जीवन रहेसम्म सङ्घर्ष सकिँदैन बरु यो समय यात्रालाई भनेर तुरुन्तै स्पेन जाने योजना बनायौ । जैले पनि समय मिलाउनको धौ धौ । हामी बेल्जियमबाट स्पेनका लागि ब्रसेल्सबाट बुवाआमा, छोरा बुहारी र सानो नाति नयन गिरी बेलुकी ७ बजे गाडीद्वारा उज्यालैमा बेल्जियमको विभिन्न सहर छिचोल्दै प्राकृतिक पदमार्ग, उपत्यका र बाटामा ठाउँ ठाउँमा बेल्जियमका ठुला चम्किला भवनहरू हेर्दै फ्रान्सको बाटो भएर स्पेनका लागि हुँइकियौँ । सीधै यात्रा गर्नु राम्रो ठानेर हामी आफ्नै साधनमा गएका थियौँ । दुईतर्फी बाटो बिचमा फूलको बगैँचा । जङ्गलैजङ्गल साह्रै सुन्दर र सफा लामो बाटो, जोखिमपूर्ण त छँदैथ्यो तर पनि बडो आनन्द भयो । बाटो यतिसम्म फराकिलो र सीधा थियो कि मैले आजसम्म त्यस्तो सडकमा यात्रा गरेकै थिइनँ !
ठुलो परिमाणको जमिन तथा बाटाका दुवैतिर उर्वर माटामा एकनासको अन्नबाली देख्दा मनै आनन्दभो । आहा ! कति धेरै गहुँखेती । सिँचाइको पनि पर्याप्त व्यवस्था भएको । बाटाबाट विभिन्न आकृतिका माटाका ढिस्का, थुम्काहरू देखिन्थे । रातको समय हुनाले वारिपारिका पहाडी भूभागमा बत्तीका झिलिमिली देखिन्थे । पहाड र त्यसभन्दा पनि माथि हिमालका दृश्य लोभलाग्दा थिए । त्यो देखेर आफ्नै जन्मभूमिको याद आयो । अग्लाअग्ला डाँडाकाँडा, हरियाली, रुखैरुख र लमतन्न परेका कालो सडक । आहा ! कति सुन्दर गाउँहरू । बारीका लामा लामा पाटाहरू । परपर नाङ्गा भीर र हरिया डाँडाहरू । त्यहाँ विभिन्न आकारका माटोका ठुला ठुला ढिस्का देखिन्थे । यात्राभरि उत्साहले तरङ्गिँदो मन । एक सय बिस तिस किलोमिटर प्रतिघण्टाको गतिमा हुँइकदा मेरो मन डराए जस्तो हुन्थ्यो । प्रत्यक दुई तिन घण्टाको फरकमा फ्युल भर्दै पसलहरूमा खाँदै पिउँदै आनन्दले रङ्गीन रातको सदुपयोग गर्दै बिहान भयो । यात्राको उद्देश्य प्राकृतिक सौन्दर्यको अवलोकन तथा भौगोलिक बनावट, प्राकृतिक वातावरण, सामाजिक आर्थिक जनजीवन हेर्ने अभिलाषा थियो ।
पत्थरको रास जस्तो देखिने चुचुरो ! नयाँ ठाउँमा अधिकांश जिज्ञासाले सोधिरहन्छ छोरा । अक्करमा अडिएर फुलिरहेछन् पोथ्राहरू । यहाँको भौगोलिक, प्राकृतिक र जैविक विविधता चाहिँ आश्चर्य लाग्दो देखिन्थ्यो । प्राकृतिक सुन्दरता र प्रचुर उर्वरता भएका त्यो दृश्यले मन कम्ती रमाएन । जङ्गलै जङ्गलको बिचबाट छिरेको सडकमा कुदिरहेछौ । झन्डै १० घण्टा फ्रान्सको भूमिमा यात्रा गरे पश्च्यात बिहान ८ बजे स्पेनको रोसेस, जहाँ फ्लाट लिएको थियौँ, त्यही पुग्यौँ ।
त्यही दिन बिहान खाना खाएर यात्रा सुरु भयो । हेर्दै वनबुट्यानभित्र हुन्हुनाउँदै उक्लिरहेथ्यो उकालो बाटो, ठुल्ठुला खोबिल्टा र पसारिएका चट्टान छिचल्दै घिस्रिरहेछ गाडी । प्रकृतिको सुन्दरता पनि घोलिएको मन । नागबेली गोरेटा, सुन्दर वन, प्रफुल्ल हुँदै ओर्लिरहेका छौँ । समुन्द्रको किनारमा रहेको ‘काला मोन्तजोई’ रेस्टुरेन्टको अगाडि साह्रै मनमोहक सामुद्रिक किनारको दृश्यले मन लोभ्याएको थियो । बारमा बियर खाने मस्त नारीपुरुषहरूको भिड थियो । उत्पात छ गर्मी । समुद्रको किनारमा २५ मिनेट जति त्यहाँ बितायौ । किनमेल गर्नुपर्ने भएकाले ‘मार्काडोनिया’ सुपरमर्केट पस्यौँ । भिड उस्तै । अत्यधिक गर्मीका कारणले स्पेनमा बिहान ८ बजे पसल खुल्ने र १२ बजे, बन्द हुने र ४ बजेदेखि राति १२ बजेसम्म पसल खुल्ने नियम रहेछ । दिन ढल्किरहेको थियो ।
भोलि बिहान १० बजेतिर गर्मीको प्रवाह नगरी उत्साहित मन लिएर यात्रा बार्सिलोनातर्फ वेगिए । अत्यन्तै उत्साहका सहयात्री भइरहेका छौँ हामी । यस्तो गर्मीको एउटा मध्याह्न हामी भने हुँइकिँदै छौँ मोटरवेमा । स्पेनको रोसेसबाट बार्सिलोना लगभग दुई सय किलोमिटरको बाटो रहेछ । बार्सिलोना जाने बाटो साह्रै सुन्दर र सफा थियो । दुईतर्फी बाटो बिचमा फूलको बगैँचा । बाटो यतिसम्म फराकिलो र सीधा थियो कि मैले आजसम्म त्यस्तो सडकमा यात्रा गरेकै थिइनँ । डाँडापाखा, खोचहरू छिचोल्दै आलु, गहु र सूर्यमुखी फूलका खेती लगाइएको ठुलो परिमाणको जमिन तथा बाटाका दुवैतिर उर्वर माटामा एकनासको अन्नबाली देख्दा हाम्रा पहाड भोजपुरतिरको याद आयो ।
रमणीय भूगोलमा हरियाली देखेर चकित हुँदै अवलोकन गर्न निक्कै मज्जा आयो । साँच्चैको टुरिस्ट पो भइयो भन्ने मनमा लागि रह्यो । ४२ डिग्रीको तातोमा अनेक घुम्ती, वन, जङ्गल, भीर, पाखामा ई १५ को मोटर बाटो फिगोरा आरब्रुसिस, हुँदै बार्सिलोना जाँदै छौ । सडकका दायाँबायाँमा मनै बहलउने झपक्कै एउटै लयमा झुलेका सूर्यमुखी देखिन्थे । थुप्रै साना तथा मालवाहक सवारी साधन गुडीरहेका देखिन्थे । बेल्जियम र यहाँ कुनै खास फरक देखिन मैले ।
स्पेनको सहर छिचोल्दै नेभिगेटरको सहयोगमा निर्दिष्ट स्थानमा पु¥यायो । बेल्जियमको देहानमा लामो समयसँगै बसेका झापा सुरुङ्गाका विनोद भाइ र झापा चारपानेका छिमेकी दिपिन कार्कीको परिवारसँग भेटभो । नानीबाबुहरूसँग खेल्दै स्वादिष्ट भोजन ग्रहन गर्दै एकअर्कालाई अँगालो हालेर आत्मीयता साट्यौँ ।
युनेस्कोद्वारा विश्व सम्पदा सूचीमा समेटिएको कलाले भरिएका भौतिक संरचना बार्सिलोना स्पेनमा अवस्थित सग्रादा फामिलिया एक रोमन क्याथोलिक गिर्जाघर हो । यो गिर्जाघर विश्व प्रसिद्ध वास्तुकला विशेषज्ञ अन्तोनी गौदीद्वारा (१८५२–१९२६) मा निर्माण भएको थियो । अहिलेसम्म पनि बनाएर नसकिएको यो गिर्जाघर २०२६ सम्ममा पूरा गर्ने लक्ष राखिएको छ । किनकि प्रमुख वास्तुकार गौदीको मृत्युको सय वर्ष पूरा हुनेछ २०२६ मा । धेरै समय लागाएर निर्माण भइरहेको यो गिर्जाघर गौदीको जब १९२६ मा मृत्यु भएको थियो । त्यो समयमा यो बैसिलिका चर्चा १५ देखि २५ प्रतिशत मात्र पूरा भएको थियो । गौदीको मृत्युपछि त्यो पूरा गर्ने कामलाई दोमेनेत्स सुगरानेसको परिकल्पना अनुसार थोरै मात्रामा पूरा गरियो । १९३६ मा युद्धस्पेनको गृह युद्धका कारण बनाउन ढिला भएको हो र अहिलेसम्म पनि पूरा गरिएको छैन ।
संसारभरका मानिसका भीडमा हामी पाँच नेपाली अनुहार पनि मिसियौँ । मध्य दिउँसो चर्काे घाममा पर्यटकीय आकर्षण उस्तै थियो । साग्राडा फ्यमिलियाको माथि बाहिरी भागमा ग्लोरिया, साभियसा लेखिएका प्रस्टै देखिन्थ्यो । चर्चको छेउको बगैँचामा गएर प्रकृतिसँग साक्षात् गर्दै पाइला राख्यौँ । हरेक व्यक्ति आश्चर्यचकित भावले साग्रादा फामिलिया हेर्दै थिए ।
साहित्य, कला, संस्कृति, साहित्यकारहरूको देश स्पेनमा घुमिरहदा मन भने नेपालमै थियो ।
राजतन्त्रात्मक देश स्पेनमा मुख्य गरेर दुई भाषा बोलिन्छ । स्पेनिस र क्यातालान भालेन्सियन हो । अन्य युरोपियन र अरबिक भाषा बोल्नेहरू पनि प्रशस्त पाइन्छ ।
सबैले ताकेर जान्छन् संसार प्रसिद्ध चर्च साग्राडा फ्यमिलिया हेर्न । परैबाट पहिलो पटक साग्राडा फ्यमिलिया चर्च देख्दा अति नै रामो लाग्यो । साग्राडा फ्यमिलिया चर्चको फेदैमा पुगेपछि एक फन्को लगाएर दायाँबायाँ, तलमाथि सबैतिर हेरेँ । कला त्यस्तै आकर्ष उस्तै । स्पेनको सबैभन्दा बढी लोकप्रिय र पर्यटकको गन्तव्य स्थल । साग्राडा फ्यमिलिया पुग्दा वरपर मानिसको ठुलो भिड देखियो । दायाँबायाँ घुमीघुमी हे¥यौँ । त्यसका वरपर हामीले केही फोटा खिच्यौँ । सफा चौडा सडक र सडकका दायाँबायाँ हरियाली कायम गर्न रोपिएका ठुल्ठुला रुख देखिन्थे । धित मरुन्जेल हेरिसकेपछि बाहिर निस्कियौँ । सडक पेटीमा घण्टौँ अँगालोमा बाँधिएर बस्ने नवयौवनाको भिड छ जताततै । सुन्दर दृश्यलाई क्यामेरामा कैद गर्दै अगाडि बढ्यौँ ।
सारै गर्मी भयो । हामी बगैँचाका चार कुनामा चक्कर लगाइरहेका थियौँ र मेरो नजरले चाहिँ छेवैमा रेस्टुरेन्ट देख्यो । भिल्ला क्याप्रिस बारको बाहिरपट्टिको एउटा टेबल छेउको कुर्सीमा हामीले बिसायौ । बैँसालु मुस्कान छर्दै एउटी हिस्सी परेकी अफ्रिकन मूलकी पफ्र्युमको महकसँगै अर्धनग्न सुन्दरी आइन् । सोधिन के पिउने भनेर । छोरा निश्चलले यहाँको प्रसिद्ध साङ्ग्रिया ल्याउन भन्यो । सिसाको बडेमानको मग भनूँ कि जग ? माथिसम्म फिँज आएको प्रसिद्ध स्पेनको टिपिकल ड्रिङ्क कागती, वाइन र काभामा आइस मिसाएर सेम्पेनको ग्लासमा खन्याइन् । सानो नाति नयनले जुस पियो । गर्मीमा चिसो पिउन पाउँदा अरू के चाहियो । सडकको पेटीमा रहरलाग्दी स्पेनिस सुन्दरी चुरोट पिउँदै टोलाइरहेकी थिइन् फोनमा । नजिकै टेबलमा रेड वाइन ।
गोधुली साँझ नहुँदै हामी फेरि हामी समुद्रको किनारतिर लाग्यौ । को बुढो, को तरुनो, भर्खरका कुरकुरे बैँसका ठिटाठिटीहरू आफ्नो छोप्नुपर्ने अङ्गहरूलाई थोरै कपडाले छोपिएका देखिन्थे । लडीबडी देखिन्थे बालुवामा । खुलेआम चुम्बन गर्दै एकअर्कामा औँला मुसार्नमा तल्लिन देखिन्थे । विभिन्न मुलुकका सुन्दर युवतीहरू नाङ्गो स्तन, नितम्ब, जाँघ बालुवाभरि सुखाइरहेका थिए । कामुक कामुक फुच्चीहरू नाङ्गै तिघ्रा पारेर फोटो खिचिरहेका देखिन्थे । कसैलाई कसैको चासो र मतलब थिएन । हामी भने मुखामुख गर्छाैं । जताततै खचाखच थियो । भिड बढ्दै जाँदा हामी भने बाहिर निस्कियौँ । टन्टलापुर घाम थियो । मौसम परिवर्तनको सङ्केत पटक्कै थिएन । हामी हाम्रो बसाइ रोसेस गिरोनातिर फर्कियौँ ।
हामी बिहान उठ्दा समुद्र लमतन्न सुतिरहेको थियो । एक हप्ताको पारिवारिक यात्राको रमाइलो बसाइ अन्त्य गर्दै स्पेनबाट अजम्बरी सम्झनालाई मनभरि उन्दै बिदाइका हात हल्लाएर बेल्जियम फर्कियौँ ।
बिर्तामोड–२, चारपाने