प्रेम अधिकारी
पशुपतिनगर(इलाम), जेठ २ गते । इलामको सूर्योदय नगरपालिका आर्थिक पारदर्शीताका हिसाबले अन्य पालिका भन्दा अगाडि रहेको छ । नीति निर्माणदेखि सुशासनका क्षेत्रमा निक्कै अगाडी रहेको नगरपालिकाले नमुना काम गर्दै आएको छ । जसका कारण सूर्योदय नगरपालिका चर्चामा रहने गर्छ।
महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६२ औं प्रतिवेदन अनुसार इलामका १० पालिकामध्ये सूर्योदय नगरपालिका सबैभन्दा कम बेरुजु भएको पालिकामा परेको छ । आर्थिक वर्ष २०८०-०८१ को महालेखाको प्रतिवेदन अनुसार सूर्योदयको बेरुजु शून्य दशमलब दुई दुई(०.२२%) प्रतिशतमात्र रहेको छ । चार नगरपालिका र ६ गाउँपालिका रहेको इलाममा बिगतका वर्ष देखि नै सूर्योदयको बेरुजु कमै देखिँदै आएको छ ।
सूर्योदय सबैभन्दा कम बेरुजु भएको नगरपालिका बन्दै गर्दा इलामको माई नगरपालिकाको बेरुजु जिल्लाका पालिका मध्ये सबैभन्दा बढी बेरुजु ४ दशमलब ८६ प्रतिशत रहेको छ । यस्तै बेरुजु दोस्रो कम भएको पालिकामा सन्दकपुर गाउँपालिका रहेको छ । सन्दकपुरको बेरुजु शून्य दशमलब ३८ प्रतिशत रहेको छ । तेस्रो कम बेरुजु भएको पालिकामा माईजोगमाई गाउँपालिका परहेको छ । माईजोगमाईको बेरुजु शून्य दशमलब ८० प्रतिशत मात्र छ । बिगतका वर्ष भन्दा उक्त पालिका ह्वात्तै बेरुजु घटाएको हो ।
त्यसैगरी क्रमशः देउमाई नगरपालिका १ दशमलब ०४ प्रतिशत, इलाम नगरपालिका १ दशमलब ३७ प्रतिशत, फाकफोकथुम गाउँपालिका १ दशमलभ ६१ प्रतिशत, रोङ गाउँपालिका २ दशमलब २४ प्रतिशत, चुलाचुली गाउँपालिका २ दशमलब ३८ प्रतिशत र माङसेबुङ गाउँपालिकामा २ दशमलब ७४ प्रतिशत बेरुजु रहेको छ ।
सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले बिगतका आर्थिक वर्षदेखि नै बेरुजु शून्यमा झार्ने लक्ष्यका साथ नगर अगाडि बढी रहेको जानकारी दिनुभयो । ‘आर्थिक पारदर्शीताका लागि हामीले आवश्यक नीति, नियम र कानुन बनाएका छौं, त्यसैका आधारमा काम गर्दा बेरुजु कम हुँदै गएको हो ।’ सूर्योदय नगरपालिका यसअघि नै देश भरका पालिका मध्ये आर्थिक विकासतर्फ पहिलो भैसकेको छ ।