• २ जेठ २०८२, शुक्रबार

गुल्मीमा चैत र वैशाखमा ५६ आगलागी : ८६ लाखको भौतिक क्षति

blog

आगलागीले ध्वस्त मालिका गाउँपालिका–६ अर्जेका डिल्लीराज अर्यालको गोठसहितको कुखुरा फर्म । पतस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा, जेठ २ गते ।
गुल्मीमा चैत र वैशाख महिनामा मात्रै ५६ वटा आगलागीका घटना भएका छन् । शुक्रबार जिल्ला प्रहरी कार्यालय गुल्मीको नियमित पत्रकार सम्मेलनमा सार्वजनिक तथ्याङ्क अनुसार चैतमा ४० र वैशाखमा १६ आगलागीका घटना भएका छन् । वैशाखमा भएका आगलागीका घटनामा एक व्यक्तिको मृत्यु भएको छ भने १७ पशु चौपायको मृत्यु भएको छ ।

आगलागीमा एक घर र सात गोठ गरेर ३२ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

त्यस्तै, चैत महिनामा आगलागीमा परेर एक व्यक्तिसहित १३ पशुचौपायको मृत्यु र पाँच घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आगलागीका कारण तीन घर र १५ गोठ जलेर नष्ट भएका थिए । आगलागीबाट ४९ लाख ३५ हजार रुपियाँ बराबरको भौतिक क्षति भएको छ । जिल्लामा अपराध, लागु औषधको समस्या नभए पनि आगलागी र पहिरोको बढि जोखिम भएकाले कार्यालयको नियमित कार्य सम्पादनसहित विपदमा प्रहरी सक्रिय हुने भर्खरै प्रहरी प्रमुखको रूपमा आउनुभएका अधिकारीले बताउनुभयो ।

केहीदिन अघि आगलागीमा परेर जिल्लाका धुर्कोट गाउँपालिका–१ नयाँगाउँ ओखररुखको मुनि नेपालीका ६ वर्षीय छोरा विवेक नेपालीको मृत्यु भएको थियो ।  दिदी अस्मि र विवेक खेल्ने क्रममा खोसेर भाइले खरको थुप्रोमा आगो लगाएपछि भित्रै थुनिएर ज्यान गएको प्रहरीले जनाएको छ । आगोले ढुङ्गा माटोले बनेको टिनले छाएको दुई तले कच्ची गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीमा डिएसपी गङ्गाबहादुर सारुले बताउनुभयो ।

गुल्मी पछिल्लो समय लगातार आगलागीका घटना भइरहेका छन् । विद्युत् सर्ट भएर आगलागी हुँदा इस्मा गाउँपालिका–२ की बिमला दर्जीको दुई तले घरसँगै साढे दुई तोलाको सुनको सिक्री र नगद ३० हजारसहित लत्ता कपडा, अन्नपात जलेर नष्ट भएका थिए । 

मालिका गाउँपालिका–६ अर्जेका डिल्लीराज अर्यालको गोठसहितको कुखुरा फर्ममा आगलागी हुँदा सात सय कुखुरा मरे । परदेशबाट फर्किएर गाउँमै केहि गर्ने सपना बोकेर कुखुरा पालन गर्नुभएको डिल्लीराजका छोरा कमल सात सय कुखुरा नष्ट भएका थिए ।

त्यस्तै, इस्मा गाउँपालिका–१ हस्तिचौरकी ५० वर्षीया कमला कुँवरको घर पनि आगोले जलेर नष्ट भयो ।

कमलाले हारगुहार गर्दागर्दै आँखै अगाडि घरगोठ, दुई भैँसी, चार बाख्रा, कुखुरा, खाद्यान्य, लत्ताकपडा र नगद र गरगहनासहित सवै सम्पत्ति जलेको पीडाले विक्षिप्त हुनुहुन्छ । कुँवर परिवारसँग खाने, लगाउने, ओड्ने ओछ्याउने केहि पनि छैनन् । आगलागीबाट क्षति हुनेहरूलाई सरकारले तत्काल राहत दिए पनि दीर्घकालीन संरक्षण गर्न नसक्दा ठुलो समस्या हुने गरेको छ ।

लाभग्राही कायम गरेर घर निर्माणको सम्झौता गर्ने तर किस्ता नदिँदा गत वर्ष आगलागीले पीडित जिल्लाका दर्जनौ घर परिवार ऋणको भारमा फसिरहेका छन् । जिल्ला प्रहरी कार्यालयले सबैभन्दा पहिला आगलागी हुनै नदिन व्यक्ति स्वयम सचेत रहन आग्रह गरेको छ । प्रवक्ता प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले हेरचेक्राइँ र विद्युत् सर्ट भएर पनि आगलागी भएकाले समयमै विद्युतिय तार र उपकरणको मर्मत गर्न सुझाव दिनुभयो । उहाँले आगलागी भए तत्काल नियन्त्रण वा उद्धारको काम गर्न प्रहरीसहित स्थानीय स्तरमा विपद् उद्धार समूह वा टोली आवश्यक रहेको बताउनुभयो ।