• १३ पुस २०८१, शनिबार

बेइमान समय (कविता)

blog

समय चङ्गा बनेर झुन्डिएको छ

हावाले कहिले यता हल्लाउँछ

कहिले उता हल्लाउँछ

गन्तव्यविहीन बनेर समय

निर्बल डोरीको सहारामा

असहाय जीवन बाँचिरहेछ


समय खम्बामा अल्झिएको चङ्गामा अल्झिएको छ

उत्रुङको सहाराले उभिएको मानिस झैँ

असहाय बनेर समय 

बिनाआवाज दौडिरहेको समयलाई नियालिरहन्छ

अल्झिएको समयलाई गाँठो मुक्त पनि कसैले गर्दैनन्

भोकै प्यासै झुन्डिएर समय

आफ्नै अगाडि गतिशील भइरहेको समयलाई

बोलाउँन पनि सक्दैन

बलैले हात समाएर रोक्न पनि सक्दैन ।


समयकै निधारमा अबगालका

अनेकौँ टुटुल्का र ढिस्काहरू छन्

कति विवश छ समय

आफ्नै टुटुल्कालाई स्नेहले सुम्सुम्याएर

सान्त्वनाको मलम लाउन पनि सक्दैन


जुग बित्यो समय आरोपित हुन थालेको

घाम लागे पनि, पानी परे पनि, भुइँचालो गए पनि

नजाती  र बैगुनी त समय नै भएको छ

कसले बुझोस् समयको पीडालाई

समय त मानिसको गति बन्न चाहन्छ,

प्रगतिको उदाहरण बन्न चाहन्छ

तर समयलाई कुल्चिएर फाइदा लिनेहरूले

एकैचोटि भनिदिए– बेइमान समय !


समयको आडमा विकृति फैलिरह्यो

स्वार्थ मौलाइरह्यो

विकृति र स्वार्थको किचाघानमा परेर

कर्तव्य, जिम्मेवारी र नैतिकताले 

पलपल आत्महत्या गरिरह्यो ।

तैपनि भन्नेहरू प्याच्च भनिदिन्छन्– 

बेइमान समय


सपना र चाहनालाई समयसँगै जोडेर

टाठाबाठाहरूले निरन्तर भ्रमको खेती गरिरहे

भुइँमान्छेको भागमा भ्रम मात्र प¥यो

झुटको खेती गर्नेहरूको झुट 

निरन्तर मौलाइरह्यो

तैपनि समयलाई सराप्दै

उनीहरूले नै भनिरहे– बेइमान समय

समयलाई  जति नै सरापे पनि

समयभन्दा बलवान् कोही छैन भन्दै

समयले यही बेला आफ्नो गति, प्रगति र 

बल देखाइरहेछ । 

तरहरा, सुनसरी