• १३ साउन २०८१, आइतबार

बेनीमा सञ्चालनमा आयो कोल्ड स्टोर

blog

कोल्ड स्टोरमा राखिएका सुन्तला देखाउँदै वडाध्यक्ष अणबहादुर खड्का । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, पुस १० गते । 
म्याग्दीको बेनी नगरपालिका ४ मा निर्माण भएको कोल्ड स्टोर सञ्चालनमा आएको छ । किसानले उत्पादन गरेका फलफूल तथा तरकारी भण्डारण गरेर बेमौसमी रूपमा बिक्री गर्न सहज होस भनेर नगरपालिकाले कोल्ड स्टोर निर्माण गरेको हो । गाउँमा कोल्ड स्टोर निर्माण भएपछि कृषि उपज सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता हट्ने भन्दै किसानहरू खुसी भएका छन् ।

कोल्ड स्टोर सञ्चालनमा ल्याएका छौँ वडा नम्बर ४ का वडाध्यक्ष अणबहादुर खड्काले भन्नुभयो, ‘‘अहिलेलाई परीक्षणका रूपमा सुन्तला भण्डारण गर्न थालिएको छ । परीक्षण सफल भएपछि यस क्षेत्रमा किसानले उत्पादन गरेका फलफूल र तरकारी भण्डारण गर्दछौँ ।’’ हाल कोल्ड स्टोरको रेखदेख गर्न एकजना कर्मचारी राखिएको छ ।

सिङ्गा क्षेत्र फलफूल र तरकारीमा पकेट क्षेत्र भएकाले कोल्ड स्टोर सञ्चालनमा आएपछि यहाँका किसानले सिजनमा उत्पादन गरेको कृषि उपजलाई भण्डारण गरेर बेमौसममा बिक्री गर्न सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

कोल्ड स्टोरको परीक्षण गर्न अहिले ९ सय केजी सुन्तला भण्डारण गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । परीक्षण सफल भएपछि कोल्ड स्टोरलाई पूर्ण रूपमा सञ्चालनमा ल्याइने उहाँको भनाइ छ । कोल्ड स्टोरमा राखेको तरकारी र फलफूल बिक्री गर्दा खर्च कटाएर प्रतिकेजी ३० देखि ४० रुपियाँसम्म किसानलाई फाइदा हुने उहाँले बताउनुभयो ।

३० हजार केजी सुन्तला तथा आलु भण्डारण गर्न मिल्ने कोल्ड स्टोरको क्षमता रहेको उहाँले बताउनुभयो । कोल्ड स्टोरमा विद्युत् आपूर्तिसहित अन्य संरचनाहरू समेत आधुनिक भएकाले परीक्षण सफल भएसँगै आगामी वर्ष क्षमता अनुसार नै सुन्तला भण्डारण गरिने अध्यक्ष खड्काको भनाइ छ ।

कोल्डस्टोर निर्माणका लागि सङ्घ, प्रदेश र नगरपालिकाको साझेदारीमा एक करोड ८३ लाख ४४ हजार लागत अनुमान गरिएकोमा राजेशबाबु निर्माण सेवा जाजरकोटले एक करोड ५१ लाख २० हजार सातसय ३८ रुपियाँमा निर्माण सम्पन्न गरेको भएको हो ।  यस पटक परीक्षणका रूपमा बास्कुना, भकिम्लीको मरेक, राखु र बरंजाको सुन्तला कोल्ड स्टोरमा राखिने छ ।

बेनी नगरपालिकाको–३ को भकिम्लिको राखु, मरेक लगायतको बस्तीबाट मात्रै वार्षिक डेढ करोडको सुन्तला बिक्री हुन्छ भने वडा नं ४ को बास्कुना, थामाडाँडाबाट करिब एक करोड र बरंजाबाट एक करोड रुपियाँ हाराहारीमा सुन्तला निर्यात हुन्छ ।