खलङ्गा समाचारदाता
जाजरकोट, जेठ २६ गते । कर्णालीका जाजरकोट, सुर्खेत र दैलेख गरी तीन जिल्ला जोड्ने सडक अलपत्र परेको छ । जाजरकोटको शिवालय गाउँपालिकादेखि सुर्खेतको चिङ्गाड गाउँपालिकाका देउली, चिउदुवा, कोटसिला र दैलेखको भगवतीमाई गाउँपालिका जोड्ने सडक अलपत्र परेको हो । २०७९ मा शिवालय गाउँपालिकाको प्रशासनिक केन्द्रदेखि वडा नं. २ को वडा कार्यालय नेपासम्म स्थानीय तहले ट्र्याक खोलेको सो सडक वडा कार्यालयदेखि लयकाडा हुँदै दैलेखको कचाली जोड्न प्रदेश सरकारले बजेट व्यवस्थापन गरेको थियो । दुर्गम गाउँबस्ती सडक सञ्जालसँग जोड्न सम्झौता गरेका निर्माण व्यवसायीले समयमा काम सम्पन्न गरेका छैनन् ।
शिवालय गाउँपालिका–२ स्थित करिब एक किलोमिटर पाथीमारे भिरमा ट्र्याक नखोलेपछि अलपत्र परेको छ ।
सोही स्थानका लागि ट्र्याक खोल्न प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालयले गत वर्ष १६ लाख बजेट विनियोजन गरेको थियो । सो काम सम्पन्न गर्न महिमा एन्ड गरिमा निर्माण सेवाले जिम्मा लिएको थियो । सोही भिरमा बाँकी काम सम्पन्न गरी ट्र्याक खोल्न पुनः सोही निर्माण सेवासँग पूर्वाधार विकास कार्यालयसँग महिमा एन्ड गरिमा निर्माण सेवाले २०८१ मङ्सिर ५ गते ३५ लाख बजेटमा सम्झौता गरेको थियो । मेसिनहरू सोही स्थानमा भए पनि लामो समयदेखि काम सुरु नभएको स्थानीयवासीले बताएका छन् । शिवालय गाउँपालिका–२ का सुवर्ण शाहीका अनुसार जाजरकोट, सुर्खेत र दैलेख जिल्ला जोड्ने सडकलाई सरकारले दुई पटक बजेटको व्यवस्थापन गरे पनि म्याद सकिँदासमेत निर्माण व्यवसायीको लापर्बाहीका कारण सडक अलपत्र परेको छ ।