• ९ मंसिर २०८१, आइतबार

शिक्षण सिकाइमा सूचना प्रविधि

blog

शैक्षिक पाठ्यक्रम निर्माणदेखि त्यसको कार्यान्वयन र मूल्याङ्कनमा सूचना प्रविधिको महत्वपूर्ण भूमिका हुन्छ । शैक्षिक प्रतिष्ठानहरूमा जुनसुकै काम र क्रियाकलाप अगाडि बढाउन सूचना प्रविधिको प्रयोग अनिवार्य जस्तै भइसकेको छ । समयसापेक्ष यसको महत्व बढेकै कारण शिक्षा र सञ्चार प्रविधिबिच गहिरो सम्बन्ध स्थापित भएको हो । त्यसैले पनि सामुदायिक विद्यालयको कक्षाकोठामा प्रविधिको प्रयोगबाट परम्परागत पठनपाठनको सिद्धान्तलाई विस्थापित गरी नयाँ अवधारणाको सुरुवात गर्नु आवश्यक छ ।

युगसँगै सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रयोगमा अगाडि बढेका मुलुकको शैक्षिक, आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीयलगायत अन्य क्षेत्रमा भएको प्रगति उल्लेखनीय छ । सूचना र प्रविधिमा कम पहुँच हुने मुलुकको प्रगति न्यून छ । यही असमानतालाई ध्यान दिँदै नेपालले पनि शिक्षामा सूचना तथा सञ्चार प्रविधिको पहुँचको अभावले सिर्जना गरेको खाडललाई कम गर्दै लगिरहेको छ । रेडियो, टेलिभिजन, कम्प्युटर, प्रोजेक्टर, डिजिटल क्यामरा तथा इमेल, इन्टरनेट जस्ता सञ्चार प्रविधिका उपकरण शिक्षण सामग्रीका रूपमा परम्परागत सामग्रीभन्दा बढी सान्दर्भिक, उपयुक्त र प्रभावकारी हुँदै आएका छन् । 

सञ्चार प्रविधिको प्रयोगले चित्र, रङ र ध्वनिको सम्मिश्रण हुने हुनाले यसबाट प्रभावकारी शिक्षा प्रदान गर्न सहज भएको छ । इन्टरनेट सेवाले विश्वलाई एउटा सानो गाउँ र प्रत्येक विद्यार्थी तथा शिक्षकलाई एकापसमा जोड्ने सेतुको कार्य गर्छ । प्रविधिको माध्यमबाट विश्वको कुनै एउटा कुनामा बसेर अर्को कुनाको हालखबर तथा ज्ञानका कुरा सहजै हासिल गर्न मात्र सकिन्न, आफ्ना प्रतिक्रिया पनि तुरुन्तै दिन सकिन्छ । यसैले शैक्षिक संस्थामा केही आर्थिक बोझ भने अवश्य पर्न सक्छ । शिक्षकले पनि आफूलाई प्राविधिक रूपमा दक्ष बनाउनु पर्छ । जब हाम्रा शैक्षिक संस्था प्रविधिमैत्री हुन्छन्, तब विद्यार्थीले आवश्यकता अनुसार एकल अथवा समूहमा शैक्षिक क्रियाकलाप गर्न सक्छन् । यो उपाय शिक्षक केन्द्रितभन्दा प्रविधि केन्द्रित हुने छ, जसले विद्यार्थीलाई आफैँ सिक्न प्रेरित गर्छ र शिक्षकको परम्परागत भूमिकामा परिवर्तन ल्याउँछ । 

सूचना तथा सञ्चार प्रविधिको प्रयोगबाट शिक्षणलाई सहजीकरण गर्न तथा सिकाइलाई मनोरञ्जनात्मक, गुणस्तरीय तथा दिगो बनाउँदै समग्रमा शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन सहयोग पुग्छ । हामीसँग जुन स्तरको प्रविधिको पूर्वाधार, जनशक्ति र संस्थागत क्षमता छ, त्यसले हामीले राखेका सञ्चार प्रविधि साधनको प्रयोगसम्बन्धी महत्वाकाङ्क्षा पूरा हुन कठिन र चुनौतीपूर्ण छ । ग्रामीण र सहरी तथा निजी र सामुदायिक विद्यालयबिचको सिकाइ स्तरमा भएको असमानता न्यूनीकरण गरी समग्र शिक्षाकै गुणस्तर वृद्धि गर्न सहायक साधनका रूपमा प्रयोग गर्न खोजिएको यस प्रविधिका गुणस्तर पर्याप्त नभएको देखिन्छ । 

प्रविधिको प्रयोगले व्यक्ति तथा संस्थालाई अगाडि बढ्ने अवसर दिनुका साथै उसले आफ्नो क्षमता वृद्धि गर्न सक्छ । अहिले सूचना प्रविधिको आधारभूत ज्ञान नभएको व्यक्ति निरक्षरसरह मानिन्छ । सरकारले नीतिगत रूपमा तयारी गरेको त देखिन्छ तर प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन । सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेटमा सूचना प्रविधिमैत्री शिक्षामार्फत सार्वजनिक शिक्षाको गुणस्तर सुधार गर्न ग्रामीण दूरसञ्चार कोषको उपयोग गरी सबै सामुदायिक विद्यालयमा उच्च गतिको निःशुल्क इन्टरनेट सेवा पु¥याउने भनेको छ तर अपेक्षित सफलता भने प्राप्त हुन सकेन । त्यसैले उच्च चेतनायुक्त प्राविधिक दक्ष नागरिक तयार गर्ने उद्देश्यका साथ शिक्षा नीतिमा आमूल परिवर्तन गर्नु आवश्यक छ । लोकतान्त्रीकरण र आधुनिकीकरण गर्ने अभिभारा पूरा गर्न सूचना प्रविधिसहितको पाठ्यक्रम निर्माण गर्ने शिक्षानीति हुनु पर्छ ।

शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोगलाई बढाई समग्रमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न थुप्रै प्रयास गरिएका छन् । तथापि ती प्रयासबाट अपेक्षित नतिजा हासिल हुन सकेको छैन । त्यसैले प्रविधियुक्त पाठ्यक्रम निर्माणमा शिक्षक, विद्यार्थी र अभिभावकबिचको त्रिपक्षीय संयोजनकारी भूमिका आवश्यक छ । प्रविधिका साधनलाई कक्षाकोठाको शिक्षण सिकाइमा प्रयोग गर्ने सन्दर्भमा नमुना सामग्री विकास, सघन प्रकारको अनलाइन पद्धतिबाट शिक्षक तालिम, विभिन्न वेब कन्फ्रेन्स, वेबिनार सञ्चालन गरिनु पर्छ ।

शिक्षणमा प्रविधिका साधनको प्रयोग गर्न विद्यालयमा इच्छाशक्तिको अभाव छ । परम्परागत पद्धतिबाट शिक्षण गरिरहेका शिक्षक प्रविधिमा दक्ष हुन गाह्रो पर्छ । यस्तो जनशक्ति तयार गर्न विद्यालयलाई आवश्यकताका आधारमा सामग्री तथा अनुदान उपलब्ध गराउनु पर्छ । पूर्वाधार, उपकरणको गुणस्तर र त्यसको संरक्षण तथा मर्मत सम्भारका लागि प्राविधिक सहयोग उपलब्ध गराउने संयन्त्रको विकास गर्नुका साथै उपलब्ध गराइएका साधन र उपकरणको प्रयोग सम्बन्धमा अनुगमन गर्ने पद्धतिको पनि विकास गर्नु पर्छ ।

प्रविधिको सुरक्षित प्रयोग र त्यसबाट उच्चतम लाभ लिने अभ्यास विकास भइनसकेको अवस्था एकातिर छ भने अर्कातिर हाल कार्यरत शिक्षकको ठुलो सङ्ख्या प्रविधिका साधनसँग परिचित हुन सकेको छैन । प्रविधिले शिक्षणलाई सहयोग गर्छ भन्नेमा विश्वस्त पनि छैनन् । विद्यार्थीलाई मोबाइलको प्रयोग गर्न दिनु हुँदैन भन्ने विचारमा उनीहरू अडिग छन् । सरकारी प्रयासले शिक्षण सिकाइमा प्रविधिको प्रयोगलाई जोड दिएका छन् तर विद्यालय तहमा प्रविधिका साधन प्रयोगका लागि पूर्वाधार, जनशक्ति र इच्छाशक्तिको पनि अभाव छ । सँगसँगै इन्टरनेट र यससँग जोडिएका प्रविधिको गुणस्तर कमजोर र खर्चिलो पनि छ । आधुनिकीकरणको मूल मर्मलाई आत्मसात् गर्ने हो भने शिक्षा क्षेत्रमा सूचना प्रविधिलाई अनिवार्य आधार बनाउनु पर्छ । 

सूचना प्रविधिको प्रयोगले शिक्षक र विद्यार्थी दुवैका लागि शिक्षण सिकाइ क्रियाकलापमा हुने पहुँचलाई वृद्धि गर्न सकिन्छ । यसले सूचनाको ग्रहण क्षमताको स्तरमा पनि वृद्धि हुन्छ र सबै प्रकारका विद्यार्थीको सहभागिता बढ्छ । अफलाइन तथा अनलाइन दुवै माध्यमबाट तथा दूरशिक्षाको माध्यमबाट शिक्षा प्रदान गर्ने र शिक्षा लिने प्रक्रिया र क्रियाकलापलाई सहजीकरण गर्न सकिन्छ । मल्टी मिडियाको प्रयोगले कक्षाकोठा बढी आकर्षण र प्रभावकारी हुन्छ । विद्यालय सूचना प्रविधिमैत्री नहुनु, इन्टरनेट, रेडियो, टिभी, मल्टी मिडिया, कम्प्युटर आदिको प्रयोगबाट शिक्षण गर्न सकिन्छ भन्ने आत्मविश्वास नहुनु यसका प्रमुख अवरोधक मान्न सकिन्छ । युगसापेक्ष सूचना प्रविधिको उपयोग गरी शिक्षा प्राप्त गर्ने र गराउने वातावरण तयार गर्ने जिम्मेवारी शिक्षक, विद्यालय र राज्य सबैको पनि हो । 

Author

सन्दीपकुमार जैसवाल