• २६ जेठ २०८२, सोमबार

अभिभावकलाई सल्लाह बालबालिकालाई हौसला दिनु पर्छ

blog

बालबालिकाको मन अत्यन्तै कोमल हुन्छ । उनीहरू जे देख्छन्, सुन्छन् र अनुभूत गर्छन्, त्यसले उनीहरूको भविष्य निर्माणमा गहिरो प्रभाव पार्छ । अभिभावक तथा परिवारका अन्य सदस्यले खेलकै क्रममा वा मजाकमा बोलेका केही शब्दले बालबालिकाको आत्मविश्वास कमजोर पार्न सक्छ ।

कतिपय अभिभावक बालबालिकासँग ठट्टा गर्दै कुनै पनि कुरा भन्छन्, जसले बच्चाहरूको मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । यस्ता शब्दले उनीहरूको सोचाइ र जीवनप्रतिको दृष्टिकोणमा गहिरो असर पार्छ । त्यसैले बच्चाहरूलाई उत्साहित गर्ने शब्द प्रयोग गर्न अत्यन्तै आवश्यक छ ।

आज हामी बालबालिकासँग बोल्दा ध्यान दिनुपर्ने चार महत्वपूर्ण कुराबारे चर्चा गर्ने छौँ, जुन मजाकमा पनि बालबालिकासँग कहिल्यै भन्नु हुँदैन ।

कतिपय अवस्थामा अभिभावक रिस वा हाँसोको क्रममा आफ्ना सन्तानलाई ‘मूर्ख’ भन्ने गर्छन् । यस्तो शब्दले बालबालिकामा आत्मसङ्कोचको भावना जागृत गराउँछ । बच्चाहरूलाई बारम्बार मूर्ख भन्ने गरियो भने उनीहरूलाई लाग्न थाल्छ कि साँच्चै नै आफू असक्षम छन् । बालबालिका नयाँ कुरा सिक्ने क्रममा गल्ती गर्न सक्छन् । त्यसैले उनीहरूलाई मूर्ख भन्नुको सट्टा सहनशीलतापूर्वक सही बाटो देखाउनु आवश्यक हुन्छ । जब अभिभावकले सकारात्मक रूपमा गल्ती सुधार्ने अवसर दिन्छन् तब बालबालिकाले सिक्ने अवसर पाउँछन् र आत्मविश्वास बढ्छ ।

‘तिमी केही गर्न सक्दैनौ’

धेरै पटक आमाबुवा वा शिक्षकहरू बालबालिकाको क्षमतामा विश्वास नगरेर ‘तिमी केही गर्न सक्दैनौ’ भन्ने गर्छन् । मजाककै रूपमा भए पनि यस्तो कुरा गर्न बालबालिकाको आत्मबल कमजोर पार्ने काम गर्छ ।

बालबालिकालाई यस्तो भनाइ बारम्बार दोहो¥याइयो भने उनीहरू आफूलाई कमजोर ठान्न थाल्छन् र जीवनमा कुनै लक्ष्य राख्न गाह्रो मान्छन् । यसको सट्टा अभिभावकले उनीहरूको क्षमतामा विश्वास देखाउनु आवश्यक छ । बच्चाहरूलाई प्रोत्साहन दिने सकारात्मक शब्दहरू प्रयोग गर्दा उनीहरूमा आत्मनिर्भरता र आशावादिता विकसित हुन्छ ।

‘अरुको छोराछोरी तिमीभन्दा राम्रा छन्’

कतिपय अभिभावक आफ्ना बच्चालाई अनुशासित बनाउनका लागि उनीहरूको तुलना अन्य बच्चासँग गर्ने गर्छन् । जस्तो– हेर त, छिमेकीको छोरा कति राम्रोसँग पढ्छ, तिमीलाई केही आउँदैन, तिमीलाई केही सिक्नु पर्छ, अरूको छोरीले कति राम्रोसँग व्यवहार गर्छ । यस्ता भनाइले बच्चाको मनोबल घट्छ । बारम्बार अरूसँग तुलना गर्दा बालबालिकाको आत्मछवि नकारात्मक बन्छ । हरेक बच्चाको आफ्नै क्षमता र प्रतिभा हुन्छ । त्यसैले उनीहरूलाई अरूसँग तुलना गर्नेभन्दा आफ्नै विकासमा ध्यान दिन प्रेरित गर्न उत्तम हुन्छ । अभिभावकले सधैँ सकारात्मक कुरा गरेर बच्चाहरूलाई प्रोत्साहन गर्नु पर्छ ।

‘तिमी जस्तो बच्चा कहिल्यै सफल हुँदैन’

यो वाक्य अत्यन्तै गम्भीर असर पार्ने प्रकारको हुन्छ । जब बच्चाहरूलाई भनिन्छ कि उनीहरू कहिल्यै सफल हुन सक्दैनन्, उनीहरूको मानसिक अवस्थामा गहिरो नकारात्मक असर पर्छ ।

बाल्यकालमा सुनेका यस्ता शब्दले दीर्घकालीन मनोवैज्ञानिक असर पार्न सक्छन् । बालबालिकालाई सानो उमेरमै असफलताको डर देखाइयो भने उनीहरूले नयाँ चुनौती सामना गर्न हिचकिचाउन थाल्छन् । यसको सट्टा उनीहरूलाई प्रोत्साहित गरेर ‘तिमीले मेहनत गरेमा अवश्य सफल हुने छौ’ भन्ने कुरा सिकाउनु पर्छ । सकारात्मक सोच र हौसला दिएर बच्चालाई जीवनमा अगाडि बढ्ने बाटो देखाउनु आवश्यक छ । भाषा सञ्चारको माध्यम मात्र होइन, यसले मानिसको सोचाइ र भावनालाई पनि प्रभावित गर्छ । बालबालिका सानो उमेरदेखि नै वरपरका कुरा ग्रहण गर्ने प्रक्रियामा हुन्छन् । तसर्थ अभिभावक र शिक्षकहरूले उनीहरूलाई सकारात्मक तरिकाले सिकाउनुपर्ने हुन्छ ।

बच्चालाई सधैँ आलोचना गरियो भने उनीहरूको आत्मसम्मान घट्छ । उनीहरू आत्मनिर्भर बन्ने साटो अरूको अनुमोदन खोज्न थाल्छन् । यसको विपरीत जब बच्चालाई प्रोत्साहित गरिन्छ, उनीहरूमा आत्मविश्वास र सिर्जनशीलता बढ्छ ।   


बालबालिकासँग संवाद गर्दा अपनाउनुपर्ने सकारात्मक उपाय

१. प्रोत्साहन दिनु होस्ः “तिमी सक्दछौ”, “तिमी धेरै मेहनती छौ”, “तिमीले राम्रो गरे छौ” जस्ता सकारात्मक शब्द प्रयोग गर्नुहोस् ।

२. गहिरो अर्थ राख्ने शब्द प्रयोग नगर्नु होस्ः आलोचनात्मक शब्दको सट्टा, सल्लाह दिने शब्दहरू प्रयोग गर्नुहोस् ।

३. तुलना नगर्नु होस्ः बच्चालाई अरूसँग तुलना गर्ने सट्टा, उनीहरूलाई आफ्नै क्षमताको विकास गर्न प्रेरित गर्नुहोस् ।

४. सहानुभूति देखाउनु होस्ः बच्चाले गल्ती गरे भने, रिसाउनेभन्दा पनि प्रेमपूर्वक सही बाटो देखाउनुहोस् ।

बालबालिका समाजका भविष्य हुन् । उनीहरूको मानसिक र भावनात्मक स्वास्थ्य सन्तुलित हुन अत्यन्तै आवश्यक छ । अभिभावक तथा शिक्षकहरूले प्रयोग गर्ने शब्दहरूले उनीहरूको आत्मसम्मान, आत्मविश्वास र भविष्यलाई असर गर्न सक्छ । 

  मुना  

Author

डा. अरुणकुमार सिंह