• २० असोज २०८१, आइतबार

बाँकेमा थारु सङ्ग्रहालयको माग

blog

थारु सङ्ग्रहालयको मागसहितको ज्ञापन पत्र अध्यक्ष शाहीलाई बुझाउँदै । तस्बिर : गोरखापत्र

सिराज खान 

नेपालगन्ज, मङ्सिर २३ गते । थारु समुदायको इतिहास, कला र संस्कृतिको संरक्षण तथा संवर्द्धनका लागि बाँके जिल्लामा थारु सङ्ग्रहालय बनाउन माग गरिएको छ । थारु समुदायको बढी बसोबास रहेको बाँकेको वैजनाथ गाउँपालिकामा थारु सङ्ग्रहालय बनाउन माग गर्दै थारु समुदायका अगुवाहरूले गाउँपालिकामा ज्ञापनपत्र बुझाएका हुन् ।

वैजनाथ गाउँपालिकास्तरीय थारु वरपर परिवार तथा थारु अगुवा समाजसेवी, जनप्रतिभा सामुदायिक वन उपभोक्ता समूह र थारु सांस्कृतिक संरक्षण तथा पर्यापर्यटकीय केन्द्र बैजनाथ–५ छमनियाँ बाँकेको तर्फबाट अगुवा चन्तराम थारुले गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीलाई ज्ञापनपत्र बुझाउनुभयो । 

गाउँपालिका अध्यक्ष शाहीलाई बुझाइएको ज्ञापनपत्रमा थारु सङ्ग्रहालय सबैको पायक पर्ने ठाउँ वडा नम्बर ५ छमनियाँस्थित जनप्रतिभा सामुदायिक वनमा बनाउनुपर्ने, सङ्ग्रहालयलाई पालिकास्तरीय प्राथमिकता प्राप्त योजनाका रूपमा सुचीकृत गरी निर्माणका लागि पालिकाबाटै बहुबर्से बजेटको व्यवस्था गरिदिनुपर्ने, थारु जातिको महान् चार्ड तथा नयाँ वर्षका अवसरमा थारु माघी महोत्सवका लागि उचित बजेट व्यवस्था गरिदिनुपर्ने माग गरिएको छ ।

यस्तै नयाँ पुस्तामा हस्तान्तरण गर्ने थलोका रूपमा थारु सङ्ग्रहालय बनाउने र अन्य पर्यापर्यटन गतिविधिमार्फत स्थानीय स्तरमा रोजगारका अवसर सृजना गरी सुखी नेपाली समृद्ध नेपालको इच्छा र आकाङ्क्षा पुरा गर्न एक राष्ट्रिय प्राथमिकता प्राप्त योजनाका रूपमा प्रदेश र सङ्घमा सिफारिस गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । बैजनाथमा कुल जनसङ्ख्याको ३८ प्रतिशत थारु समुदाय छन् । थारु सङ्ग्रहालय निर्माणका लागि स्थानीय जनप्रतिभा सामुदायिक वन उपभोक्ता समूहले ६ बिघा जमिन उपलब्ध गराइसकेको छ ।

ज्ञापनपत्र बुझिसकेपछि अध्यक्ष शाहीले चालु आर्थिक वर्ष २०८०–८१ मै थारु सङ्ग्रहालय निर्माणका लागि डिपिआर प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो । हाले थप्नुभयो, ‘‘सङ्ग्रहालयको डिपिआर बनेपछि बजेट पाउने सुनिश्चित हुन्छ, त्यो डिपिआर तयार गर्न म प्रयास गर्ने छु ।’’ 

यस्तै थारु समुदायको ‘बरघर ऐन’ पनि आफ्नो कार्यकालमा बनाउने अध्यक्ष शाहीले सोही अवसरमा प्रतिबद्धता जनाउनुभयो । उहाँले ‘सहिद’ वैजनाथ थारुको सम्मानस्वरूप गाउँपालिकाको नामकरण गरिएको स्पष्ट पार्दै स्थानीय सरकारले थारु समुदायलाई हरेक कार्यक्रममा समेटेको बताउनुभयो । थारु समुदायको खानपान, कला, संस्कृति, भेसभुसा र इतिहास बचाउन सङ्ग्रहालय बनाउन आवश्यक रहेको गाउँपालिकाले जनाएको छ ।