• २२ असार २०८२, आइतबार

जनकपुरधामा पत्रकार महासंघ मधेश प्रदेशको कार्यालय

blog

भंगहा नगरपालिका नगरप्रमुख संजिव साह नेपाल पत्रकार महासंघ मधेश प्रदेशको कार्यालयको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 
जनकपुरधाम, असार २२ गते ।
मधेश प्रदेशको राजधानी जनकपुरधामा नेपाल पत्रकार महासंघ मधेश प्रदेशको कार्यालय सञ्चालनमा आएको छ ।

महोत्तरीको भंगहा नगरपालिकाका नगरप्रमुख संजिव साह र नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दहालले संयुक्त रुपमा शनिबार एक कार्यक्रमबिच कार्यालयको उद्घाटन गर्नुभएपछि पत्रकार महासंघको प्रदेश कार्यालय सञ्चालनमा आएको हो  ।

जनकपुरधाम उपमहानगरपालिका– २ भानु चौकस्थित एक घर भाडामा लिइ तत्काल कार्यलय सञ्चालनमा आएको हो । प्रदेशमा नेपाल पत्रकार महासंघको कार्यालय स्थापनाले आगामी दिनमा पत्रकार हितका लागि काम गर्न प्रदेश समितिलाई सहज हुने बताइएको छ ।

कार्यक्रममा वरिष्ठ पत्रकार एवम् स्वतन्त्रता सेनानी रामभरत साहले नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा आफनो व्यक्तिगत लगानीमा प्रत्येक वर्ष प्रदान गर्ने गरी राम भरत साह-कनक लाता पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभयो । पुरस्कारको राशी ११ हजार र प्रमाणपत्र रहने उहाँले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा भएको सो कार्यक्रममा भंगहा नगरपालिकाका नगरप्रमुख साह, नेपाल पत्रकार महासंघका महासचिव दहाल, नेपाल पत्रकार महासंघ लेखा समितिका संयोजक केसी लामिछाने, केन्द्रीय सदस्य राजेश कर्णसहित विभिन्न जिल्लाका जिल्ला अध्यक्ष वा उपाध्यक्षले आफ्नो धारणा राख्नुएको थियो ।