• १६ भदौ २०८१, आइतबार

सरकारको एक वर्ष

कूटनीतिक सम्बन्ध विस्तारमा सफलता

blog

काठमाडौँ, पुस १३ गते । सन् १८१६ मा पहिलो पटक बेलायतसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको नेपालको अहिले विश्वका १८१ मुलुक र २७ मुलुक आबद्ध युरोपेली सङ्घसँग कूटनीतिक सम्बन्ध विस्तार भएको छ । त्यस्तो सम्बन्धलाई प्रतिफलमूलक बनाउन वर्तमान सरकार गठन भएको एक वर्षमा धेरै काम भएको छ । 

परराष्ट्रविद् दिनेश भट्टराईका अनुसार सुन्न र भन्नलायक केही कूटनीतिक गतिविधि यस वर्ष भए । छिमेकी देशमा भएका उच्चस्तरीय भ्रमण, संयुक्त राष्ट्रसङ्घका महासचिवको नेपाल भ्रमण, महासभा र कोप–२८ सम्मेलनमा नेपालको सम्बोधन प्रस्ट देखिएका विषय हुन् । 

उहाँले भन्नुभयो, “भारतजस्तो शक्तिसँग मौन रहेको सम्बन्धमा यस वर्ष ‘ब्रेक थ्रु’ नै भयो । अर्को छिमेकी चीनलाई पनि कम नसोची यसै वर्ष महत्व दिएको देखियो ।” परराष्ट्र मन्त्रालयका अनुसार एक वर्षमा थप चार मुलुक (मलावी, नाउरु, क्यामरुन र मार्सल आइल्यान्ड) सँग कूटनीतिक सम्बन्ध स्थापना भएको छ । 

विश्व शान्तिका लागि बहुपक्षीय मञ्चहरूमा प्रभावकारी भूमिका खेल्न सरकार सफल बनेको परराष्ट्रविद् भट्टराईले औँल्याउनुभयो । त्यस्तै निःशस्त्रीकरण, मानव अधिकारको प्रवर्धन र संरक्षण, दिगो विकास लक्ष्य, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, महामारी, आतङ्कवाद र साइबर अपराध नियन्त्रण, सुरक्षित आप्रवासनका साथै भूपरिवेष्टित देशको अधिकारका लागि नेपालले आवाज उठायो । विश्व शान्ति र सहकार्यलाई बढावा दिएर सहकार्य गर्ने पहलमा सफलता मिलेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधनमा स्पष्ट पार्नुभएको छ ।

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दा प्रधानमन्त्रीले देशको पक्षधरताका विषयका साथै वैश्विक रूपमा ज्वलन्त मुद्दामा स्पष्ट धारणा प्रस्तुत गरेर रोकिएको नेपालको अन्तर्राष्ट्रिय धारलाई बढावा दिनुभयो । संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा नेपालले विश्वव्यापी एकताको पुनर्निर्माण र विश्वासको पुनर्निर्माणको विकल्प नभएको औँल्याएको छ । विश्वमा विश्वासको सङ्कट आइपरेका बेला आपसी एकताको महत्व दर्शाउनुले पनि अन्तर्राष्ट्रिय मुद्दामा नेपालको चासो बलियो रहेको देखाउँछ । 

प्रधानमन्त्री प्रचण्डका अनुसार यो एक वर्षमा शान्ति, समृद्धि र प्रगतिका साझा लक्ष्यमा ध्यान केन्द्रित गर्न विश्व नेतृत्वको कानमा पु¥याउन सरकारले भरपूर प्रयत्न गरेको छ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले कार्यकारी भूमिकामा रहँदै सरकारले द्विपक्षीय सम्बन्धका साथै बहुपक्षीयताको आयामलाई फराकिलो पार्न अग्रसरता देखाउनुभएको छ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिलगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा समेत आर्थिक कूटनीतिको परिचालन गर्दै देशको सामाजिक, आर्थिक रूपान्तरणमा योगदान पु¥याउन सरकार सक्रिय रहेको उद्घोष गर्नुभएको छ । जसले विकास सहयोग र लगानी, निर्यात र पर्यटन प्रवर्धनलाई विस्तार गर्ने योजनमा यो वर्ष सरकारले बलियो पहल गरेको छ । 

सरकारले यो वर्ष प्रत्यक्ष कूटनीतिक पहलका रूपमा ‘ट्र्याक वान’ र सफ्ट पावरका रूपमा जनसम्बन्धको विविध आयामलाई भरपूर प्रयोग गरेको छ । जस अनुसार सङ्घीय संरचनाका तीनै आधार स्थानीय तह, प्रदेश र सङ्घमार्फत अन्तर्राष्ट्रिय सम्बन्धलाई मलजल गर्ने प्रव्रिmया थालनी गरेको छ । 

हरेक प्रदेशमा कम्तीमा एक जना अधिकृत परराष्ट्र मामिला हेर्ने स्रोतव्यक्तिका रूपमा राख्न थालिनु त्यसको एउटा उदाहरण हो । स्थानीय तह आफँैले विभिन्न मुलुकसँग भगिनी सम्बन्धको विस्तार गर्दै आफ्नो स्रोतको वृद्धि गर्ने अवसरको समुचित प्रयोगमा सरकारले ध्यान दिएको छ । रिक्त रहेका अधिकांश देशका दूतावासमा पदपूर्तिका साथै राहदानी वितरणको सेवालाई प्रभावकारी बनाउने दिशामा पनि सरकारको ध्यान रह्यो ।

उच्चस्तरीय भ्रमणको सिलसिला

कोभिड महामारीका कारण लगभग स्थगित अवस्थामा रहेको उच्चस्तरीय भ्रमणको आदानप्रदानलाई नयाँ सरकारले उच्च प्राथमिकता दियो । जसको फलस्वरूप चर्चित भ्रमणमध्येको एक संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिया गुटेर्रेसको भ्रमण यस वर्ष भयो । यो नेपालको अन्तर्राष्ट्रिय भ्रमणको इतिहासमै पनि महत्वपूर्ण भम्रण हो ।  

यसै वर्ष अमेरिकी सरकारको अनुदान सहयोगमा आधारित एमसिसी सम्झौता कार्यान्वयनमा जान सफल भयो । सोही अवसरमा यसै वर्ष एमसिसीका प्रमुख एलिस अलब्राइटको नेपाल भ्रमण भयो । त्यसै गरी अमेरिकाबाटै सहायक उपविदेशमन्त्री डोनाल्ड लुको भ्रमण तथा अमेरिकी जनताका तर्फबाट सहयोग (युएसएआइडी) का प्रशासक सामन्था पावरको भ्रमण पनि नेपालका लागि उपलब्धिमूलक बन्यो । त्यस्तै अमेरिकाबाटै सहायक उपविदेशमन्त्री डोनाल्ड लुको भ्रमण पनि यसै वर्ष भयो ।

अब्बल रह्यो अन्तर्राष्ट्रिय सम्बन्ध

विभिन्न राजनीतिक दलसँगको गठबन्धनमा सरकारको नेतृत्व गर्नु आफैँमा ठूलो चुनौती हो । प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री साउद दुई जना फरक विचारधारा र दलका प्रतिनिधि भए पनि अन्तर्राष्ट्रिय सम्बन्धका मामिलामा सबै दलको साझा मत रहेको प्रष्टोक्ति एक वर्षले दिएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का परराष्ट्र मामिला सल्लाहकार रूपक सापकोटाले गठबन्धनमा बनेको सरकारले अन्तर्राट्रिय कूटनीतिलाई सन्तुलनका साथ अगाडि बढाउन सक्दैन भन्ने आशङ्का थियो तर प्रचण्ड नेतृत्वको सरकारले यो आशङ्कालाई मेटिदिएको उहाँले औँल्याउनुभयो । उहाँका अनुसार विश्वमा शक्ति राष्ट्रहरूबिच वर्तमान समयमा चिसोपन बढेको छ । कतिपय मुलुक युद्धको मैदानमै उत्रिएका छन् । यस्तो अवस्थामा पनि सरकारले राष्ट्रिय हित प्रवर्धन गर्दै सन्तुलन कायम गरेर अन्तर्राष्ट्रिय सहकार्य बढोत्तरी गर्दै अगाडि बढाएको अन्तर्राष्ट्रिय सहकार्यको एक वर्ष महत्वपूर्र्ण रहेको सापकोटाले बताउनुभयो । 

युद्धग्रस्त क्षेत्रहरूमा हताहती भएका नेपालीको शव नेपाल ल्याउने, युद्धग्रस्त क्षेत्रमा २५४ नेपालीको उद्धार गर्ने काम प्रशंसनीय छ । विपिन जोशीको सकुशल रिहाइका लागि पनि कतार, इजरायलसँग निरन्तर कूटनीतिक पहल जारी राखेको छ । रुसको सेनामा भर्ना रोक्न गरिएको कूटनीतिक पत्राचार, भर्ना भएकालाई फिर्ता ल्याउने पहल र युक्रेनमा बन्दी रहेकालाई छुटाउने पहलमा सरकारको काम जारी रहेको छ ।