• १३ असोज २०८१, आइतबार

'आनन्दमणि टुल्की नन्दकला साहित्य सम्मान' प्रा.डा. भण्डारीलाई

blog

साहित्यकार प्रा.डा. जगदीश चन्द्र भण्डारी ।

अर्जुन काफ्ले

स्याङ्जा, पुस १० गते । ६१ वर्षीय प्रगतिवादी साहित्यकार प्रा.डा. जगदीश चन्द्र भण्डारी ‘आनन्दमणि टुल्की नन्दकला साहित्य सम्मान’ २०७९ द्वारा पुरस्कृत हुनुहुने भएको छ । 

पुरस्कारको आनन्दमणि टुल्की नन्दकला प्रतिष्ठानका संरक्षक पूर्व मन्त्री त्रिलोचन ढकालले २०७० सालमा स्थापना गर्नुभएको हो । 

२०१९ जेठ २४ गते मालुङ्गा, धाङलिङ स्याङ्जामा जन्मिनुभएका भण्डारी हाल कामपा-३२, कोटेश्वर,जडीबुटी, काठमाडौँमा हुनुहुन्छ । प्राडा भण्डारीलाई पुरस्कार छनौट समितिको सिफारिसमा निर्णय गरिएको हो । 

वर्तमान जन्मन खोजिरहेछ (कविता सङ्ग्रह २०३९), मेरा आँखामा तानाका कथा र जमर्काहरू (समालोचना २०४०), अँध्यारोमा चल्बलाएका शब्दहरू (निबन्ध २०४७), मुक्तिक्षेत्रको यात्रामा (कविता २०४८), रेखाङ्कन र विश्लेषण (सिद्धान्त र समालोचना २०५५), आँखाका यी नानी (बालकविता २०५९), पृथक् निरूपण (सिद्धान्त र समालोचना २०६५), सौन्दर्यको भूमिका (सिद्धान्त र समालोचना  २०६६), सौन्दर्यको अन्वीक्षण (सौन्दर्य चिन्तन र समालोचना २०७५), साहित्य र यथार्थ (अनुवाद, २०५१) कृति भण्डारीका प्रकाशित कृति हुन् । 

भण्डारीले प्रतिनिधि नेपाली समालोचना (सह-सम्पादन २०६८), मार्क्सवादी साहित्य र जनयुद्धको सौन्दर्य (सह-सम्पादन २०६७), कम्युनिस्ट, युगधारा, दृष्टिकोण, प्रवर्तक प्रभृति पत्रिकाको सम्पादन गर्नुभएको छ । भण्डारीले कृष्णमणि साहित्य पुरस्कार (२०५५), पारिजात सृजन पुरस्कार (२०६३) प्राप्त गर्नुभएको छ । 

नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनको अध्यक्ष, इच्छुक सांस्कृतिक प्रतिष्ठान लगायत विभिन्न सङ्घसंस्थाको कार्यसमिति सदस्य भएर महत्त्वपूर्ण भूमिका निभाइरहनुभएको छ । २०७१ सालमा कवि देवेन्द्र लम्साल, २०७२ सालमा व्यङ्ग्यकार गायत्री लम्साल, २०७४ सालमा विद्वान साहित्यकार डा रमेश शुभेच्छुक, २०७६ सालमा प्रख्यात समालोचक डा गोविन्दप्रसाद शर्मा (सुकुम) र २०७८ सालमा कवि मुकुन्द शर्मा यो पुरस्कार तथा सम्मानले सम्मानित हुनुभएको छ ।