• १३ असोज २०८१, आइतबार

सप्तकोसीमा पचपन्न सय मिटर लामो झोलुङ्गे पुल बन्ने

blog

सप्तकोसी नदीमा झोलुङ्गे पुल निमार्णको लागी प्राविधिकहरू डिपिआरको काम गर्दै । तस्बिर: बाबुराम कार्की

बाबुराम कार्की 

वराहक्षेत्र, पुस १० गते । नेपालकै ठुलो सप्तकोसी नदीमा झोलुङ्गे पुल बन्ने भएको छ । सुनसरीको वराहक्षेत्र वडा नम्बर ६ को ठाकुरवारिबाट श्रीलङ्का टप्पु जोडिने झोलुङ्गे पुलको निर्माण हुने भएको हो । 

सङ्घीय सरकारको ठुला झोलुङ्गे पुल निर्माण विभाग अन्तर्गत सप्तकोसीमा साढे पाँच किलोमिटरको झोलुङ्गे पुल बन्ने भएको वराहक्षेत्र नगरका आर्थिक विकास संयोजक तेजबहादुर गुरुङले जानकारी दिनुभयो । वराहक्षेत्र वडा नम्बर ६ को ठाकुरबारीबाट टापुका बस्तीसँग जोडिन कोशीमा झोलुङ्गे पुल निर्माण हुने भएको छ । आर्थिक विकास संयोजक गुरुङका अनुसार सप्तकोसी नदीमै पहिलो पटक यति लामो झोलुङ्गे पुल निर्माणको लागि डिपिआरको काम अन्तिम चरणमा पुगेको छ । 

सुनसरी क्षेत्र नम्बर ४ का सङ्घीय सांसद तथा पूर्व सम्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुल योजनामा पारेपछि श्रीलङ्का टप्पुलाई जोड्न साढे पाँच किलोमिटर लम्बाइको पुल निर्माण  हुने भएको हो ।

 झोलुङ्गे पुल सर्भेको लागि ऋषिकेश सर्बिस प्राइभेट लिमिटेड काठमाडौँले डिपिआरको ठेक्का पारेर काम अन्तिम चरणमा पुगेको सब इन्जिनियर रञ्जितकुमार यादवले जानकारी दिनुभयो । सब इन्जिनियर यादवको नेतृत्वमा सर्भेको काम अन्तिम चरणमा पुगेको छ । डिपिआरको डिजाइन भने तयार हुन बाँकी रहेको यादवले जानकारी दिनुभयो । डिजाइन सकिए लगत्तै कन्स्ट्रक्सनको ठेक्का लाग्ने बताइएको छ । नमुना झोलुङ्गे पुल नामकरण गरी गत आर्थिक वर्षमा पनि पुलको स्थलगत अध्ययन र निरीक्षण भएको थियो । 

टप्पु क्षेत्र उर्वर बलौटे, दोमट माटो भएकाले तरकारी र अन्न उत्पादनको लागि राम्रो मानिँदै आएको छ । पुल वनेपछि टप्पुबासीको दैनिक जीवनमा सहजता हुने छ । टप्पुबासीले उत्पादन गरेका कृषि उपजहरू बजार लान  सहज हुने वराहक्षेत्र वडा नम्बर ६ का वडा अध्यक्ष उद्धवप्रसाद पोख्रेलले बताउनुभयो । पुलको निमार्ण पछि आन्तरिक पर्यटकहरू घुम्न आउने हुँदा स्थानीयहरूको आयस्रोतमा समेत टेवा पुग्ने बताइएको छ  । 

सुनसरी जिल्ला सदरमुकाम इनरुवाबाट झन्डै ३५ किलोमिटर उत्तर पश्चिममा पर्ने टप्पुमा वर्षौँदेखि कृषि र पशुपालन गरेर टप्पुवासीहरू जीविका चलाउँदै आएका छन् । वराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६, ९ र बेलका नगरपालिकाको २ र ३ वाड टप्पु क्षेत्रमा पर्छ । 

चारैतिर नदी भएकाले  टप्पुवासीहरू यातायातको साधनका रूपमा ढुङ्गाको प्रयोग गर्दै आएका छन् । टप्पुलाई जोड्ने झोलुङ्गे पुलको निर्माण हुने भएपछि टप्पुबासीहरूमा खुसीयाली छाएको टप्पुका स्थानीय बद्री राईले बताउनुभयो । 

टप्पु १४ किलोमिटर लम्बाइ र ५ किलोमिटर चौडाइको क्षेत्रफलमा फैलिएको छ । श्रीलङ्का टप्पुमा ४५ सय घर धुरीका १० हजारभन्दा बढीको सङ्ख्यामा मानिसहरू बसोबास गर्दै आएका छन् ।