• १३ पुस २०८१, शनिबार

म आशा रोप्तै छु

blog

वात्सल्य प्रेम भनेको कुरा पनि अचम्मको हुँदोरहेछ । आल्हादित किसिमको । 

अनुभूतिका रङहरूमा आत्मसन्तुष्टिका प्रकम्पनहरू धेरै देखा परे । कतिसँग घुलियो । मिलियो । छचल्किइयो । उफ्रिइयो । पौडिइयो र त्यसैको अन्तरङ्गमा डुबेर उडिइयो, उग्राइयो पनि । 

कति समाउन खोज्दाखोज्दै पनि हिलेमाछो झैँ चिलित्त चिप्लिएर गए हातबाट । कति सनासाले चेपेर राखे झैँ रही पनि रहेका छन् स्मृतिको वासलातमा । कति बेनामी छन् । कति बहिरङ्ग छन् । 

तर यस किसिमको आल्हादित भने लागेनन् अरू ।

कति विस्मृतिको कोलाजमा लत्पतिन पुगे पनि अन्तरमनमा जिउँदो अभिलेख बनेर टाँसिइरहेका छन् । जीवनका निकै कष्टकर र विषादित क्षणहरूमा पिल्सिएर छट्पटिरहनु पर्दाको दारुण अवस्थामा पनि बालबच्चाहरूको सान्निध्यमा रहन पाए निकै होलो, खुकुलो महसुस गर्न सकिने न्यानो अनुभूतिको पहार तापेर बुड्यौलीलाई अझ तन्काउने कोसिसमा व्रिmयाशील हुँदै गइरहेको छु । 

दुईथान नाति छन् काखमा । फुर्सदको क्षणमा आउँछन् । बिनाद्वेष, बिनाक्लेष, बिनाअनुराग सुम्सुम्याउँछन् । चाट्छन् र आफ्ना बालसुलभ चञ्चलताले छपक्क छोपेर मनलाई समाउन थाल्छन् । 

जेठोभन्दा कान्छो अलि बेसी अन्तरमुखी छ । शिशु अवस्थादेखि नै निकै झ्याम्मिदै आएको छ मसँग । 

तोते बोली फुट्नासाथ आमा चाहिँको स्तन चुस्ताचुस्तै कतै पिलिक्क देख्ना साथ उदर भरण व्रिmयालाई हठात त्यागेर घम्लङ छोप्न आउँथ्यो र केही बोल्नुपूर्व नै निर्दोष थुतुनु मेरो जर्खरिएको ओठमा दराल्दै चपक्क म्वाइ खान थाल्दथ्यो । म्वाइँ खाँदा म्वाइँ मात्र नभएर आमाको स्तनबाट तानेको केही रहल, पहल पौष्टिक पदार्थ बाजेले पनि चाखोस् भनेर नै होला जिब्रोभरि लतपत दल्न थाल्थ्यो । त्यस्तो खल्लो तम्तम्यालो पौष्टिक पदार्थको स्वाद जिब्रोले लोटाउन थालेपछि दिङ, मिङ लागेर पेट हुँडलिँदै ब्रह्माण्ड फनफनी घुम्न थाल्थ्यो । सारा ऐठन निचोर्दै, थुक्थेँ, खकार्थें र घाँटी नचह¥याउन्जेलसम्म कुला गर्न पुग्थेँ । 

मुख त जेनतेन पखालिन्थ्यो । मासिकतामा पसेको विकारी कल्मष कहिल्यै कति गर्दा पनि धुन, पखाल्न सकिनँ । दुधै भए पनि बुहारीको हो । त्यो पचाउन सक्ने चेतना मेरो शरीरमा कतै पनि थिएन । उससँग गाँसिएका सान्निध्यका कुरा उठ्नासाथ त्यसको दंश जहिले पनि चेतनामा सल्बलाउन थाल्छ र सारा शरीरलाई निचर्न पुग्छ ।

नबुझेका हरेक पहेलीहरूप्रति टीका, टिप्प्णी गर्दै जिज्ञासा राख्ने गर्दछ । उसको उत्सुक जीवन शैली देख्ता यस्तो लाग्छ उसको मुखमा एक एकवटा प्रश्न झुन्डिरहेको छ र कुनै मानिस सामुन्ने देख्ता हत्तुहैरान नहोउन्जेल सोधिरहन्छ ।

उसको यस्तै खाले बाल सुलभ जिज्ञासा देख्ता म प्रायशः मुग्ध हुनपुग्छु र तिर्सनाका सबै खाले साल, नाल कतै बिसाएर त्यसैमा समाहित हुँदै जान्छु ।

यसैलाई परमतृप्तिको उपोद्यात सम्झेर त्यसैमा तिरोहित हुन पुग्छु । 

असारको उखर्माउलो गर्मीले खरमट्ट पार्दै लगेको छ परवेशलाई । विगत लामो समयदेखि पानी पर्न सकेको छैन । 

खोलाले खाएर, चपाएर उकलेको अलिकति बगरमा स्वामित्वको किला, ठुटा गाडी विगत केही समयदेखि ओठ, मुख, तालु सुकाएर पसिना पोखिरहेछु । कति जिउँदा सपनाहरू काखी च्यापेर रगत पोखिरहेछु । जहान पाल्ने अनुरागमा लट्पटिएर कति गाँस रोपिरहेछु । उमङ्गका, उल्लासका अतृप्त आकाङ्क्षाहरू पोकोपारेर दिन, रात नभनी यसैमा डुब्दै छु । यसैमा भिज्दैछु । 

बगर नामअनुसार नै बाङ्गिँदै, बटारिँदै अजीर्ण रोगी झैँ इन्तु न चिन्तु भएर उत्तानो परिरहेछ । माटाको गन्ध कतै छैन । छन् भने फगत रोडा, गिटी र पखालेको छुरा बालुवा मात्र छ र त्यसमाथि काकाकुल बनेर फिँजिएका केही थान फगटाहरू छन् । 

यही छुरा बालुवाबाट पनि केही वनस्पतिहरू कपना उमारेर तन्किन थालेको देखेपछि केही हुन्छ कि भन्ने आशाको काँचो धागोमा बेरिएर सिँगौरी खेल्न थाल्छु । केही हुनु त परै जाओस् उल्टै ऊ होक्काँ गरेर कुर्लन्छ । म निस्तेज पाहा एकछिन उफ्रन्छु । मडारिन्छु । नाडी सुर्कन्छु र उसले आफ्नो क्षमता प्रदर्शन गरेर धोबीपाट लगाएपछि उत्तानो टाङ लगाएर प्ल्यात्त पछारिन पुग्छु ।

मेरा दिनचर्याका केही रुमानी प्रहरहरू विगत केही वर्षदेखि यसैसँग नारिएर बित्दै आएका छन् । रक्तमुछेल नहोउन्जेल लाप्पा खेल्दै आउँदा हातलागी केही नभए पनि जिउँदा लालसा मनभरि आकाङ्क्षाका कपना उमारेर झ्याङिदै आएका हुनाले सुम्सुम्याउँछु, खन्छु, जोत्छु र आनामासीमा काढेर ल्याएको बिउ, बिजन छर्छु । 

भनिहालेँ नि, घाम एक तमासले संसारलाई नै एकै क्षणमा विदग्ध पार्छु भने झैँ गरी लागेको छ । चारैतिर चकमन्न सिवाय केही छैन । धानको ब्याड राखेको पनि निकै दिन बितिसकेको छ । खडेरीको अभिशापले खङ्ग्रङ्ग पार्दै लैजान थालेको भए पनि गाग्रीमा पानी ओसारेर यसो सेक, ताप गर्दै आएको हुनाले यो जीवित रहेको पुष्टि मुन्टा मरेर पँहेलिँदै जान थालेको बिरुवाको डाँक्लो भने हरियोले नै गरिरहे झैँ लाग्छ । 

सास छउन्जेल आश हुन्छ भनिन्छ । म पनि प्राणी समुदायकै परजीवी हुँ । हतोत्साही भएर जीवनदेखि तर्संदै भाग्ने कुरा पनि भएन । समाउने कुरो पनि थिएन । टन्टलापुर घामले अत्याउँदै लघार्न खोज झैँ गरे पनि कोदालो काँधमा हालेर बाटो लाग्छु । 

अरूको कयसमा रहेर पुच्छर हल्लाउँदै हिँड्न नसकेपछि भएको जागिर समेतलाई तिलाञ्जलि दिएर बाटो लाग्न पुगेको थिएँ । घरमा खासै काम पनि केही थिएन । बगर नै भए पनि आफ्नो मौलिक पुँजी र स्वामित्वको मूल खाँबो त्यही थियो । विश्वास र भरोसाको धरोहर पनि त्यही थियो । उमङ्गित आगतको सुनौलो संसार पनि त्यही थियो ।

त्यो फले, फुले र जाग्रत अवस्था रहन सके मेरा सपनाहरू पनि आशातित गतिमा फव्रmँदै जाने र ऊ ओइलाए, सुके आफ्ना अभीप्सासमेत भताभुङ्ग हुनपुग्ने यथार्थ मेरो निम्सरो काँधमाथि चढेर चचहै चचहै गरिरहेको थियो । 

खनी, खोस्री यसो बालुवा पखाल्न सके सम्भावनाका धेरै कपनाहरू उमार्न सक्ने थिएँ कि भनेर धामा गर्न पुगिरहेको थिएँ । 

कान्छो नाति छ । वर्ष आठेकको । शनिबारको दिन थियो । म कोदालो टिपेर बाटो लागेको देखेपछि कमिजको फेर समाउँदै पछिपछि लाग्छ । म उसलाई फकाइफुल्याई फर्काउन खोज्छु । दुधे बालकले आमालाई छोड्न नमाने जस्तै गरी एकोहोरो पछ्याइ रहन्छ । बाजे हुँ नि त मँ । पिण्डपानी दाता । वंशवृक्षको धरोहर ! जबर्जस्ती गर्न सक्तिनँ । टपक्क टिपेर कोदालो एउटा हातले झुन्ड्याउँदै उसलाई काँधमा हालेर हिँड्छु ।

म एकनासले आली लगाइरहेका बखत कहाँकाट हो कुन्नि एउटा सानो कोदालो लिएर ऊ पनि सँगै नारिएर आली लगाउन थाल्छ । 

शिरदेखि पाउसम्म चपाचुल्ल भएर पसिनामा परेड खेलिरहेछु । निकैबेरको सघन कसरतपछि ह्वास्स मुखभरि सास फुलेर आउँछ । हुलुत्त फ्याँक्ता पनि सर्के जस्तो हुन पुग्छ । घाँटी नमिठोसँग चिरिएर चसक्क दुःख्न थाल्छ । यसो निधारमा पाली गाँसेर आकाशतिर हेर्छु । बादलको छेक छनक र लसपसबाट अक्षत हुँदै हिँड्न खोजे झैँ गर्छ गगन । ओत लाग्ने ठाउँ कतै छैन । सियाँल नै नपाए पनि फुल्दै गएको श्वाश प्रश्वाशको अन्तरालाई थुम्थुम्याएर यसो दम मार्न एउटा निर्दोष आली छामेर थचक्क बस्छु । 

नाति एकनासले खनिरहेको हुन्छ । कहिले यस किसिमको काम गर्न अनभ्यस्त कलिलो चिचिलो । विचरा उसलाई पनि थकाइ लाग्या होला । घामले पोलेको होला । सकसले शरीर लखतरान पर्दै जान थालेको होला । बाजेको मन राख्न निरन्तर, निरन्तर हर बङ्ग्याएरै भए पनि खनिरहन्छ ।

कस्तो नकाम गर्न थालिएछ हँ ? 

धिक्कार होस् ! 

अन्तरआत्मा कता कता चिमोटिन्छ । 

ऐंठनको पिरो राप मनभरि लत्पतिएर हुँडलिन थाल्छ । मुख नभएर उकुच पल्टिन थालेको पिलो झैँ टन्किन पुगेको मनस्तापमा डुबेर छट्पटिन पुग्छु ।

यिनै डाँडा, पाखामा घिस्रिरहने हो भने कालान्तरमा साह्रै दुःख पाइने पो हो कि भन्ने लागेर नै हुँदाखाँदाको पुर्खाैंदेखि माडी, मैदान गर्दै आएको चरीचरन चटक्क छोडेर सन्तान सुख कटाउन सातडाँडा काटेर मधेस झरेको मान्छे म । 

बेलैमा होस् पु¥याएर बाठो हुन खोजेको ! कुठाउँमा पो परेछ ।

अतीतको दंश आँखाभरि मडारिन थालेपछि जिउ सिताङ्ग भएर आउँछ । 

उमेरदारी भएको भए सायद यति सोचिन्नथ्यो होला ! नाबालक बबुरो ! स्नेहाशिक्त मन परक्क बटारिन्छ । बाउँडिन्छ । गहभरि आँशु आउँछ । हेर्न धैर्यता जोरजाम पार्न खोज्छु । भेट्टाउँदिन । रुझेको दयार्द्र स्वरमा लट्पटिँदै गह्रौँ मन पारेर बोझिलो स्वरमा भन्छु– “बाबु आइज यतै ! बस एकछिन अनि खन्लास् ।”

पुलुक्क हेर्छ । खिसिक्क हाँस्छ । बाल सुलभ चञ्चलतामै बेरिएर भन्छ– “पख्नुस् न एकछिन् ।”

यो पख्नुस् न एकछिनको लघु वाक्यांशभित्र कता कता अपनत्व, कता कता आग्रह, कता कता करुणा, कता कता माया, कता कता पितृप्रेमको निश्छल भावाभिव्यक्ति गतिमान भएर फिँजिन खोजे झैँ लाग्छ । 

यस्तो निस्वार्थ श्रद्धा सितिमिति कहाँ पाउन सकिन्छ र आफन्तबाट ?

मनसुन हतपत्त आउँदैन । आए पनि एउटा न एउटा बिग्याइँ गरेर मात्र हिँड्छ । पोहोर पनि आएको थियो । चुरेको शिरमाथिबाट पुलुक्क हे¥यो । ङिच्च हाँस्यो । पिच्च थुक्यो र यता हेर्दै नहेरी पाखै पाखा घिस्रिएर बाटो लाग्यो । 

बुगुल्टो बालुवा लोटाएर म पनि किनारा लागेँ ।

एकछिनपछि चपाचुल्ल पसिनामा डुबेर नाति आउँछ । मेरो निधारमा हात थपक्क राखेर पसिना पुछिदिन्छ । हातले मात्र पुछ्न नसकिने लागेरै होला कमिजको फेर तानेर गाला पनि पुस्छ । सुम्सुम्याउँछ र नाकनेरै थुतुनु जोडुँला जस्तै गरी कोमल रसमा सलल्ल बगेर भन्छ– “बा ! यहाँ के रोप्ने ?”

उसको सासको तातो स्पर्श सञ्जीवनी जस्तै बनेर नसानसामा दौडन थाल्छ । एक किसिमका खुसी भनौँ आत्मसन्तुष्टि सञ्चार हुन थाल्छ मानसिकताभरि । 

के भनौँ म दोधारमा पर्छु । ढाँट्न मन छैन । साँचो कुरा ऊ बुझ्न सक्तैन । बुझ्ने उमेर पनि त भएको छैन । 

पोहोर साल अठ्ठाइस हजार रोपेर तेह्र किलो धान भिœयाएको कुरा मैले भनेँ भने पनि उसले बुझ्ने छैन । सत्र हजारको अभिशेष गरी मुसुरो उल्टाउँदै मकै छरेको कुरा मैले भनेँ भने पनि उसले बुझ्ने छैन र बत्तीस हजार पर्सेर रोपेको मकै फगत ढोड काटेर चित्त बुझाएको कुरा भनेँ भने पनि उसले बुझ्ने छैन । 

रोप्न त त्यहाँ के नै पो रोपिएन र !

आफ्नो विवेक र बुद्धिले भ्याएसम्मको सर्जाम सूचना सोहोरे रोपियो । तर प्राप्तिमा कलेँटी परेका ओठ र फुस्रो निस्तो अनुहार मात्रै शेष रह्यो । उसलाई विश्वस्त तुल्याउन सक्ने कुनै भरपर्दो ठोस वस्तु देखाउनै सकिनँ ।

यो कुरा मैले भनेँ भने पनि उसले बुझ्ने छैन ।

विषादको भकारी छ मनभित्र । त्यसैमाथि थपिँदै छन् अवषादका आला खतहरू । 

उसलाई बुझाउन सक्ने शब्द खोज्दै थिएँ अनायास मुखबाट फुत्किहाल्यो– “बाबु ! म आशा रोप्तै छु ।”

उसले यो कुरा पनि बुझ्ने छैन ।

प्रत्युत्तर सुनिसकेपछि मेरो मुखमा हेरेर टोलाउँछ । आफ्नो बाल जिज्ञासामा बेरिएर उत्सुकताका साथ फेरि सोध्छ– “बा ! के भनेको त्यो ?”

उसको मन राख्नैका लागि भने पनि अधमरो मुटु थिचेर भन्छु– “बाबु अरूथोक त यहाँ केही हुँदैन । हुन्छ भन्ने विश्वास न हो । तैँले देखिहालेको छस् । के हुन्छ भन्ने कुरा । त्यसैले म यहाँ आशा रोप्तै छु । फगत आशा ! फलेछ भने त्यही चपाउँला, खाउँला र मस्तसँग सुतौँला ।”

उसले यो कुरा कति बुझ्यो, कति बुझेन मैले केही थाहा पाइनँ । अनि ट्वाल्ल परेर एकसरो मेरो अँध्यारो मुखतिर पुलुक्क हेर्दै खुरुर्र कुदेर आयो र चपक्क गालामा म्वाइँ खायो ।

लाग्यो यो पनि आशाकै उत्कृष्ट उपादान हो । कति मिठो ! जीवनलाई नै सानन्द प्रदान गर्ने खालको । आत्मसन्तुष्टिले सारा शरीर नै झङ्कृत हुन थालेपछि सोचेँ आसै रोपे पनि निरर्थक र निष्प्रयोजन चाहिँ रोपेको होइन रहेछ ।