• २२ असार २०८२, आइतबार

उत्पादन घट्दा खस्कियो अलैँची निर्यात

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २२ गते । चालु आर्थिक वर्ष २०८१/८२ को महिनामा अलैँची निर्यातमा कमी आएको छ । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग उच्च भए पनि उत्पादन कम हुँदा निर्यातमा कमी आएको हो । भन्सार विभागको तथ्याङ्क अनुसार ११ महिनामा (साउन–जेठ) सात अर्ब १९ करोड ८४ लाख रुपियाँ बराबरको ३९ लाख ९५ हजार ७४५ केजी अलैँची निर्यात भएको छ । 

गत वर्ष सो अवधिमा सात अर्ब ४७ करोड ६५ लाख रुपियाँको ४७ लाख १९ हजार ९४५ केजी अलैँची निर्यात भएको थियो । 

गत आवको तुलनामा २६ करोड रुपियाँ बराबरको आठ लाख केजी अलैँची निर्यातमा कमी आएको तथ्याङ्कले देखाएको छ । अलैँचीको उत्पादनमा कमी आउँदा निर्यातमा कमी आएको तथ्याङ्कले देखाएको छ । 

यस वर्ष अन्तर्राष्ट्रिय बजारमा अलैँचीको मूल्य बढे पनि माग अनुसार उत्पादन नहुँदा निर्यात हुन नसकेको अलैँची उत्पादक सङ्घले जनाएको छ । यस वर्ष अन्तर्राष्ट्रिय बजारमा प्रतिमन (४० केजी) एक लाख १२ हजार रुपियाँ सम्म मूल्य पुगेको छ ।

सङ्घका अनुसार मुलुकभर १८ हजार हेक्टर क्षेत्रफलमा हुने अलैँची खेतीबाट वार्षिक पाँच हजार मेट्रिक टन उत्पादन हुने गरेको छ । मुलुकमा ४० हजार हेक्टर क्षेत्रफलमा अलैँची खेती हुने सम्भावना रहे पनि खेती विस्तार हुन नसकेको बताइएको छ । शङ्का अध्यक्ष निर्मल भट्टराईले अलैँचीको बोटमा किरा लाग्दा उत्पादनमा कमी आएको छ । 

अलैँचीको उत्पादन बढाउन सके वार्षिक २५ देखि ३० अर्ब रुपियाँ विदेशी मुद्रा भित्र्याउन सकिने सम्भावना रहेकाले यसका लागि सरकारले कृषकलाई सहुलियत ब्याजमा ऋण, कृषि प्राविधिकको व्यवस्था गर्न आवश्यक रहेको उहाँको भनाइ छ । 

सङ्घका अनुसार पछिल्लो समय अलैँचीको खेतीयोग्य गर्ने क्षेत्रफलसँगै उत्पादन पनि क्रमिक रूपमा घट्दै गएको छ । नेपालको पूर्वी जिल्लामा उत्पादन हुने अलैँची जर्मनी, भारत, इटाली, पाकिस्तान, अमेरिकालगायतका देशमा निर्यात हुने गर्छ ।