काठमाडौं, पुस १० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नु सम्पूर्ण नेपालीहरूको साझा दायित्व भएको बताउनुभएको छ । मङ्गलबार बिहान २० औँ राष्ट्रिय ज्यापू दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताउनुभएको हो ।
प्रधानमन्त्रीले विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक समूहहरूको परम्परागत मौलिक सांस्कृतिक पहिचान नै नेपालीको पहिचान र गौरव भएको बताउँदै सांस्कृतिक परम्परालाई जगेर्ना गर्नु सबैको साझा जिम्मेवारी भएको बताउनुभएको छ ।
प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
सर्वप्रथम २० औँ राष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका ज्यापु समुदाय लगायत समस्त नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । भिन्तुना ।
नेपाल विभिन्न जातजाति, भाषाभाषी, धर्म र सांस्कृतिक समूहहरूको साझा देश हो । भौगोलिक रूपमा सानो भएता पनि यहाँको जैविक विविधता, मनोरम प्राकृतिक सम्पदाहरू र सामाजिक बनोट विश्वमै नमुना रहिआएको छ । विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक समूहहरूको परम्परागत मौलिक सांस्कृतिक पहिचान नै नेपालीको पहिचान र गौरव हो। यो सांस्कृतिक परम्परालाई जगेर्ना गर्नु हामी सबैको साझा जिम्मेवारी हो ।
नेपालका चाडबाड, जात्रापर्व र सांस्कृतिक सम्पदा र गतिविधिहरू नेपालका अमूल्य निधि हुन् । नेपाल जातीय, भाषिक, धार्मिक सांस्कृतिक विविधताले सम्पन्न र हरेक समुदायले संस्कृतिलाई जीवनको अभिन्न अङ्गको रूपमा लिइआएका छन् । यस राष्ट्रिय ज्यापु दिवसको माध्यमबाट काठमाडौँ उपत्यकाभित्रका र बाहिर रहेका ज्यापुहरूबीच मात्र नभई विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसँग आबद्ध नागरिकहरूबिच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दछु ।
सांस्कृतिक सम्पदाको धनी नेपालमा धार्मिक र सांस्कृतिक रूपमा परम्परादेखि नै विभिन्न चाडपर्व, जात्रा एवम् संस्कारहरू चल्दै आएका छन् । यो नेपाली समाजको अभिन्न अङ्ग भइसकेको छ । तिनीहरूको ऐतिहासिक एवम् सांस्कृतिक सम्पदाहरूको संरक्षण गरी आफ्नो परम्परालाई जीवन्त राख्न र विकासको नयाँ अवधारणासँग अनुकूलित तुल्याउनु राष्ट्रको दायित्व हो। यसै कुरालाई मनन गरी नेपाल सरकारले भौतिक तथा अभौतिक संस्कृतिलाई संरक्षण र संम्बद्ध गर्न प्रतिबद्ध छ ।
काठमाडौँ महानगरपालिकाभित्रका ज्यापुहरूले विभिन्न वाधा अड्चनको बाबजुद पनि परम्परागत मौलिक संस्कृतिको जगेर्ना गरी आएको प्रयासलाई नेपाल सरकारले कदर गर्दै आइरहेको छ । सरकारको सानो सहयोगबाट सुरु भएको ज्यापु संस्कृति विकास कोषले नेपाली समुदायसमेतको सहयोग र सद्भाव लिई काठमाडौँ उपत्यकाभित्रका ज्यापुहरूलाई मात्र नभएर मोफसलमा बसोबास गरेका ज्यापुहरूसमेत समेटेर बिसौँ राष्ट्रिय ज्यापु दिवस मनाएकोमा तपाईँहरूलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा समेत नेपाल सरकारको तर्फबाट साथ र सहयोग रहने विश्वास दिलाउन चाहन्छु ।
तपाईँहरू सबैलाई अवगत नै छ–म पहिलोपटक प्रधानमन्त्री हुँदा नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा मनाउने निर्णय गरेको थिएँ । अहिले तेस्रो कार्यकालमा नेपाल संवत्लाई सरकारी लिखतमा अनिवार्य गर्ने निर्णय गरी उक्त निर्णयको कार्यान्वयनसमेत भइरहेको छ । यसका साथै नेपाली समाजको विशेषता र सामाजिक बनोटअनुसार सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको पहिचान र अधिकारका निम्ति मैले लगातार सङ्घर्ष गर्दै आइरहेको छु । आगामी दिनमा समेत मेरो र नेपाल सरकारको तर्फबाट यहाँहरूलाई साथ र सहयोग रहने विश्वास दिलाउन चाहन्छु ।
ज्यापु दिवसको अवसर पारेर तपाईहरूले मलाई गर्नुभएको सम्मानका निम्तिसमेत आयोजक संस्था, ज्यापु समुदाय लगायत सम्पूर्ण नेपालीहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । साथै, पहिचान र अधिकार प्राप्तिको सङ्घर्षमा संविधानप्रदत्त बाटोबाट अगाडि बढ्न सबैमा आग्रह गर्दछु ।
अन्त्यमा, राष्ट्रिय ज्यापु दिवस–२०८० ले नयाँ जोश, उमङ्ग, उत्साहसहित ज्यापु समुदायमा मात्र नभई समस्त जनसमुदायमा खुसीको सञ्चार गर्दै राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्ने शुभकामना व्यक्त गर्दै विदा हुन्छु । धन्यवाद ।