• २६ जेठ २०८२, सोमबार

गाईघाट–दिक्तेल सडक कालोपत्रे

blog

गाईघाट  समाचारदाता

गाईघाट, जेठ २६ गते  । गाईघाट–दिक्तेल सडक योजना कार्यालयले सडक मर्मत सम्भार कार्य अन्तर्गत सदरमुकाम गाईघाट बजारमा कालोपत्रे गर्न सुरु गरेको छ ।

कार्यालयले छ वर्षअघि निर्माण सम्पन्न भएको डिबिएसटी प्रविधिको सडकमा यो वर्ष त्रियुगा बसपार्कदेखि गाईचोकसम्म करिब एक किलोमिटर सडकखण्डमा पाँच सेन्टिमिटर मोटाइको चार लेनको अस्फाल्ट प्रविधिको कालोपत्रे गर्न सुरु गरेको गाईघाट–दिक्तेल सडक योजना कार्यालयका प्रमुख डिभिजन इन्जिनियर पशुपति ज्ञवालीले बताउनुभयो । 

उहाँका अनुसार सडकको १६ किलोमिटर माथिको साउने जङ्गल क्षेत्रमा करिब चार किलोमिटर खण्डमा सडक स्तरोन्नति गरी चौडा पार्ने र नाली निर्माण पनि भइरहेको छ । 

आउँदो असार २५ गतेभित्रमा ती दुवै स्थानको कालोपत्रे सडक निर्माण सम्पन्न हुने शिवसताक्षी निर्माण कम्पनी झापाले जनाएको छ । सडक निर्माणको लागत अभिवृद्धि करसहित आठ करोड २३ लाख ३३ हजार १११ रुपियाँ रहेको छ ।

त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्तकुमार बस्नेतले विकास निर्माणका काममा कुनै पनि किसिमको अवरोध गर्न नहुने भन्दै गाईघाट–दिक्तेल सडक आयोजनालाई आपूmले बारम्बार अनुरोध गरेपछि बजार क्षेत्रको सडकमा अहिले अस्फाल्ट प्रविधिको कालोपत्रे बन्न लागेको स्पष्ट पार्नुभयो । 

फराकिलो र अस्फाल्ट कालोपत्रेसहितको सडक स्तरोन्नतिपछि गाईचोकसम्म सडक आकर्षक हुनुका साथै सवारी आउजाउमा निकै सहज हुने कार्यालयले जनाएको छ । यसभन्दा पहिले गरिएको कालोपत्रे उप्की सकेको र गुणस्तरीय पनि नभएको तथा चौडाइ चार मिटर मात्र भएकाले सवारीसाधनको चाप अनुसार सडक साँघुरो हुँदा दोहोरो लेनमा यातायात चल्न धेरै कठिन हुन थालेपछि सडक चौडा पनि पारिएको इन्जिनियर तिवारीले भन्नुभयो । चार वर्षअघि मात्रै सदरमुकाम गाईघाटको बिच भाग भएर पूर्वपश्चिम जोडिएको मदन भण्डारी लोकमार्गसँग जोडिएको हुनाले गाईघाट–दिक्तेल सडकलाई पनि स्तरोन्नति गर्नै पर्ने बाध्यता भएपछि अहिले सडक विस्तार र कालोपत्रे गरिन लागिएको हो ।  

मदन भण्डारी सडकको कालोपत्रे उच्च गुणस्तरीय भएकाले त्यससँग जोडिएको गाईघाट–दिक्तेल सडक पनि उत्तिकै गुणस्तरीय र आकर्षक हुनुपर्ने माग जनस्तरबाट आएकाले सडक योजना कार्यालयले गाईघाट–बजारखण्डमा अस्फाल्ट प्रविधिकै कालोपत्रे गर्ने कार्य अगाडि बढाएको उहाँ बताउनुहुन्छ ।