ठाकुरप्रसाद आचार्य
म्याग्दी, मङ्सिर ३० गते । गायक प्रकाश दूतराजलाई ‘उत्कृष्ट युवा पुरस्कार’ प्रदान गरिएको छ । नेपाल जेसीजले हरेक वर्ष प्रदान गर्ने उत्कृष्ट युवा पुरस्कार यो वर्ष चर्चित म्याग्देली गायक प्रकाशलाई प्रदान गरिएको हो ।
बुटवल जेसीजको आतिथ्यतामा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको ५०औँ राष्ट्रिय महाधिवेशनको अवसरमा साहित्य,सङ्गीत तथा संस्कृति क्षेत्रतर्फ उत्कृष्ट युवा पुरस्कार २०२३ बाट प्रकाशलाई सम्मान गरिएको हो ।
गीतसङ्गीतको माध्यमबाट पहिचान बनाउन सफल म्याग्दीको मङ्गला गाउँपालिका–५, अर्मनका दूतराजलाई कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सम्मानपत्रले सम्मान गर्नुभएको थियो । उत्कृष्ट युवा सम्मानका लागि म्याग्दी जेसीजले दूतराजलाई सम्मान गर्न नेपाल सेसीजलाई सिफारिस गरेको थियो ।
गायक दूतराजको हालै सार्वजनिक भएको रिमै नामक गीत छोटो समयमै करोड क्लबमा प्रवेश गरेको थियो । उहाँका गीतहरू युवायुवतीका माझ लोकप्रिय हुँदै आएका छन् ।
म्याग्दी जेसीजको सिफारिसलाई स्वीकार गरी चर्चित राष्ट्रिय कालकार दूतराजलाई सम्मान गर्नुले जिल्लाको साङ्गीतिक क्षेत्रको समेत गौरव र प्रतिष्ठा बढाएको म्याग्दी जेसीजका शाखा अध्यक्ष सुमन बानियाँले बताउनुभयो ।
गायक दूतराजको ‘लाहुर जाने रेलैमा’, आरने, बैनी झ्यालैमा, घर कता हो बैनीको, पछ्यौरीको तातो, तिरिरि मुरली बज्यो तारेभीर, फूल लाउँथेँ शिरमा जस्ता गीतहरू धेरैले रुचाएका सिर्जनाभित्र पर्छन् । आफ्नो साङ्गीतिक यात्रामा नेपाल जेसीजको सम्मानले थप हौसला मिलेको गायक दूतराजले बताउनुभयो ।