गोरखापत्र अनलाइन
काठमाडौं, पुस ९ गते । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन शीर्ष नेताहरु सकारात्मक भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ बसेको प्रमुख दलको शीर्ष बैठकमा नेताहरु सो विषयमा सकारात्मक हुनुभएको हो ।
सरकारले पीडितकेन्द्रित कानून बनाउने कुरामा तयार भएकाले शीर्ष नेताहरुबीच टिआरसी विधेयक टुंग्याउनेतर्फ सकारात्मक देखिनुभएको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । उहाँका अनुसार नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) का नेताहरुको छलफलमा पीडितमैत्री कानून बनाउने हो भने तत्काल प्रक्रिया अघि बढ्ने नेताहरुले बताउनुभएको छ ।
उहाँले भिक्टिमले न्याय पाएको अनुभुति गर्नेगरी कानून बन्ने सहमति नेताहरुमा करिब सहमति जुटेको र आउँदो हिउँदे अधिवेशनमा टिआरसी विधेयक संसदमा प्रस्तुत हुने उहाँले बताउनुभयो । सरकार पीडितमैत्री कानून बनाउन सकारात्मक भएकाले आउँदो अधिवेशनमा विधेयक प्रस्तुत गर्ने सहमति करिव करिव जुटेको छ उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, ‘शान्ति प्रक्रियालाई टुंगोमा पुगाउन कसरी अघि बढ्न सकिन्छ भनेर विशेषगरी तीन दलका नेताहरुविच छलफल भयो । पीडितमैत्री कानून बनाउने हो भने तत्काल अघि बढौं, आउँदो हिउँदे अधिवेशनमा भिक्टिमले न्याय पाएको अनुभुति गर्नेगरी कानून बनाऔं भन्ने छलफल भएको छ ।’ बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीसहित कानुनमन्त्री, दलका प्रमुख सचेतकहरुको सहभागिता थियो ।