• ३ जेठ २०८२, शनिबार

निर्माणाधीन प्रसारण लाइन आयोजनाको निरीक्षण

blog

कर्मचारीसँग छलफलपछि।

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ २ गते। ताप्लेजुङमा निर्माणाधीन अवस्थामा रहेको प्रसारण लाइन आयोजनाहरुको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका कार्यकारी प्रमुख सागर श्रेष्ठले निरीक्षण गर्नुभएको छ।कार्यकारी प्रमुख श्रेष्ठले १३२ केभिए क्षमताको निर्माणाधीन मेवा–चाँगे प्रसारण लाइन र २२० केभिएको ढुंगेसाँघु प्रसारण लाइन आयोजनाको निरीक्षण गर्नुभएको हो ।

प्रमुख श्रेष्ठले निर्माणाधीन उक्त आयोजनाहरुको स्थलगत निरीक्षण तथा अवलोकन गर्नुहुँदै कार्यप्रगति लगायतका विषयमा जानकारी लिनुभएको थियो।ग्रिड कम्पनीका स्थानीय जनसम्पर्क व्यक्ति किरण लिङ्देनका अनुसार श्रेष्ठले आयोजनाको कार्यप्रगतिसँगै प्रयोगमा रहेका स्रोत–साधन, उपकरण तथा संलग्न कर्मचारीसहितका जनशक्तिको अवस्थाबारे पनि जानकारी लिनुभएको छ।

निर्माणाधीन आयोजना निरीक्षणका क्रममा देखिएका प्राविधिक पक्षहरु, निर्माणको गुणस्तर, भौगोलिक चुनौती र स्थानीय समन्वयको अवस्थाबारे पनि उहाँले अध्ययन गर्नुभएको लिङ्देनले जानकारी दिनुभयो।

अध्ययन तथा निरीक्षणपछि आयोजनामा संलग्न कर्मचारीसँग हालसम्म भएको प्रगति, आइपरेका समस्या, आगामी कार्ययोजना, स्थानीय जनप्रतिनिधिसँगको समन्वय, र आवश्यक स्रोत साधन व्यवस्थापनका विषयमा व्यापक छलफलसमेत गर्नुभएको बताइएको छ ।

छलफलका क्रममा श्रेष्ठले आयोजनाको काम समयमै सम्पन्न गर्न सबै कर्मचारीलाई आवश्यक निर्देशन दिनुका साथै कामप्रति उत्प्रेरणासमेत दिनुभएको छ।आयोजनालाई राष्ट्रिय गौरवको रूपमा अघि बढाउन सबै पक्ष एक ढिक्का भएर काम गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभएको सम्पर्क व्यक्ति लिङ्देनले बताउनुभयो।

आयोजनाको क्षेत्र मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघुदेखि मेरिङ्देन गाउँपालिका हुँदै मिक्वाखोला गाउँपालिका–५ पापुङसम्म फैलिएको छ।निर्माणाधीन आयोजना क्षेत्रीय विद्युत आपूर्तिमा सुदृढ र सहजता ल्याउने महत्वपूर्ण परियोजनाको रूपमा रहेको कम्पनीले जनाएको छ ।