• १३ असोज २०८१, आइतबार

पोखरामा प्याराग्लाइडिङ उडान ठप्प

blog

फडिन्द्र अधिकारी

लेखनाथ, पुस १० गते । पोखराको आकाशमा १३ दिनदेखि प्याराग्लाइडिङ देखिएका छैनन् । पछिल्लो क्रममा दैनिक सरदर डेढ सय उडान हुने गरेका थिए । प्याराग्लाइडिङ व्यवसायीबिच विवाद हुँदा उडान ठप्प भएको हो । 

नेपाल हवाई खेलकुद संस्था (ना) पोखराले मङ्सिर २७ गते कम्पनीहरूले आफैँ उडाउन पाउने र दर पनि आफ्नै हिसाबले तोक्न पाउने निर्णय गरेको थियो । त्यसयता पाइलटहरुले प्याराग्लाइडिङ उडाएका छैनन् । कम्पनीहरूबिच असमझदारी भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत समझदारी नगरी उडान नगर्न पत्राचार गरेको छ ।

यसअघि एक द्वार प्रणालीबाट बुकिङ र उडान भइरहेकोमा २१ कम्पनीले त्यसलाई खुला गर्न निवेदन दिएका थिए । आधा जति कम्पनी खुला प्रणाली र आधा कम्पनी एकद्धार प्रणालीमा उडान गर्नुपर्ने पक्षमा हुँदा उडान रोकिएको हो । पोखरामा ५२ प्याराग्लाइडिङ कम्पनीले काम गरिरहेका छन् । ती कम्पनीमा एक अर्ब हाराहारी लगानी छ ।

प्यारा पाइलटहरूको संस्था नेपाल प्याराग्लाइडिङ पाइलट क्लबका अध्यक्ष दीपक थापाले कम्पनीहरूको निर्णयभन्दा पनि आफूहरूको मुख्य सरोकार पाइलटको सेवा, सुविधामा भएको दाबी गर्नुभयो । पोखरामा अहिले प्याराग्लाइडिङका लागि बाह्र हजार शुल्क तिर्नुपर्छ । त्यसमध्ये छ हजार पाइलटले पाउने गरेका छन् ।

खुला प्रणालीमा बुकिङ र उडान भएपछि आफूहरूको पारिश्रमिक घट्न सक्ने पाइलटहरूको चिन्ता छ । “हाम्रो पारिश्रमिक सुनिश्चित हुनुपर्यो । पाइरहेको भन्दा कम हुनुभएन,” थापा भन्नुहुन्छ । उहाँले प्याराग्लाइडिङ कम्पनीहरूको द्वन्द्वको मारमा आफूहरू परेको गुनासो गर्नुभयो । अहिले पोखरामा दुई सय ५८ प्यारा पाइलटले काम गरिरहेका छन् ।

नेपाल हवाई खेलकुद संस्था (ना) पोखराले व्यवसायीबिच निरन्तर संवाद भइरहेको जनाउँदै चाडै सहमति बन्ने जनाएको छ । समस्या सुल्झाउन बुधवार ना पोखराको टोली काठमाडौँ जाँदै छ । ना कास्की अध्यक्ष सुनिलबहादुर भट्टराईले नेपाल नागरिक उड्डयन प्राधिकरण र व्यवसायीबिच छलफल गरी समाधान खोजिने बताउनुभयो । 

एक प्याराग्लाइडिङ उडान शुल्कको बाह्र हजारमध्ये छ हजार कम्पनी र छ हजार पाइलटले पाउँदै आएका थिए । उडान भर्ने ग्राहक पाएको अवस्थामा दिनमा दुई पटकसम्म एक पाइलटले उडान भर्न सक्छन् । पाइलटले आफूले उडाउने ग्लाइडर आफैँ व्यवस्था गर्ने गरेका छन् । यसको शुल्क दश लाखसम्म पर्छ । प्यारा पाइलट बन्न दुईदेखि तीन वर्ष तालिम र अन्य लगानी गरी २५ लाखसम्म खर्च हुने जानकारहरू बताउँछन् । 

यता, प्याराग्लाइडिङ कम्पनीहरूले पाउने छ हजारबाट अप्रेसन खर्च, गाडी र आवश्यक सामान लेक साइडबाट सराङकोट पुर्‍य ाउनेसहितका खर्च व्यहोर्दै आएका छन् ।