गोरखापत्र अनलाइन
काठमाडौं, पुस ९ गते । गोरखापत्र संस्थान आम्दानी तथा बिलिङ शाखाको पाँचौँस्तर कार्यालय सहयोगी रामकृष्ण श्रेष्ठको आज बिदाइ गरिएको छ ।
२०४८ साल माघ ८ गते सेवा प्रवेश गर्नुभएका श्रेष्ठ २०८२ कात्तिक ९ गते सेवानिवृत्त हुनुभएको थियो । उहाँलाई संस्थान व्यवस्थापनले आज औपचारिक बिदाइ गरेको हो । ३४ वर्ष संस्थानमा सेवा गर्नुभएका श्रेष्ठलाई संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले मायाको चिनो दिएर बिदाइ गर्नुभयो ।
सो अवसरमा महाप्रबन्धक ऐरीले संस्थानमा लामो समय कार्यरत रही अनुभव सँगाल्नुभएका श्रेष्ठ सेवानिवृत्त हुँदा एक जना इमानदार र अनुभवी कर्मचारी संस्थानबाट बिदाइ गर्नुपरेको बताउनुभयो । कर्मचारीको हैसियतमा जागिर खाएपछि बाहिरिनुपर्ने नियमित प्रक्रिया भएकाले उहाँलाई बिदाइ गर्नुपरेको बताउनुभयो । निवृत्त जीवन सुखद होस् उहाँले शुभकामना व्यक्त गर्नुभयो ।
संस्थानको ब्रेन भनेकै कर्मचारी भएकाले कर्मचारीकै अनुभव, सीप र ज्ञानले संस्थान चलिरहेको बताउँदै उहाँले कर्मचारीको वृत्तिविकास र हितमा आफूले काम गरिरहेको बताउनुभयो ।

गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेतले सेवा प्रवेश गरेपछि सेवानिवृत्त हुनु अनिवार्य पक्ष भएकाले उहाँको बाँकी जीवन सफल रहोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो ।
त्यस्तै, अर्थ विभाग प्रमुख राजुकुमार महत, आम्दानी तथा असुलउपर शाखा प्रमुख उमेश कार्की, बिलिङ शाखाका प्रमुख हरि सुवेदीले सेवानिवृत्त हुनुभएका श्रेष्ठ इमानदार र लगनशील कर्मचारी भएको र उहाँले संस्थानमा रहँदासम्म इमानदारीसाथ काम गर्नुभएको भन्दै शुभकामना व्यक्त गर्नुभयो । बाँकी समय उहाँको थप सफल रहोस् शुभकामना दिनुभयो । सो अवसरमा सञ्चालक समिति सदस्य तथा अनलाइन प्रकाशनका निमित्त सम्पादक लक्की चौधरी, राइजिङ नेपालका निमित्त प्रधान सम्पादक विष्णुप्रसाद गौतम, प्रशासन विभाग प्रमुख ओमप्रकाश भुषालसहित कर्मचारीको सहभागिता थियो ।