• २० असोज २०८१, आइतबार

भोलिदेखि चासोक तङ्नाम

blog

चासोकबारे जानकारी गराइँदै ।

निशा राई 

धरान, पुस ९ गते । लिम्बु समुदायको मुख्य पर्व चासोक तङ्नाम भोलिदेखि सुरु हुँदैछ । सोमबार धरान १५ स्थित किराँत याक्थुम चुम्लुङहिममा पत्रकार सम्मेलन गरी किराँत याक्थुम चुम्लुङ धरान नगरले सो कुरा जानकारी गराएको हो ।

अध्यक्ष तीर्थ मादेम्बाले किराँत याक्थुङ चुम्लुङ हिम भवनमा पाँच दिने सांस्कृतिक कार्यक्रमसहित महोत्सव हुने जानकारी दिनुभयो । अन्न पाकेपछि सबैभन्दा पहिले युमा माङलाई चढाएर मात्र मान्छेले खान हुने आदिवासी लिम्बु याक्थुङवाहरुको मुन्धुममा समेत वर्णित भएअनुसार सृष्टिकालदेखि चासोत अर्थात् चासोक मनाउन प्रारम्भ भएको उहाँले बताउनुभयो ।

अन्न पाकेपछि चासोक घर–घरमा मनाइने प्रचलन परापूर्वकालदेखि चलेकोमा कियाचुको निर्णयपछि चासोकलाई सामूहिक रूपमा मनाउने प्रचलन पनि धरानबाट नै २०५० साल देखि सुरु भएको अध्यक्ष मादेम्बाले बताउनुभयो ।

यो साशको चासोक तङ्नामलाई कोशी प्रदेश नामाङ्कनको विरोधको रूपमा पनि लिएका किराँत याक्थुम चुम्लुङको महासचिव निरन्ती तुम्बापोले बताउनुभयो । चासोकलाई हरेक वर्ष हामीले हर्षोलासका साथ चासोक मनाउँदै आए पनि यस वर्ष  मन र मुटुभरि कोशी प्रदेश नामाङ्कनको खारेज गर्दै पुनः नामाङ्कन हुनुपर्ने आन्दोलनको रूपमा लिदैं चासोक मनाउने बताउनुभयो । 

सामूहिक रूपमा चासोक मनाउने प्रचलन लिम्बुवानमा मात्र नभई विदेशी भूमिमा पनि सुरु भएको दशकौँ भइसकेको जिल्ला अध्यक्ष मोहन हुक्पा चोङबाङले बताउनुभयो । लिम्बुहरू जहाँ–जहाँ पुगेका छन्, त्यहाँ पनि चासोक, च्याब्रङड, यालाङ (धान नाच) सहित पहिरन तथा गहनासहित पुगेको उहाँले बताउनुभयो । 

धरानमा हुने यो चासोक तङ्नाम पाँच दिन हुनेछ । पहिलो दिन लिम्बुवानवासीको एकराते चमेन तङसिङ (वैभव सुस्वास्थ्य र सद्भाव लागि अनुष्ठान) आयोजना हुने आयोजकले जनाएको छ । 

दोस्रो दिनको बिहान चासोक पूजा, विजयपुरस्थित हाड्युक्ना पूजा, तीनकुनेस्थित सिरीजंगा चौकमा रहेको त्येअङसी सिरीजंगाको सालिकमा माल्यार्पण र उद्घाटन हुने, तेस्रो दिन केलाङ, यालाङ, पालाम आयोजना हुने, चौथो दिन याक्थुङजन्य खेलहरू लि आप्मा (गुलेली हान्नु) पक्लुम लेप्मा (छेलो हान्नु), थाक्थाक्मा (तान बुन्नु) लगायत हाक्पारे साम्लो र परम्परागत पक्षको प्रदर्शन हुनेछ । पाँचौँ दिन आदिवासी सङ्घ संस्थाको सांस्कृतिक प्रदर्शनी र समापन हुन आयोजकले जनाएको छ ।