• २४ वैशाख २०८२, बुधबार

खानेपानी आयोजना अलपत्र, ठेकेदार सम्पर्कविहीन

blog

कावासोती-१३ मा निर्माणाधीन अवस्थामा खानेपानी ट्याङ्की । तस्बिर : मिना कँडेल

मीना कंडेल

कावासोती, पुस ९ गते । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १३ मा रहेको बौनाह खानेपानी आयोजनाको काम अलपत्र परेको छ । ठेकेदार सम्पर्कविहीन भएको र तोकिएको समयमा कार्य सम्पन्न गर्न नसकेपछि आयोजना अलपत्र परेको हो । 

तीन वर्षमा २५ प्रतिशत मात्र निर्माण कार्य सम्पन्न गरेको काश्यप प्राकृतिक समीर जेभीका ठेकेदार माधव घिमिरे सम्पर्कमा नआएपछि खानेपानी आयोजनाको कार्यले गति लिन सकेको छैन । डिभिजन खानेपानी कार्यालय तनहुँमार्फत २०७७ असार २१ गते ठेक्का सम्झौता गरेर २०७९ असार २१ गते योजना सम्पन्न गर्ने गरी काश्यप प्राकृतिक समीर जेभीले ठेक्का लिएको थियो । 

कोभिडका कारण समयमै काम नसकाएपछि पहिलो पटक २०८० असार २१ गतेसम्म म्याद बढाइएको थियो । दोस्रो पटक २०८१ जेठ १ गतेसम्म सक्नेगरी नेपाल सरकारले निर्णय गरेको छ ।

तीन करोड ९२ लाख ६५ हजार ८ सय ७ रुपियाँमा ठेक्का लिएर तीन वर्षमा २५ प्रतिशत पनि काम सम्पन्न भएको छ । हालसम्म करिब एक करोड ९ लाख, ६७ हजार ५६१ बराबरको मात्र काम भएको गण्डकी प्रदेश सरकार अन्तर्गतको डिभिजन खानेपानी कार्यालय तनहुँका इन्जिनियर महेन्द्र आचार्यले बताउनुभयो । 

खानेपानी आयोजना अन्तर्गत भल्म च्याम्वर ७ वटा, तारवार गर्ने कार्य, ओभरर्हड टयाङकी ४५० घनमिटर, ३१ किलोमिटर पाइप खरिद, पाइपलाइन विस्तार, पम्पघर निर्माणलगायत महत्त्वपूर्ण काम बाँकी रहेको इन्जिनियर आचार्यले बताउनुभयो ।

कावासोती-१३ का ४५ सय घरधुरी यस खानेपानी आयोजनाबाट लाभान्वित हुने भएपनि दूषित पानी खान बाध्य रहेको वडाध्यक्ष लाल बहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “डेढ वर्ष भयो अहिलेसम्म सम्पर्कमा ठेकेदार सम्पर्कमा आउनु भएको छैन । खानेपानी आयोजनाको निर्माण कार्य समयमा नसक्दा यहाँका स्थानीय स्वस्थ खानेपानीबाट वञ्चित छन् । यहाँ चाँपागलको पानी खाएर बस्नु पर्ने बाध्यता छ ।”

स्थानीले पटक-पटक ठेकेदारलाई काम अगाडी बढाउन आग्रह गरेका थिए तर विभिन्न बहाना बनाएर काम नगर्दा आयोजना अलपत्र अवस्थामा पुगेको बौनाहा खानेपानी आयोजनाका अध्यक्ष उत्तम लामिछाने बताउनुहुन्छ । लामिछानेले भन्नुभयो, “आयोजना सुरु गरेको केही समयपछि कोरोना सङ्क्रमणको समय भएकोले काम ठप्प नै भयो, पछि आयोजनाको म्याद थप भयो कार्य सुरु पनि भयो तर आधा अधुरो काम गरेर ठेकेदार माधव घिमिरे सम्पर्कविहीन हुनुभएको छ ।” खानेपानीको अधिकारबाट वञ्चित भएपछि आफूहरू समस्यामा भएको उहाँको भनाइ छ ।

ठेकेदारले लापरबाही गरिदिँदा आयोजना अलपत्र परेको भन्दै समितिले ताकेता गर्दासमेत ठेकेदार सम्पर्कमा नआएपछि खोजिदिनका लागि निर्माण स्थलमै विभिन्न राजनीतिक दलका प्रतिनिधि, बौनाहा खानेपानी समितिका पदाधिकारी र स्थानीयले फोटो सहित सार्वजनिक सूचना निकालेर आग्रह गरेका छन् । ठेकेदारलाई ताकेता गर्दा पनि काम नगर्ने प्रवृत्तिले स्थानीय उपभोक्ता आजित बनेका छन् । ठेकेदार कम्पनीलाई कारबाही गर्न स्थानीय उपभोक्ताले माग गरेका छन् ।