प्रेमराज सिम्खडा
कालीकोट, पुस १६ गते । कालीकोट जिल्लाका तीन स्थानीय तहका एक हजार एक सय विपन्न बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरिएको छ । विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरिएको हो ।
विद्यालयमा पढ्न सहज होस भनेर बालबालिकालाई शैक्षिक सहयोग गरिएको हो । कर्णाली एकिकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालले रास्कोट नगरपालिका, शान्नीत्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकाभित्रका अति विपन्न परिवारका बालबालिकालाई विद्यालय जान प्रेरित गर्न सहयोग गरेको हो ।
किर्डाक नेपालका कार्यकारी निर्देशक गोबिन्दबहादुर शाहीले प्लान नेपालसँगको साझोदारीमा विद्यालय पढ्ने बालबालिकालाई पटकपटक सहयोग गदै आएको बताउनुभयो । कार्यकारी निर्देशक शाहीले विद्यालयका भवन, खानेपानी र शौचालयमा पनि कालीकोटमा सहयोग भइरहेको जानकारी दिनुभयो । सामुदायिक विद्यालयमा अध्ययनरत तीन वटा स्थानीय तहका एक हजार एक सय २० जनालाई कापी, कलमलगायतका शैक्षिक सामग्री दिइएको छ । बाल व्यवस्थापन सञ्चार व्यवस्थापन कार्यक्रमका परियोजना अधिकृत पदमबहादुर विष्टले वडा पालिकाले सिफारिस गरेका बालबालिकालाई सहयोग गरिएको बताउनुभयो ।
शिक्षा शाखाले वडापालिकालाई जानकारी गराउने र वडाले जोखिम बालबालिकाको पहिचान गरेर सिफारिस गरेपछि वितरण गर्ने गरेको अधिकृत विष्टको भनाइ छ । नरहरिनाथ गाउँपालिका ९ का वडा अध्यक्ष प्रदिप बोहोराले शैक्षिक सामग्रीको अभावले विद्यालय जान नसक्ने बालबालिकालाई यो सहयोगले राहत पुगेको बताउनुभयो । अध्यक्ष बोहोराले अब शैक्षिक सामग्रीको अभावले हाम्रा बालबालिका विद्यालय गएनन् भनेर भन्ने ठाउँ नरहने बताउनुभयो । सहयोगी निकायले गरेको सहयोगले गाउँपालिकालाई धेरै आर्थिक भार कम हुँदै गएको गाउँपालिकाका प्रवक्ता रहनुभएका अध्यक्ष बोहोराको विश्वास छ ।
किर्डाक नेपालमा विभिन्न अन्तराष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा कर्णालीका दुर्गम विद्यालयका जोखिममा रहेका बालबालिका र विद्यालयमा लामो समयदेखि सहयोग गदै आएको छ । विद्यालयका भवन निमार्ण, खानेपानी शौचालय, स्वास्थ्यका भवन निर्माण, बालविवाह न्यूनीकरण, गुणस्तरीय शिक्षाका साथै बालबालिका, महिलामाथि हुने हिंसा न्यूनीकरणका सवालमा काम गरिरहेको छ ।