• १३ पुस २०८१, शनिबार

अमिलो यात्रा

blog

त्यो बेलासम्म हामी नेपाल जाने कुरामा ढुक्क थियौँ । मनमा कुरा खेलिरहेका थिए, “बोर्डिङ पास लिएपछि भित्र गइन्छ, जहाजमा बसिन्छ, केही समयपछि जहाज उड्छ अनि परिचारिकाहरूले दिएको खानेकुरा खान पाइन्छ’ तर हाम्रा पासपोर्ट र टिकट हेर्दै गरेका काउन्टरका कर्मचारीको अनुहार देखेपछि भने मेरा सोचाइका तरङ्गहरू परिवर्तन भए । मैले देखेँ– छोरा सुमनको उदाउँदो सूर्यको जस्तो तेजिलो अनुहार पनि बिस्तारै ग्रहण लागेको चन्द्रमा जस्तै धमिलो हुँदै गइरहेको थियो । 

करिब पाँच महिना अस्ट्रेलिया बसाइपछि नेपाल फर्किंदै थियौँ । मनभित्र आनन्द र विस्मातका दुई आँधीबेरीहरू मडारिन थालेका थिए । एउटा खुसी थियो नेपाल पुगेर सबैसँग भेटघाट गर्ने र अर्को चिन्ता थियो नातिनी आर्यालाई छोडेर जानुपर्ने । यद्यपि अस्ट्रेलियामा आर्या मात्रै होइन उनका बाबा, ममु, साथीभाइ र अरू आफन्तहरू पनि छन् तर पनि नेपाल फर्किने भनेपछि आँखा अगाडि आर्याको अनुहार मात्रै नाचिरहेको थियो ।  

यसोउसो गर्दागर्दै हिँड्ने दिन आयो । 

सन् २०२२ अक्टुबर २९, बिहान १०ः३० बजेको उडान थियो । एडिलेटदेखि क्वालालम्पुरसम्म मलेसियन एयरलाइन्स र क्वालालम्पुरदेखि काठमाडौँसम्म हिमालयन एयरलाइन्सको टिकट थियो । क्वालालम्पुरमा दुई घण्टा मात्रै ट्रान्जिट थियो र काठमाडौँमा उत्रिने समय थियो रातिको दस बजे ।     

हामी हिँड्ने दिन रुपसीले चाहेर पनि बिदा मिलाउन सकिनन् । नेपालमा जस्तो विदेशमा मन लागे काममा जाने, मन नलागे नजाने भन्ने हुँदो रहेनछ । बिदा लिनुपर्दा पहिले नै जानकारी गराउने र संस्था वा कार्यालयको काममा बाधा नपर्ने गरी मात्र बिदा लिन मिल्दो रहेछ । यो नियम त नेपालमा पनि छ तर यहाँको कुरा नगरौँ कि ! कुनै कर्मचारीलाई कार्यालयमा जान मन लागेन भने सजिलै घर बस्न पाइन्छ । अर्को दिन कार्यालय पुगेपछि मौका परे हाजिरै ठोक्न पनि सकिन्छ । तर हामीलाई एयरपोर्टसम्म छोड्न जाने इच्छा हुँदा हुँदै पनि रुपसीले बिदा पाइनन् । हिँड्ने दिन बिहानै उठेर अमिलो अनुहार बनाउँदै ‘शुभयात्रा’ भनिन् र आँखा रसिला बनाउँदै काममा गइन् । 

बिहान आठ बजेतिर सुमनले झिटीझाम्टा र हामीलाई गाडीमा राखेर घरबाट हिँडाए । आर्या हामीसँगै थिइन् । घरी घरी ‘बाबा बुबाआमासँग म पनि नेपाल जान्छु’ भनेर जिद्दी गर्दै थिइन् । अरू दिन भए उनका यस्ता गनगन रमाइँला हुन्थे तर उनीसँग बिदा हुने दिन भएर होला, छाती चिरिएला जस्तो भइरहेको थियो ।

एयरपोर्टमा गाडी पार्किङ गर्ने काम चाहिँ त्यति सहज लागेन । गाडी पार्किङ गर्ने तीन चार तलाको छुट्टै घर थियो तर पुरै भरिभराउ । हामी तीन तला माथि थियौँ । ‘तल झर्ने कसरी होला’ मनमा कुरा खेलिरहेका थिए त्यस्तैमा सुमनले गाडीबाट सामान झिके । नजिकै लिफ्ट रहेछ । त्यसैको माध्यमद्वारा तल झ¥यौँ र बोर्डिङपास लिने काउन्टरमा पुग्यौँ ।

विदेशका एयरपोर्टहरूमा बिदा गर्न जाने व्यक्ति पनि बोर्डिङ पास लिने ठाउँसम्म जान पाइने व्यवस्था हुँदो रहेछ । नेपालमा भने यस्तो व्यवस्था छैन । यात्रा गर्दा वृद्धवृद्धा वा असक्त यात्रुहरूलाई निकै समस्या हुन्छ । लगेज उठाएर स्व्रिmनमा राख्न कम दुःख हुँदैन । अर्को कुराभित्र गएपछि सामान बढी भएर फिर्ता गर्नुप¥यो भने अर्को आपत आइलाग्छ । नेपालको एयरपोर्टमा काम गर्ने उच्च पदस्थ पदाधिकारीहरू विदेश नगएका कमै होलान् । विदेशमा देखे जानेका राम्रा कुरा नेपालमा पनि लागु गर्नु नि !

ट्रलीमा सामान गुडाउँदै सुमनले हामीलाई बोर्डिङ पास लिने ठाउँसम्मै पु¥याए । काउन्टरमा यात्रुहरूको बाक्लै जमघट थियो । हामी लाममा उभियौँ । केही समयमा हाम्रो पालो आयो । काउन्टरमा पुगेपछि सुमनले टिकट, पासपोर्ट लगायतका कागजात पेस गरे । ट्रलीबाट लगेज निकालेर लाइनमा लगाए । 

सुमनले पेस गर्नुपर्ने आवश्यक कागजात पेस गरिसकेका थिए । हाम्रा लगेजभित्र जाने मार्गमा  थिए तर केही समय काउन्टर कर्मचारी र सुमनका बिचमा कुराकानी भएपछि हामीले बुझाएका कागजात तथा लगेज फिर्ता आए । आफूले दिएका कागजात समाउँदै र लगेजलाई ट्रलीमा राखेर निचोरेको कागती जस्तो अनुहार बनाउँदै सुमन लाइनबाट बाहिर निस्के । यो सबै घटना क्षणभरमै भएको थियो । छोराको बिग्रिँदो अनुहार देखेपछि ‘के भयो’ भनेर सोध्ने आँट पनि आएन । उनले पनि केही भनेनन् । इसाराले हामीलाई बोलाउँदै अघि बढे, हामीले उनलाई पछ्यायौँ ।   

अलि पर एउटा खुला काउन्टर थियो । सुमन सामान लिएर उतै गए । उक्त काउन्टर मलेसियन एयरलाइन्सको सर्भिस काउन्टर रहेछ । काउन्टरमा तीन चार जना कर्मचारी थिए । तीमध्ये एक जना युवा अग्रपङ्क्तिमा थिए । पछि थाहा भयो उनी मलेसियन एयर लाइन्सका स्टेसन प्रमुख रहेछन् । 

सुरुमा उनको अनुहार हँसिलो र उज्यालो थियो । सुमन र उनले केही समय कुराकानी गरे तर निकास निस्किए जस्तो लागेन । सुमनका कुरा सुनेपछि युवकको अघिसम्मको हँसिलो अनुहार पनि तेल सकिएको बत्ती जस्तो मधुरो हुँदै गयो । सुमन आत्तिएको र युवकको अनुहार अँध्यारो हुँदै गएको देखेपछि मेरो मन पनि धमिलिँदै गयो । ‘दाल मे कुछ काला है’ भन्ने हिन्दी उखानको सम्झना भयो तर समस्या के हो भन्ने कुरा मलाई थाहा भएन ।

युवकसँगको लामो वार्तापछि सुमन हामी भएका ठाउँमा आए, लामो सास फेरे र बिस्तारै भने, “हल्का गडबड भयो !”

“कस्तो गडबड ?” मैले सोेधेँ ।

उनले भने, “क्वालालम्पुर पुगेपछि हिमालयन एयरलाइन्सको जहाज चढ्नका लागि बाहिर निस्किनुपर्ने रहेछ । बाहिर निस्किनका लागि त्यहाँको भिसा चाहिँदो रहेछ । त्यो कुरा पहिले थाहा भएन । अब गरेर नहुँदो रहेछ । आज जान मिल्ने देखिएन ।”

हामी हेरेको हे¥यै भयौँ ।

सुमनले करिब एक घण्टा कता कता फोन गरे तर पनि समस्या समाधान भएन । अन्त्यमा पुनः अघिको स्टाफसँग कुरा गरे । उनले आजको टिकट भोलिलाई सारिदिन मदत गर्ने र भोलि क्वालालम्पुरदेखि काठमाडौँसम्म अर्कै टिकटको व्यवस्था गर्नुपर्ने सल्लाह दिए । हाम्रो नेपाल फर्किने योजनामा ब्रेक लाग्यो । निरास भयौँ । केही समयको अन्योलपछि सुमनले भने, “जाऊँ घर, जे गर्नुपर्छ घरै गएर गरौँला ।”

त्यो बेला मैले हिमालयन एयर लाइन्सको बारेमा सोचेँ । हामीलाई जस्तो समस्या अरू धेरैलाई भएको होला । एउटै एयर पोर्टमा एउटा टर्मिनलबाट अर्को टर्मिनलमा जानका लागि त्यस देशको भिसा चाहिने भएपछि कति समस्या पर्छ होला यात्रुलाई । यस्ता कुराहरू एयर लाइन्सले मिलाउनु पर्ने होइन र ? यस्तै कुराहरू खेलिरहे मनमा । मनमा कुरा खेलाए पनि समाधान हामीसँग थिएन । दुःख पाउनु थियो, पायौँ ।  

हामी घर पुगेर यसो बसेका मात्रै थियौँ, रुपसी आइन् । हामीलाई घरमै देखेर छक्क परिन् र भनिन्, “आविई !” नेपाल पुगिसके होलान् भनेका बाआमा घरमै बसेको देख्दा अचम्म लाग्नु स्वभाविकै थियो । हामीले भएको व्यहोरा सुनाएर उनको जिज्ञासा शान्त पा¥यौँ । 

घर आएपछि सुमन व्यस्त भए । भोलिको टिकट आजै काट्नु सहज थिएन । लामो समयसम्म ल्यापटप खोलेर बसिरहे । त्यो बेला उनलाई खाना खाने फुर्सद पनि भएन । एकातिर हिमालयन एयरलाइन्समा काटेको टिकटको पैसा फिर्ता आउने सम्भावना थिएन, अर्कोतिर नयाँ टिकट महँगो पथ्र्यो । धन्न बेलुकी पाँच बजेतिर टिकट भेटियो । टिकट डन भएपछि सुमनको अनुहार उज्यालो देखियो । त्यसपछि बाहिर निस्क्यौँ र घुम्दै अकल्यान्ड पार्कतिर गयौँ ।  

अर्को दिन उही क्तम दोहोरियो । हामी यथासमयमा घरबाट हिँड्यौँ तर हिजो जुन उत्साह थियो, त्यो आज थिएन । 

एयर पोर्ट पुग्दै गर्दा मीनाले खुसुक्क मेरा कानमा भनिन्, “आज त जान पाइएला कि ?” 

मैले सुस्तरी जवाफ दिएँ, “पाइएला !” 

अगुल्टाले हानेको कुकुरे बिजुली चम्किँदा डराउँछ भन्ने उखान हाम्रो यात्रामा पनि चरितार्थ भएको थियो ।  

हामी पुग्दा बोर्डिङ पास लिन उभिएका यात्रुको लामै लाइन थियो । लाममा पसेर आफ्नो पालो कुर्दै थियौँ, त्यस्तैमा मैले अलि पर उभिएका हिजोका युवा (स्टेसन प्रमुख) लाई देखेँ । उनले पनि हामीलाई देखे । हामीलाई देख्नासाथ उनी सरासर हाम्रा नजिक आए, ‘गुडमर्निङ’ भन्दै स्वागत गरे अनि हामीलाई त्यहाँबाट निकालेर सीधै बिजनेस क्लासको खाली काउन्टरमा लगे । हामीले लाम बस्नु परेन ।  

आज सबै कुरा ठिक भएर होला, करिब दस मिनेटमा बोर्डिङ पास हात परे । सबै काममा ती युवाले सघाए र बोर्डिङ पास हातमा परेपछि खुसी हुँदै बिदाइ गरे । उनको सहयोगी व्यवहार देखेर हामी अत्यन्तै खुसी भयौँ ।

“ल आज चाहिँ जान पाउनुहुने भयो ।” सुमनले पनि मुस्कान फाले ।

बोर्डिङ पास लिने काम सम्पन्न भएपछि हामीसँग पर्याप्त समय थियो । नेपाल जाने अरू यात्रु छन् कि भन्ने आशाले चारैतिर आँखा डुलायौँ । संयोग राम्रै परेछ, सुधा आचार्यका बुबा चितवन निवासी कृष्णप्रसाद सुवेदी र उहाँकी श्रीमती सावित्रा सुवेदी भेटिनुभयो । उहाँहरू र हाम्रो एउटै उडान रहेछ । सुधा आचार्य र प्रकाश आचार्य रुपसी र सुमनका साथी भएका हुनाले उहाँहरूसँग पूर्व चिनजान थियो । उहाँहरूसँग भेट भएपछि रमाइलो भयो ।  

कुराकानी गर्दागर्दै चेकअपको समय हुन थाल्यो । सुमनले भने, “अब जाँदै गर्दा हुन्छ ।” त्यसपछि हामी सुमन र आर्यासँग बिदा भएर भित्र छि¥यौँ । 

चेकिङमा धेरै समय लागेन । विदेशी एयर पोर्टहरूमा दिनहुँ धेरै यात्रु आवतजावत गर्ने हुँदा सबै कुरा सिस्टमै चलिरहेका हुन्छन् । सिस्टमलाई कसैले मिच्दैन र मिच्न पनि मिल्दैन । पाइप लाइनजस्तै हुन्छ सबै कुरा । एउटा लाइनबाट पसेपछि सरासर गन्तव्यमा पुगिन्छ । त्यस्तै भयो त्यहाँ पनि । सुमनसँग बिदा भएको छोटो समयमै हामी जहाजको सिटसम्म पुग्यौँ ।

जहाज ठुलो थियो । यसै पनि अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने जहाजहरू ठुलै हुन्छन् । यात्रुहरू आफूले हातमा लिएका सामान थन्काउन र आफ्नो सिट खोज्नमा व्यस्त थिए । सिट नजिक पुगेपछि मीनालाई बसालेँ र हाते झोला मिलाउन लागेँ । सुवेदी दम्पतिहरूको सिट हाम्रोभन्दा फरक ठाउँमा रहेछ । भित्र पसेपछि गुमनाम भयौँ । 

सबै काम सम्पन्न गरी जहाजको सिटमा बसेपछि बल्ल मन शान्त भयो । मीनाले मतिर हेर्दै केही भन्न खोज्दै थिइन् तर भन्न सकिरहेकी थिइनन् । मैले अनुमान लगाएँ, सायद उनी भन्दै थिइन्, ‘अब त जान पाइन्छ होला नि ?’

निर्धारित समयमै जहाज उड्यो । एडिलेटदेखि क्वाललम्पुरसम्मको यात्रा करिब सात घण्टाको थियो । यस बिचमा करिब आधा समय जहाज अष्ट्रेलियाकै आकाशमा उड्दो रहेछ । दिउँसोको समय भएको र झ्यालतिरको सिट परेको हुनाले बाहिरको दृश्य हेरियो अघाउँजी । 

चारैतिर हरियाली थियो । हरिया रुख र चौरका बिचमा घरहरू पनि देखिन्थे । बायाँतिर समुद्रको सुन्दर दृश्य देखिँदै थियो । समुद्रको निलो पानी धेरै परसम्म फैलिएको थियो । जहाजबाट ओल्लो किनार देखिन्थ्यो तर पल्लो किनारको अत्तोपत्तै थिएन । छोराहरूले गर्दा संसारका मुख्य मुख्य देश घुम्ने अवसर मिलिरहेको थियो । सुमनले नै बेलायतमा पढ्दै गरेको समयमा बेलायत बोलाएका थिए । डेड दुई महिना बेलायत घुम्ने अवसर मिलेको थियो । माइला छोरा किरणले अमेरिका घुमाएका थिए । फेरि सुमनले नै अस्ट्रेलिया घुम्ने अवसर जुटाए । मनमनै छोराहरू धन्यवाद खाइरहेका थिए । 

जहाजले निश्चित गति लिएपछि एयर होस्टेजहरूको आवतजावत सुरु भयो । जहाजमा दिएको खाना स्वादिलो लाग्यो । नेपाल जान पाइन्न कि भन्ने चिन्ता पनि हराइसकेको थियो । त्यसैले खाना खाएपछि मन शान्त भयो । मलेसियन एयर लाइन्सको सेवा राम्रो रहेछ । हामी अस्ट्रेलिया जाँदा सिङ्गापुर एयर लाइन्समा गएका थियौँ ।

दिउँसोको खाना खाँदाखाँदै बाहिरको सुन्दर दृश्य हराउँदै गयो । झ्यालबाट देखिएको दृश्य उराँठिलो भयो । हेर्दाहेर्दै हरिया रुख, बिरुवा र हरिया मैदानहरू पनि हराउँदै गए । तलतिरको जमिन सुख्खा, रुखो र मरुभूमि जस्तो देखिन थाल्यो । तल अपवादबाहेक कुनै रुखबिरुवा वा हरियाली थिएन । परपर देखिने समुद्रको दृश्य भने रमाइलो थियो । अस्टे«लियाको धेरै भूभाग मरुभूमि रहेछ । हामी त्यसै मरुभूमिमाथि हावामा बहेली खेल्दै थियौँ । 

केही समय मलाई भ्रम भयो । तल मरुभूमिका धेरै ठाउँमा पानीका पोखरी वा तलाउ भए जस्तो लाग्यो । ‘यति धेरै पानीका पोखरी छन् तर जमिन सुक्खा र उराठ छ किन होला ?’ यस्तै कुरा खेलिरहे मनमा । लामो समय मनमा कुरा खेलाएपछि समस्याको समाधान आफैँ निस्कियो । मैले पानीका पोखरी वा तलाउ ठानेको कुरा त भ्रम पो रहेछ । ती सबै आकासमा लागेका छिटफुट बादलका छाया रहेछन् । वास्तविक कुरा थाहा पाएपछि आफू भ्रममा परेको सम्झेर एक्लै हाँसेँ ।    

अस्ट्रेलियाको घना मरुभूमि पार भएपछि सुरु भयो समुद्रको संसार । केही समय समुद्रमाथि पौडी खेलेको अनुभूति भयो ।

जहाजले क्वालालम्पुर एयरपोर्टमा ल्यान्ड गर्दा बेलुकी भइसकेको थियो । जहाजबाट उत्रेर प्रतीक्षा कक्षमा गयौँ । त्यहाँ चारैतिरबाट आएका नेपालीहरूको जमघट थियो । यस्तैमा केही वर्ष पहिले नेपाल टेलिभिजनबाट प्रसारण भएको देवी सिरियलका एक जना हास्य कलाकार कृष्णप्रसाद ढुङ्गानासँग भेट भयो । रमाइला गफ गरेर समय बितायौँ ।  

क्वालालम्पुरबाट उड्दा राति भइसकेको थियो । त्यहाँ अर्को झन् ठुलो समस्या सिर्जना भयो । मसँग हाते सुटकेस थियो । जहाजको ढोकामा पुगेपछि उक्त सुटकेस लगेजमा हाल्ने कुरा गरे स्टाफहरूले । सुरुमा त मैले मानिनँ, पछि ठिकै छ भन्ने सोच आयो मनमा सुटकेस दिएँ तर त्यसमा मीनाका गहना भएको कुरा भुसुक्कै बिर्सिएँछु । लगेजभित्र पठाइसकेपछि सम्झना भयो । एक त सुटकेसमा सुनका गहना थिए, अर्को कुरा त्यसमा चाबी लगाएका थिएनौँ । फर्काउन निकै कोसिस ग¥यौँ तर सम्भव भएन । गहना चोरी हुने चिन्ताले पिरोल्यो । मीना मसँग रिसाइन् । रिस, आव्रmोस र चिन्तायुक्त उनको अनुहारले पोलिरह्यो । 

सोच्दै जाँदा मन खिन्न हुँदै गयो । मुख सुक्न थाल्यो । मीनाको अनुहारमा हेर्न पनि सकिनँ । जहाजको करिब पाँच घण्टाको यात्रा निकै कष्टकर भयो । खाना खान पनि मन लागेन । मीनाको रिस कत्ति कम भएको थिएन । अनुहार कालो निलो भएको थियो । उनको व्यवहारले मेरो मन पनि भतभती पोलिरहेको थियो । पोलेर के गर्नु, जे हुनु भइसकेको थियो । क्वालालम्पुरदेखि काठमाडौँसम्मको यात्रा निकै खल्लो भयो ।

राति साढे एघार बजेतिर जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा अवतरण ग¥यो । मन पोल्ने व्रmम झनझन बढ्न थाल्यो । जहाजबाट बाहिर निस्किएपछि सरासर अगाडि बढेँ । छिटोछिटो तल पुग्ने र लगेज लिएर हेर्ने विचार थियो तर बिचमा अर्को अवरोध सिर्जना भयो । एयरपोर्टमा कोरोना खोप कार्ड देखाउन पर्ने रहेछ, क्युआर कोर्ड वाला खोप कार्ड थियो त्यही लगेजमा । अब के गर्ने ? छिटोछिटो तल जाऊँ भनेको अगाडि बढ्नै दिएनन् त्यहाँका कर्मचारीले । एउटी महिला कर्मचारी थिइन्, उनले निकै कडाइ गरिन् । कडाइ गर्नु राम्रो कुरा थियो तर मेरो समस्या अर्कै थियो । उनले गरेको इमानदार डिउटी पनि मेरा लागि खल्लो भयो ।

सबै यात्रु अगाडि बढिसकेका थिए । हामी भने डेग चल्न पाएका थिएनौँ । त्यस्तैमा एउटा कुरा सम्झना भयो । मैले बोकेको ल्यापटप ब्यागमा पुरानो कार्ड भए जस्तो लाग्यो । खोलेर हेरेँ, भेटियो । मन आत्तिएको हुनाले पहिले होस नआएको रहेछ । त्यो देखाएपछि महिला कर्मचारीले भित्र पस्न दिइन् । सबै यात्रु गइसकेका हुनाले इमिग्रेसनमा लाइन लाग्नु पनि परेन । छिटो छिटो पासपोर्टमा छाप लगाएर तल लगेज लिने ठाउँमा पुग्यौँ ।

तल सबैका लगेज एकै ठाउँमा जम्मा पारिएको थियो । सायद मलेसियन एयर लाइन्सकै कर्मचारीले त्यसो गरेका हुन् कि ! दर्जनौँ लगेजका बिचमा मैले मेरो सानो लगेज खोजेँ । निलो रङको सानो लगेज मलाई कुरेर बसिरहेको थियो । बिरालाले मुसो झम्टे झैँ झम्टिए र कत्ति बेर नगरी खोलेँ । त्यो बेला मेरो ब्लड प्रेसर बढेर दुई सयमाथि पुगिसकेको थियो कि ! लगेजमा चाबी नभएको हुँदा खोल्न ढिला भएन । भित्र त्यो सामान कहाँनिर छ भन्ने कुरा मलाई यकिन थियो । झट्ट हेरेँ । सामान र मेरा आँखा जुधे । 

निकै खुसी भएँ । लामो सास लिएँ र सामानको पोको मीनालाई देखाएँ । चार पाँच घण्टापछि मीनाको अनुहारबाट लोडसेडिङ हट्यो । 

मीनाको अनुहारको चमकले मेरो अँध्यारो मन बिस्तारै उज्ज्यालो हुँदै गयो । एकैछिन आँखा बन्द गरेर लामो लामो सास लिँदै र फाल्दै गरेँ । मन शान्त हुँदै गयो । झुकेर मातृभूमिलाई नमन गरेँ । हामीले एडिलेटमा बुझाएका सुटकेसहरूले टुलुटुलु हामीलाई हेरिरहेका थिए । मायाले सुमसुमाउँदै सबैलाई एकै ठाउँमा जम्मा गरेँ अनि बिस्तारै बाहिर निस्क्यिौँ । 


गुल्मी,   

हाल : मेनिसोटा, अमेरिका