रमेश विश्वकर्मा
गुल्मी, जेठ २ गते । गुल्मीमा जबरजस्ती करणी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ । शुक्रबार मासिक पत्रकार भेटघाटका क्रममा वैशाख महिनाभर भएका जबरजस्ती करणीका घटनामा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो ।
प्रहरी नायब उपरीक्षक सारुका अनुसार जिल्लाको रेसुङ्गा नगरपालिका वडा नंं.२ बाख्रेछेडामा १४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा बाग्लुङको बडिगाड गाउँपालिका वडा नं. ९ खहरे बस्ने १९ वर्षीय हिरा कामी र १७ वर्षीय किशोरलाई पक्राउ गरिएको छ ।
उनीहरू दुवै जना तम्घासमा रहेको ग्रिल उद्योगमा काम गर्दै आइरहेका थिए । उनीहरूले वैशाख २७ गते बालिकालाई सोही उद्योगभित्र लगी जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । त्यस्तै, जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं.१ सराङ्गमा आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
त्यस्तै, ३० वर्षीय व्यक्तिले आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको डिएसपी सारुले जानकारी दिनुभयो । दुवै घटनाका आरोपीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।