• २६ जेठ २०८२, सोमबार

शिक्षक र कर्मचारीलाई ‘शिक्षा सुशासन र सूचना प्रणाली’ तालिम

blog

तालिमको उद्घाटनमा सहभागि अतिथिहरु । तस्बिर : नौरते नेपाली

नौरते नेपाली
सिँजा (जुम्ला), जेठ २६ गते ।
स्थानीयतहका शिक्षक कर्मचारीहरुलाई शिक्षा प्रशासन, सूचना प्रणाली सम्बन्धी तीन दिने तालिम सुरु भएको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिका–६ गुरुचौरमा आठ वटै पालिकाका शिक्षक तथा विद्यालय कर्मचारीको सहभागितामा तालिम सुरु भएको हो ।

सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा कर्मचारीलाई शिक्षा प्रशासन, सूचना प्रणालीसम्बन्धी जानकारी दिने र नमुना विद्यालयका गतिविधिबारे आपसमा अनुभव आदान प्रदान गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

सामाजिक विकास कार्यालय जुम्लाको आयोजना तथा कनकासुन्दरी गाउँपालिकाको संयोजनमा कनकासुन्दरीमा तालिम सञ्चालन भएको छ । कनकासुन्दररी गाउँपालिकाका कार्यवाहक अध्यक्ष प्रेमबहादुर पछाईले सामुदायिक विद्यालय आर्थिक प्रशासन सुधार गर्नुपर्ने आवश्यक देखिएको बताउनुभयो । विद्यालय क्षेत्रमा देखिएका अन्यौलता अरु न्यूनीकरण हुने छन् । तालिमपछि विद्यालय शैक्षिक तथा प्रशासनिक क्षेत्रमा सुधार हुने स्पष्ट पार्नुभयो । सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख टोपबहादुर बुढाले सङ्घीयताको मुल मर्मलाई आत्मसाथ गर्दै जिल्ला केन्द्रित कार्यक्रमलाई अन्त्य गर्दै गाउँमा सञ्चालन गर्न थालिएको बताउनुभयो ।

विद्यालयका प्राविधिक विषयवस्तुमा स्पष्ट पार्न र नमुना विद्यालयका अनुभव आदान प्रदान गर्न तालिम आयोजना गरिएको उहाँको भनाइ । स्थानीय तहले अपेक्षाकृत रुपमा शिक्षा क्षेत्रमा लगानी गरेको देखिन्न । उहाँले भन्नुभयो, ‘‘शिक्षक कर्मचारीको अनुरोधलाई मध्यनजर गर्दै हामी तालिमको आयोजना गरेका हौँ । तालिमले विद्यालयको आर्थिक प्रणाली सुधार गर्न मात्रै टेवा पुग्ने छैन । शिक्षक कर्मचारीबिच आपसमा अनुभव साटिने छ । केही प्राविधिक कुरा सिकाइने छ । सामुदायिक विद्यालयको शैक्षिक प्रशासन सुधार हाम्रो मर्म हो ।’’

प्राविधिक सहायक जीवन रोकायाले सधैँ सदरमुकाममा हुने कार्यक्रम सामाजिक विकास कार्यालयले कनकासुन्दरीमा आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘सधैँ सदरमुकाम जानू पर्ने बाध्यता थियो । पहिलो पटक कनकासुन्दरीमा आयोजना भएकोमा खुसी छौँ । विद्यालयको आर्थिक सुशासन कायम गर्न यो तालिम कोशेढुङ्गा बन्ने छ । केही अन्यौलता छन् ती सबै सुधार हुने छन् ।’’

तालिम जेठ २७ गते सम्पन्न हुने सामाजिक विकास कार्यालयका कर्मचारी शिवशंकर चौलागाईले बताउनुभयो । उहाँका अनुसार आठ वटै पालिकामा नमुना विद्यालयका शिक्षक कर्मचारीको उपस्थिति रहेको छ ।