छ, हुर्काउनु पर्छ भन्ने कोही त्यहाँ थिएनन् । त्यतिबेला मायाले मलाई हेर्ने को थियो र ? सबै मतलबी, स्वार्थी, अबुझ, विषयरूपी विषले व्याकुल बनेका अन्धा जस्ता मात्रै देखिन्थे ।’ यस प्रकारले रुखले आफ्नो कथा बताउन थालेको छ । 

ठुलाले सानालाई मिच्ने र जथाभावी चल्ने समाजमा बाटोको अलिकति पर छेउमा हुनाले त्यस मिचाइबाट जोगिएर आफू हुर्कन, बढ्न सकेको; शीत, गर्मी, खडेरी आदि सहँदै बर्खा लागेपछि मौलाउने अवसर पाएको जस्ता कुराको वर्णन (२÷५–२७) बाट तरुण–तपसी रुखकै जीवनी व्यक्त गर्न तत्पर काव्य भएको खुलासा दिइएको छ । 

तेस्रो विश्राममा बिरुवा अब बढ्न थालेको सन्दर्भ आउँछ । बर्खा ऋतु बित्यो, शरद् ऋतु आयो, सारा पृथ्वी सफा कञ्चन भयो । बिरुवा रुख बन्दै थियो, बिचैमा पशु धुरिन आए । कुनैले पात तानेर खाए, कुनैले सिँगौरी खेलेर बोक्रा लत्काए । जरामा पनि थरीथरीका किराले दाह्रा धसेर उसलाई समाप्त पार्न खोज्थे । यसरी अनेकौँ बाधाहरू झेल्दै उसले किशोर अवस्था बितायो । 

रुख बढ्दै बलियो हुँदै आयो । उसका हाँगाहरू फैलिए, वरिपरि हरियो भएर शिरमा उसको अर्कै आभा चम्कियो । अनि त उसप्रति मोहित भएर चराहरू चिरबिर गर्दै आउन थाले । तिनले उसैमा गुँड बनाएर बचरा पार्ने निधो गरे । कसैले दुष्ट मानिसबाट जोगिने र जोगाउनेबारे विमर्श गरे भने कसैले उसको जटामण्डलमा बसेर चहचह गर्ने योजना बनाए । रुख पनि तिनै सुमधुर सङ्गीतमा मक्ख पर्दै रमाउन थाल्यो । समय बितिरहेकै छ उसकै गतिमा । यस्तैमा हेमन्त ऋतु आयो । तुषारो परेर रुखको सारा शिर खुइलियो । शिशिरका प्रभावले सारा पात सुके । हावाले सबै झारिदियो अनि त ऊ सिव्रmो भयो । यो सबै कष्ट सहेर बढेको रुखमा अब दुःख सहने शक्ति पनि बढ्दै आयो । फेरि वसन्त लागेर उसमा पालुवा पलाए । ऊ हरियो भयो । रुख पथिकहरूको आश्रयस्थल बन्यो अनि  आश्रयदाता बनेकै कारण उताको खातामा उसको नाम ‘तरुण–तपसी’ भनी दर्ता हुनपुग्यो । यहाँ आएर कविले यस काव्यको नामनिरूपण गरेको देखिन्छ ।

कुनै दिन एउटा सिकारीले मट्याङ्ग्राले हानेर अकालमै एक चरीलाई कालको मुखमा पु¥यायो । यो देखेर रुखको हृदय चर्र चिरियो । जब सिकारीले घाइते चरीलाई समात्यो ऊ चिरिरिरी गरी कठिनसित चिच्याई । सिकारीलाई मानवताको उपदेश दिएर ऊ मरी । रुख रोयो पीडाले । प्राणीहिंसाको व्रmुर कृत्यबाट उत्पन्न वेदनामय चित्कारले कारुण्यपूर्ण स्थितिको सिर्जना गरिदियो । त्यसबेलामा पनि मानिसहरूले रुखका हाँगा भाँच्ने, लुछ्ने, लाछ्ने, ताछ्ने, खोप्ने र जरासमेत खनेर हुर्मत लिने काम बन्द गरेनन् । ऊ त्यसबाट झनै दुःखित भयो । 

चरीको चित्कारबाट मानवताको उपदेश दिने वृक्ष चौबाटोमा बसेर विभिन्नथरी मानवका नानाथरी चरित्रलाई नियालिरहेको थियो । जन्ती आऊन् या मलामी आएर बसून्; त्यागी, रागी, वैरागी, दरिद्र, लखपति, मूर्ख, विद्वान् सबैलाई एकछत्त व्यवहार गरी समान रूपले छाया र आश्रय दिएर सेवा गर्ने उसको दैनिकी उस्तै चलेको थियो । ग्रीष्म ऋतुमा सबैले उसैका आश्रयमा त्राण पाएका थिए । उसका जटामा याने रुखका हाँगामा झपक्क लागेका पातहरूभित्रका खोपीमा चराचुरुङ्गी नाचेकै थिए । यो सबै प्रकारको सेवा गर्न पाएकोमा रुख अत्यन्त सन्तुष्ट थियो । 

यस्तैमा फेरि शिशिर ऋतु आयो । कुनै दिन मध्यरातमा अत्यन्त शिथिल अवस्थाको दरिद्र कुनै अतिथि त्यहाँ आयो । उसले केही खान नपाएको स्थितिमा आफूसित केही भएको भए उसलाई खान दिएर म कति रमाउँथेँ; रुखले कल्पना ग-यो । तरुण अवस्थामा रुख हराभरा छँदै थियो तर खान दिने केही नहुनाले चौबाटोमा बस्दाको उसको जुनी विफल भएको उसलाई लाग्यो । उसको भावना बुझे जस्तै गरी दैवले उसमा प्रशस्त फल लगाइदियो । बिस्तारै तिनमा रस भरिँदै तिनीहरू ठुला भए; पाके । अनि फेरि स्वार्थी मानिसको भिड उसतिर आकार्षित भयो । लाठीले हिर्काएर हाँगा भाँच्दै फल झारे; सकेजति जम्मा पारे अनि बोकेर लगे । जसले त्यो सबै गर्न सकेनन् तिनले खान पाएनन् निर्धाहरूले । गरिबको भाग हरण गरेर सञ्चय गर्ने स्वार्थी मानिसको चरित्र देखेर रुख अर्काे पटक फेरि रोयो । उसलाई सञ्चय गर्ने प्राणी मूसा, मौरी र मान्छेभन्दा चरा नै ठिक लाग्यो जो भोलिका लागि जोगाएर राख्दैनन्; पाएको खान्छन् र सन्तुष्ट हुन्छन् । 

भोलिपल्ट जम्मा पारेको त्यही फल सबै डोकामा लिएर मानिसहरू आए र ‘किन किन’ भन्दै बेच्न बसे । मैले सित्तैँमा दिएको फल गरिब, बालक, मगन्ते वृद्ध, याचक कसैले खान पाएनन् भनेर रुख खिन्न बन्यो । मानिसको यस्तो व्यवहारले उसलाई झनै विरक्त बनायो । पैसाका लागि उनीहरू आफूले पनि नखाएर बेच्न थाले । यो पैसा भन्ने वस्तु कस्तो रहेछ भनेर रुख अचम्म मान्न थाल्यो । अनेकथरीका मान्छेका अनेथरीका चरित्र, कतै प्रशस्त सम्पत्ति छ त कतै पेटमा राख्ने चारो छैन । संसारका लीला हेर्दा हेर्दै रुखले कसरी मानिस सुखी हुन सकेन भन्ने पनि बुझ्न थाल्यो । ऋतुचव्रm फेरिँदै जाँदा फेरि रुख हराभरा भयो अनि फेरि फल लागे; पाके । फरि उही कथा मान्छेको दोहोरियो । लाठीले हान्ने, लुछ्ने, लाछ्ने, भाँच्ने क्रम उस्तै गरी चलिरह्यो । 

एक दिन एक जना गोप युवक रुखको नजिकै आए र ऐना झिकी तिलक लगाए । औँलामा लागेको बाँकी रातो रङ रुखको कम्मरमा पुछे । त्यहाँ रातो रेखा बस्यो । कुनै दिन फेरि त्यहाँ ग्वाला, ढाव्रmे आए । कतैबाट त्यहाँ चामल खस्यो । अर्काेले आएर खै किन हो त्यहीँ फूल चढायो । अनि त मानिसले रुख द्यौता पो रहेछ भन्ने ठानेर ढोग्न थाले । कसैले त्यो देखेर रुखको फेदमा गङ्गाजल दियो । अर्काे कसैले पञ्चामृत चढायो; अर्काे आयो; श्रीखण्ड आदि चन्दन लेप्यो र धजा टाँगेर गयो । एकपछि अर्काे गर्दै धेरै मानिसले उसमाथि श्रद्धा देखाए; भाकल गरे; बलि दिन थाले र वनदेवी, वाराही, द्यौराली आदि नामले पूजा गरे । दिन बित्दै जाँदा उसका विषयमा अनेकथरी उल्टासुल्टा कुरा हल्ला बनेर फैलिए । रुखलाई द्यौता मान्ने आस्तिक भनिए र नमान्ने नास्तिक कहलाए । रुखले धर्मका बारेमा मानिसले नानाथरी अड्कल लगाएको देखेर विचित्रको अनुभव ग¥यो । 

यस्तैमा विज्ञान बलियो भएर आयो र धर्म थलियो । समाजमा जडवादले जरो गाड्यो । मानवताको चरित्र नभएका दुवै रुखलाई निःसार लाग्थे । तरङ्गमा लहरिँदै स्वर्गीय आनन्दमा रमाएको अवस्थामा मानौँ उसले सबैतिर सबै हाँसेको अनुभव ग¥यो । संसारका सारा पदार्थ, देवता, मनुष्य, घृणा, लालच आदि सबैका सबै उससितै हाँसे । मानवका स्वार्थी पारा देखेर जति धन, मान कमाए पनि तेरो अन्तिम यात्रा त ममा नै समाप्त हुने हो भनेर म खाऊँ मै लाऊँ भन्नेहरूका प्रति चिता पनि हाँस्यो । गुरु र शिष्य अलग अलग बने । रुख फेरि एकल नै रह्यो । यसरी तपसी जस्तो बनेर रुखले आफूले भोगेका सबै कथाको बयान ग¥यो । कवि तन्द्राबाट ब्युँझिँदा तपसी हराएका थिए । रुख जर्जर बनेको बुढो देखिन्थ्यो । यस अर्थमा तरुण–तपसी एउटा रुखको कहानी बन्नपुग्यो । कविको मान्यता अनुसार रुख नै तरुण तपसी हो । तपसी भएकाले उसले जड भएर पनि सारा धर्मकर्मादि सांसारिक प्रपञ्चका साथै जीव र जगत्को दार्शनिक पक्षको पनि वर्णन गरेको हो भनेर अथ्र्याउन सकिएला तर रुखले बोलेको भने वाच्यार्थ मात्रै लिएमा पाठकलाई पाच्य नलाग्ला, ध्वन्यर्थमा पसेमा त्यो पनि सहजै लाग्छ ।          

तरुण–तपसीको तेस्रो व्युत्पत्ति र तात्पर्यार्थ 

दोस्रो व्युत्पत्तिका आधारमा गरिएको तात्पर्यप्रकाशनमा एउटा जड, अचेतन रुखले तपस्वीले जस्तै तटस्थ  बनेर भौतिक जगत्का स्वार्थी, लोलुप मानवका चरित्रको वर्णन गरेको अर्थ देखाइयो । तर त्यसले यो सबै कुरा कसरी गर्न सक्छ ? त्यो कसरी ज्ञानीले झैँ लोकहित र दान आदिका कारण पाइने स्वर्गीय आनन्दको स्वरूपको यथार्थ चित्र प्रस्तुत गर्न सक्छ ? अपत्यारिलो कुरा भयो यो त ! भन्ने कसैलाई लाग्न सक्छ । यस्तो तर्क दिनेहरूलाई बुझाउन ‘तरुण–तपसी’ शब्दको तेस्रो प्रकारले पदविच्छेद गरेर पुनः तात्पर्यको अन्वेषण गर्नु जरुरी हुन्छ । 

‘तरुण–तपसी’ शब्दको ‘तरु न, तपसी’ यस्तो विच्छेद गरौँ र यसबाट निकाल्न सकिने आशयबारे चिन्तन गरौँ । ‘तरु न, तपसी’ यस व्युत्पत्तिबाट ‘तरु अर्थात् रुख, रुख होइन; अपि तु साक्षात् तपसी हो’ भन्ने अर्थ सजिलै लगाउन सकिन्छ । ‘तरुण–तपसी’ बाहिर देखिएको रुख– जडत्वविशिष्ट रुख होइन, ऊ त चेतनतधर्मी विशिष्ट खालको तपसी हो भन्ने लक्ष्यार्थ निस्कन्छ । एउटा अचेतनधर्मी वृक्षमा तपसीको आरोप गर्नुमा विशेष प्रयोजन छ– समष्टि प्रकृतिको प्रतिनिधि रुखमा मानवसरह सुखदुःखादिको अनुभूति गर्न सक्ने चैतन्यको आधान गर्नु र त्यसका माध्यमबाट तपस्वी र प्रकृतिका बिचको निकटतम अन्योन्याश्रित सम्बन्धको सादृश्यमा जगत् र लोकचरित्रलाई नियाल्दै यी दुवैलाई संरक्षण गरेर कारुण्यभावले उपयोग र उपभोग गर्दा नै वरत्र अनि परत्र दुवै उज्याला हुन्छन्; अन्यथा मानवजीवन दुःखसागर बन्छ– को सन्देश दिनुरूप कविको अभीष्टको सम्यक् बोध । 

प्रस्तुत प्रयोजनको अभिव्यक्तिमा प्रशस्त आधार भेटिन्छन् तरुण–तपसीका विभिन्न विश्राममा । प्रथम विश्राममा पत्नीविरहको चोटले हृदय व्यथित हुँदा सांसारिक विषययका प्रति वैराग्यभाव राख्ने कवि तपस्या गर्ने लहडमा रहेको प्रसङ्ग आउँछ । घुम्दै घुम्दै उनी कुनै दिन छायादार रुख भएको चौतारामा बस्न पुग्छन् अनि त्यही तपस्याकै बारेमा सोच्न थाल्छन् । पाँचौँ पद्यमा कविले आफैँसित तपस्या के हो ? कठोर कष्ट सहेर गरिने तपको तìव कुन हो ? यस्तै यस्तै प्रश्न सोधेर चिन्तन गर्न थालेको प्रस्तुति छ । यस्तै विचार गर्दागर्दै त्यही रुखका फेदमा शरण लिन पुगेका कवि तन्द्रामा पर्छन् । चौतारी, रुख, रात्रि, सबै हराउँछन् र एकाएक उनका अगाडि कुनै युवा तपसी उपस्थित हुन्छन् । त्यसपछि त कवि तपसीको तारुण्यको वर्णन गर्न थालिहाल्छन् बाइसौँ पद्यबाट । 

तपस्वीको स्वरूपको वर्णन गरिसकेर उनका सामु झुकी कविले आफ्ना जिज्ञासा राखेपछि त यसै विश्रामको उनन्तिसौँ पद्यबाटै मुनि र कविको संवाद सुरु हुन्छ । आफूले गरेको तपस्याको वर्णन गर्दा गर्दै तपस्वी भौतिक जगत् नै सर्वस्व ठान्ने अनि विषयको भोगलाई नै पुरुषार्थ मान्ने अनेकथरी स्वार्थले प्रेरित मानवका स्वार्थी, ढोँगी, हिंस्रक र दयाहीन चरित्रको वर्णन गर्छन् । प्रथम विश्रामबाटै आरम्भ भएको दान, दया, दाक्षिण्य, कारुण्य, इहलौकिक–पारलौकिक प्राप्ति–अप्राप्ति र वास्तविक तपको स्वरूपको प्रतिपादन गर्ने वर्णनको शृङ्खला उन्नाइसौँ विश्रामको बाइसौँ पद्यसम्म निरन्तर गतिमान् हुन्छ । बिचका प्रत्येक विश्रामका आरम्भ, मध्य र अन्त्यमा मुनिका वाक्य तथा प्रसङ्ग अनुसार उनका मुहारमा झल्किने आभा, प्रभा, मलिनता आदिको झलक कविले दिएका छन् । आरम्भ गरिएको तपस्या र तपसीको चरित्रवर्णनको प्रतिपाद्य विषयलाई काव्यको विश्रान्तिसम्मै परामर्श गर्दै टम्म मिलाएर प्रस्तुत गरिएकाले यो काव्य तपस्वीचरित्रको नै प्रतिपादक हो; रुखको वर्णन गरिएको काव्य होइन भन्ने स्पष्ट हुन्छ । 

रुखको चौतारोमा निदाएका कविको शरणदाता रुखै थियो । प्रकृतिका अनेक कठोर–मुलायम, उर्वर–अनुर्वर, सुखद–दुःखद, सबैथरी अनुभूतिको प्रत्यक्ष भोक्ता हुनाले तपस्वीको सादृश्य वा दृष्टान्तको प्रतिमूर्ति भनौँ या प्रतिनिधि, रुख तपसीसँगै मानवचरित्रका अनेकौँ पक्षको तटस्थ द्रष्टा बनेर खडा छ । जन्मसमयका कोमलता, लुलोपन, शक्ति अडिने फितलो, आश्रय दिने वातावरण चुच्चे–दाह्रे चट्टानले भरिएको कठोर, आकाशको आवरणमा जीवन धान्नुपर्ने रुख र तपसीको जीवनपद्धति, यी सारा कुराको समसादृश्य दुवैमा उत्तिकै स्पष्ट उत्रिने हुनाले रुखको प्रत्यक्षकथनात्मक शैली यस काव्यमा अँगालिएको देखिन्छ । रुखमा स्वयम् तपस्वी लीन भएर बसिदिएकाले पनि उसमा आफूले भोगेका पीडामय क्षणको अभिव्यक्ति दिने सामथ्र्य उदाएको छ कुनै निश्चित समयका लागि कुनै कविमा सारस्वत प्रतिभाशक्ति प्रस्फुटित भए जस्तै । 

मुनिको अभावमा रुखमा त्यस सामथ्र्यको कल्पनासम्म पनि गर्न सकिँदैन । सच्चा मुनिभावमा आरूढ नभएसम्म प्रकृतिजगत् र प्राणी मात्रका प्रति तरुण तपसीको जस्तो दयाभाव व्यवहारमा उत्रिँदैन । रुखको सादृश्यमा त्यस स्तरको करुणामय हृदयको जुन सम्प्रेषणीयता काव्यमा आएको छ, त्यो केवल तपस्वीका स्तरको वचनसरणीमा पस्किँदा त्यति सुबोध्य नहुन सक्थ्यो । यस अर्थमा रुखको अभिव्यक्ति वाच्यात्मक मानेमुनिको अभिव्यक्ति व्यञ्जनागम्य मान्नु पर्छ भने ‘हैन तपस्वीकै अभिव्यक्ति यहाँ प्रथम बोधको विषय बन्छ’ भन्ने आग्रह राखिए रुखको अभिव्यक्ति व्यङ्ग्यात्मक बन्दछ । तर तेस्रो व्युत्पत्तिको सन्दर्भमा भने तपसी नै यस काव्यको प्रधान पात्र हुनाले उनको भोगाइको वर्णन नै तरुण–तपसीको मुख्य विषय हो भन्नुपर्ने हुन्छ । अन्यथा जीवन र जगत्का विविध चरित्र र भोगाइको अभिव्यक्तिको लोककल्याणकारी प्रयोजन सिद्ध हुँदैन । अतः यो रुखको होइन; तपसीको भावाभिव्यक्तिप्रधान काव्य हो भन्ने टुङ्गो लाग्छ ।         

तरुण–तपसीको चौथो व्युत्पत्ति र तात्पर्यार्थ 

वृक्षको प्रतीकात्मक प्रस्तुतिमा तपसीको आरोपणबाट तपस्वीले झैँ तटस्थ बनेर रुख र तपसी दुवैले देखेको, भोगेको विषयमा लिप्त सांसारिक मानवीय चरित्रको प्रकाशन भइसक्दा ‘तरुण–तपसी’ काव्यमा प्रतिपादित विषयको समष्टिगत स्वरूप माथिका तीनथरी व्युत्पत्तिका माध्यमबाट गरिएको तात्पर्यप्रकाशनले स्पष्ट पारिसकेको छ । प्राणी मात्रमा कारुण्यभाव राख्दा मानवको इहलोक, परलोक दुवै उज्याला बन्ने सन्देश रुख र मुनिका अभिव्यक्तिले दिएका छन् । तर जब सम्पूर्ण काव्य पढिसकेर यसको पार्यन्तिक मूल काव्यार्थ वा ध्वन्यात्मक अर्थ के हो त भन्ने चिन्तमा भावक डुब्छन् तब ‘तरुण–तपसी’ यस समस्त पदको चौथो व्युत्पत्तिको अन्वेषण अत्यावश्यक हुन आउँछ । 

‘तरुण–तपसी’ पद ‘न तरु न तपसी’ वा ‘तरु न तपसी’ यस्तो पदविच्छेदबाट बुझिने वाच्यार्थका सन्दर्भमा पनि अर्थिन्छ भन्ने दृष्टि राखेर पनि तरुण–तपसी नव्यकाव्यको मूल अभिव्यञ्जनाको खोजी गर्न सकिन्छ । तपसीले मनुष्यका फाइदाका लागि तपसीयुक्त रुखले पनि काटिनुपर्ने दयनीय अवस्थाको चित्रण गरेर तिनकोे तपस्याको परीक्षा गर्दै ग्रीष्म ऋतुमा दावानल दन्काएर मानिसले हलाहल विष प्रदान गरेको र हरेक वर्ष तिनले त्यसै गरी त्यो डढेलो सहेको सन्दर्भ सकेर पत्थरसरिको स्वार्थी मनुष्यले त्यो कठिन तपस्याको महत्ता कसरी बुझ्न सक्ला र भन्दै स्वयम् मुनि विवर्ण मुख लगाउँछन् अनि त्यही जराजीर्ण रुखमा अल्पिन पुग्छन् । त्यसपछि कवि पनि तन्द्राबाट ब्युँझन्छन् । बिहानीको सिरसिरे शीतल बताससँगै कविका आँखा खुल्छन् । उही कापी कलम लिएको अवस्थामा उनी आफूलाई पाउँछन् । यसरी यस व्युत्पत्तिको चरणमा आइपुग्दा चौतारामा तन्द्रामा परेका कविको तन्द्रिल अवस्था छुटेको छ । उनी तपसीका सुमधुर अनि हृदयस्पर्शी उपदेशका मर्मलाई आत्मसात् गर्दै अकस्मात् जागेका छन् । 

कवि केवल तन्द्राबाट मात्र जागेका छैनन् अपितु उनमा रहेको सांसारिक विषयभोगको तृष्णा हटेर, कान्तावियोगजन्य विषाद हराएर मनका अनेक संशयहरू शान्त भएका छन् । तपसीका उपदेशबाट उनका हृदयमा रहेको कालो संशयरूपी निशा बिलाएर गयो । तपसीको तप र उपदेशले दस दिशा रङ्गिएका छन् । उनको अन्तरात्मा पवित्र भई स्वच्छ भावनामय ज्योतिर्मय स्वत्वबोधको चरणमा प्रवेश गरेको छ । यस प्रकार उनी वेदान्तदर्शनले बताएको मुक्तिको अधिकारी अर्थात् सच्चा मुमुक्षुको तहमा आरूढ बनेको स्थिति यस काव्यको अन्त्यमा उपस्थापित छ । अब त न त्यहाँ अघिको जस्तो रुख छ न त ती तपसी नै छन् । जर्जरित जड रुख पनि वास्तवमा कविले तन्द्रामा अनुभव गरे जस्तो रुखका रूपमा अब छैन । रुखमा विस्तारित प्रकृतिप्रपञ्च पनि अब हराएको छ । कविको आत्मा पनि अब परमचैतन्यमा एकाकार हुनका लागि योग्य बनेको छ तपसीका उपदेशले । यसरी अब जीवतìव र परमात्मतìव मिलनको सँघारमा उभिएका छन् । 

दुईको एकत्वमा जगल्लय सम्भावित देखेर भावक रोमाञ्चित बन्छ । अनेकमा भोक्तारूप बनेको जीवचैतन्य परमचैतन्यमा लयोन्मुख भएको ध्वन्यात्मक अभिव्यक्तिलाई आत्मसात् गर्दा ‘एकोऽहं बहुः स्याम्’ बाट प्रपञ्च खडा गरेर त्यसैमा रमाउँदै पुनः ‘अनेकोऽहम् एकः स्याम्’ को अवस्थितिमा पुग्दै गरेको कल्पनाले उसको समस्त चेतना आभासित हुन्छ र भावक दङ्ग पर्दछ । यसरी प्रपञ्च हराएर एक मात्र परमात्माको अस्तित्वमा विलीन हुन उन्मुख एकत्वको अभिव्यक्ति तरुण–तपसीको पार्यन्तिक अभिव्यञ्जना बन्न पुग्छ । यस अर्थमा शान्तरस यस काव्यको मुख्य आस्वाद्य तìव हो भन्न सकिन्छ ।