नेपालगन्ज समाचारदाता
नेपालगन्ज, असार २२ गते । नेपालगन्जस्थित नेपाल–भारत नाका हुँदै भारतबाट गत केही वर्षयता घट्दै गएको चिनी र चामलको आयात फेरि ठुलो परिमाणमा वृद्धि भएको छ । नेपालगन्ज नाकाबाट गत आर्थिक वर्ष २०८०/८१ को पहिलो ११ महिनाको अवधिमा एक करोड दुई लाख ६४ हजार रुपियाँको दुई लाख १४ हजार ६४५ किलो चिनी आयात भएको थियो तर चालु आवको सोही अवधिमा अत्यधिक वृद्धि भई ४४ करोड ८८ लाख ९१ हजार रुपियाँको ६४ लाख २२ हजार ६० किलो चिनी आयात भएको छ ।
गत आवको ११ महिनामा चिनी आयातबाट ४८ लाख ३३ हजार रुपियाँ मात्र राजस्व सङ्कलन भएकोमा चालु आवको सोही अवधिमा २१ करोड पाँच लाख ९९ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ । चिनीको राजस्व सङ्कलनमा चालु आवमा २० करोडभन्दा बढी वृद्धि भएको हो ।
चामल आयातमा पनि गत आवको तुलनामा दोब्बरभन्दा बढी वृद्धि भएको छ । गत आवको ११ महिनामा तीन करोड २२ लाख ५० हजार ६५५ किलो चामल आयात भएकोमा चालु आवको सोही अवधिमा छ करोड ५२ लाख ५६ हजार ९५५ किलो चामल आयात भएको हो । गत आवको ११ महिनामा तीन अर्ब ९३ करोड ८२ लाख ३६ हजार रुपियाँको चामल आयात भएकोमा चालु आवको सोही अवधिमा पाँच अर्ब ७२ करोड १७ लाख ९२ हजारको चामल आयात भएको छ ।
चामल आयातबाट गत आवको सो अवधिमा ४५ करोड १६ लाख १७ हजार रुपियाँ राजस्व सङ्कलन भएकोमा चालु आवको सोही अवधिमा ४६ प्रतिशतभन्दा बढी वृद्धि भई ६६ करोड १५ लाख तीन हजार रुपियाँ राजस्व सङ्कलन भएको छ ।
चालु आवमा तस्करी र अवैध आयातमा कडाइ गरिएकाले नै वैध आयात वृद्धि भएको नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले बताउनुभयो ।