• २७ पुस २०८१, शनिबार

छिमेकीको प्रगतिबाट नेपालले लाभ लिनुपर्छ : सञ्चारमन्त्री शर्मा

blog

कार्यक्रममा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालगायत ।

काठमाडौं, पुस १० गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले छिमेकी राष्ट्रको प्रगतिबाट नेपालले लाभ लिनसक्नुपर्ने बताउनुभएको छ। 

बेल्ट एण्ड रोड इनिसियटिभको १० औँ वार्षिकोत्सव तथा नेपाल–चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ६८ औँ वार्षिकोत्सवको अवसर पारेर नेपालस्थित चिनियाँ राजदूतावासको समन्वयनमा साउथ एसिया नेटवर्क टेलिभिजन मिडिया ग्रुपले आयोजना गरेको दोस्रो चाइना–नेपाल मिडिया शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुँदै मन्त्री शर्माले त्यस्तो बनाउनुभएको हो। 

छिमेकीले गरिरहेको आर्थिक प्रगतिबाट नेपाल खुसी रहेको औँल्याउँदै उहाँले छिमेकीको विकासबाट नेपालले लाभ लिइरहेको र यसलाई गुणात्मकरुपमा बढाउनुपर्ने बताउनुभयो। ‘‘चिनियाँ सहयोगमा नेपालमा महत्त्वपूर्ण आयोजना अघि बढ्ने हाम्रो अपेक्षा रहेको छ। नेपाल–चीन सीमापार रेलमार्ग, केरुङदेखि काठमाडौँ–लुम्बिनी रेलमार्गजस्ता आयोजना अघि बढ्न सकेको खण्डमा यसबाट नेपालको समृद्धिमा नयाँ आयाम थपिने छ’’, मन्त्री शर्माले भन्नुभयो, ‘‘छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सञ्चालन गर्ने विभिन्न परियोजनाहरूमा नेपाल राष्ट्रहित अनुकूल हुने गरी सामेल हुँदै आएको छ ।’’

चीनले यस्तै महत्त्वपूर्ण परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) सुरु गरेको दश वर्ष पूरा भएको अवसरमा बधाई दिँदै उहाँले यो अवधिमा १५० देश र ३० वटा अन्तर्राष्ट्रिय संस्थाको आर्थिक सहायता प्लेटफर्मको रूपमा यो परियोजना स्थापित हुनु महत्त्वपूर्ण प्रगति भएको र यसबाट नेपालले पनि यथोचित लाभ लिन अझै मेहनत गर्नुपर्ने काम बाँकी नै रहेको बताउनुभयो। 

संसारमै सबैभन्दा धेरै जनसङ्ख्या भएको चीनमा ठुलो सङ्ख्यामा बौद्धमार्गी रहेकाले तीमध्ये बर्सेनि केही प्रतिशत मात्रै गौतम बुद्धको जन्मस्थल नेपाल आउने वातावरण बनाउन सकियो भने नेपालको पर्यटन प्रवर्धनमा कायापलट हुने हाम्रो विश्वास उहाँले विश्वास व्यक्त गर्नुभयो। 

नेपाल र चीनबिच खासगरी नुन, उन र सुनको व्यापार विनिमयबाट दुई देशको सभ्यता र सम्बन्धको सुरुवात भएको उल्लेख गर्दै उनले आजका दिनमा दुवै देशबिचको व्यापार दर बढाउनुपर्ने र नेपालले वर्षौँदेखि ब्यहोर्दै आएको व्यापार घाटा कम गर्न चीनसँगको व्यापार सहयोगी बन्ने नेपालको अपेक्षा रहेको पनि स्पष्ट गर्नुभयो। 

‘‘नेपालबाट चीनमा गलैँचा, पास्ता, फेल्ट, फर्निचर, हातेकागज, जडीबुटी, तरकारीलगायतका वस्तु निर्यात हुँदै आएको भए पनि आयातको अनुपातमा निर्यातको मात्र निकै न्यून छ’’,  मन्त्री शर्माले भन्नुभयो, ‘‘ यसमा हामीले वस्तु उत्पादनमा वृद्धितिर ध्यान दिनुपर्ने अवस्था त छँदैछ, त्यसमा थप नेपाल र चीनबिचका थप नाकाहरू खुला गर्ने, भन्सार विन्दु सहज बनाउने र भन्सार छूट दिने लगायतका क्षेत्रमा नेपालको गहिरो चासो रहँदै आएको छ ।’’

उहाँले यो सम्मेलनले नेपाल र चीनको आपसी सम्बन्धलाई थप बलियो बनाउन तथा दुवै देशका मिडिया र पत्रकारबिचको सम्बन्ध थप सुमधुर बनाउँदै आपसी अनुभव र सहयोग आदानप्रदानका लागि महत्त्वपूर्ण योगदान गर्ने अपेक्षा व्यक्त गर्दै पत्रकारिताका विश्वव्यापी प्रवृत्तिको समीक्षा र विश्लेषण गरी त्यसबाट सिकेर आफ्नो देशको सापेक्षतामा अगाडि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। 

नेपालको सन्दर्भमा चर्चा गर्दा राजनीतिकर्मी र मिडियाकर्मी सँगसँगै उभिएर राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सफल बनाउँदै पूर्ण प्रेस स्वतन्त्रतासहितको संविधान जारी गर्न सफल भएको स्मरण गराउँदै मन्त्री शर्माले राजनीतिक आन्दोलनहरूले व्यवस्था परिवर्तन गरे पनि परिवर्तित व्यवस्थाअनुकूल जनताको अवस्था परिवर्तन हुन नसकेको राजनीतिक र मिडिया दुवै क्षेत्रको साझा बुझाइ रहेकाले अब राजनीति र पत्रकारिता दुबैको मिसन जनताको अवस्थामा गुणात्मक परिवर्तन ल्याउनु रहेको स्पष्ट गर्नुभयो।