• २० असोज २०८१, आइतबार

जुङ्गे महादेवको मन्दिर पुनर्निर्माणमा ढिलाइ

blog

बागेश्वरी मन्दिर परिसरभित्र रहेको जुङ्गे महादेवको मन्दिर । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके, पुस ९ गते । नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरभित्र रहेको नेपालकै एकमात्र जुङ्गे महादेवको मूर्ति भएको मन्दिर पुनर्निर्माणमा ढिलाइ भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले मन्दिर पुनर्निर्माणका लागि दुई करोड रुपियाँ बजेट विनियोजन गरेपछि गत चैतमा टेण्डर आव्हान भइ काम सुरु भए पनि निर्माण कार्यमा ढिलाइ भएको छ ।

सुरुवाती चरणमा पानी सुकाएर केही काम भए पनि त्यसलगत्तै निर्माण कार्यअघि बढ्न सकेको छैन ।  तालमा घाट निर्माण भएको छ । जुङ्गे महादेवको प्रतिमा रहेको मन्दिर तालमाथि रहेको छ । मन्दिर पुनर्निर्माणका लागि तालको पानी सुकाइएको हो । मन्दिर र मूर्ति यथावत राखेर प्रवेश मार्ग र पूजा गर्ने क्षेत्र फराकिलो बनाउन लागिएको छ । 

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले एक वर्षभित्र निर्माण सम्पन्न हुनेगरी काम सुरु गरिएको जानकारी दिनुभयो । मन्दिरसम्म पुग्न बर्षौ पहिले बनाइएको प्रवेशमार्ग एकदमै जिर्ण भएपछि उपमहानगरपालिकाले नयाँ निर्माण गर्न लागेको हो । प्रमुख विष्टले भन्नुभयो, ‘नयाँ संरचना निर्माण भए पनि मन्दिरभित्रका घाट समेतका क्षेत्र फराकिलो हुनेछन्, घाटको काम करिब भइसकेको छ ।’

उपमहानगरपालिकाका इञ्जिनियर सुरज शर्माका अनुसार गत बर्ष निर्माणका लागि पानी सुकाउनेक्रममा निर्माण सामग्री फस्नेलगायतका कारणले निर्माणमा ढिलाइ भएको थियो । इञ्जिनियर शर्माले भन्नुभयो, ‘प्राविधिक कारणले विगतमा ढिलाइ भए पनि अहिले निर्माण कम्पनीले काम सुरु गरेको छ ।’ ग्रेटर नेपालले निर्माणको जिम्मा पाएको छ । 

प्रसिद्ध बागेश्वरी मन्दिर परिसरभित्र रहेको तालको बीचभागमा रहेको जुङ्गे महादेवको मूर्ति रहेको मन्दिर भक्तजनको रोजाइमा पर्नेगरेको छ । जिर्ण र साँघुरो प्रवेश मार्ग रहेका कारण शिवरात्रीलगायत विभिन्न चाडपर्वको समयमा भक्तजनको अधिक भिड हुने समयमा दुर्घटनाको जोखिम रहने गरेकोमा नयाँ निर्माण भएपछि भक्तजनलाई सहज हुनेभएको छ ।