• ३ जेठ २०८२, शनिबार

नवलपुरमा हावा हुरीबाट क्षति

blog

नवलपुरमा आएको हावा हुरीबाट लच्किएका रुख । तस्बिर : बोमलाल गिरी

बोमलाल गिरी 

नवलपुर, जेठ २ गते । नवलपुरमा शुक्रबार दिउँसो आएको हावा हुरीले बबण्डर मच्चाएको छ । मानवीय क्षति नभए पनि भौतिक क्षति धेरै भएको र तथ्यांक संकलनको काम भइरहेको नवलपुर प्रहरीले जनाएको छ ।

हावाहुरी शुरु हुने बित्तिकै लाइन गएकाले तथ्याङ्क संकलनमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो । हावा हुरीका कारण ठाउँ ठाउँमा घाइते भएको खवरहरु आइरहेको ढकालले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले झ्यालको शिशा फुटेर लाग्दा मध्यविन्दु–४ मदनपुरका मदन केसी घाइते हुनुभएको छ ।  घाइते केसीको प्रादेशिक अस्पताल डण्डामा उपचार सम्भव नभएपछि थप उपचारका लागि सरकारी अस्पताल भरतपुर पठाइएको छ ।

हावा हुरीले नवलपुर एफ एफको टावर भाँचिएको छ । कावासोती–८ मा रहेको एफ एमको १२० मिटर अग्लो टावर भाँचिदा छिमेकमा असर गरेको प्रहरी नायव उपरीक्षक नेपालले बताउनु भयो ।

एफ एफएमकी प्रवन्ध निर्देशक राधिका भुसालका अनुसार टावर भाँचिदा छिमेकी देवी प्रसाद काफ्ले र भिमनाथ सदाशंकरको घरमा क्षति भएको छ ।

त्यस्तै, गैडाकोट नपा–१ गंगानगर बस्ने वर्ष ५६ का डल्ले घर्ती घरभित्रबाट बाहिर निस्कँदा घर पछाडिको सालको हाँगा भाँचिएर लाग्दा घाइते भई उपचारका लागि भरतपुर सरकारी अस्पताल चितवन पठाएको छ ।

उहाँको टाउको र आँखामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । साथै निजको जस्ताको छानो र ब्लकको गारो भएको १ तले २ कोठे घरमा समेत आंशिक क्षति पुगेको छ ।

बुलिङटार गापा२ मछाडस्थित करिडोर सडक खण्डमा हावाहुरीको कारण स्वामीको रुख ढली बाटो अवरुद्ध भएको छ ।

नवलपुरका स्थानीयले बबण्डर मच्चाउने गरी यति ठूलो आँधी हुरी अहिले सम्मकै खतरनाक भएको टिप्पणी गरेका छन् । कोल्हुवा बहुमुखी क्याम्पसका प्रध्यापक नारायण अर्यालले आफ्नो जीवनमै यति भयानक आँधी अहिलेसम्म नदेखेको बताउनु भयो । 

”यस्तो खालको आँधीहुरी मेरो जीवनमा अहिलेसम्म देखेको थिएन, यसले धेरै तिर धेरै क्षति गरेको हुनुपर्छ,” अर्यालले भन्नुभयो, ”घर र अन्य संरचनाहरु निर्माण गर्दा गम्भीर हुनु पर्ने सन्देस यो हुरीले दिएको छ ।’’

दिउँसो ४ बजेदेखि झण्डै एक घण्टा तुफानी हुरी चलेको थियो । तर वर्षा भने हल्का मात्र भएको थियो । बिहीबार यस्तै हुरी चितवनमा चल्दा कतिपय घरको टिनको छाना नै उडाएको थियो । हल्का वर्षाले पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड अवरुद्द भएको छ ।