काठमाडौँ, जेठ २ गते । सेवा र विकासका लागि युवा संस्थाले विभिन्न १३ जिल्लाका दुई हजार पाँच सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ ।
शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै विद्यार्थीको आवश्यकतालाई महसुस गरी फरक–फरक १३ जिल्लाका कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्न लागिएको जानकारी गराइएको हो ।
शैक्षिक सामाग्री वितरण गरिने जिल्लाहरुमा पाँचथर, उदयपुर, नुवाकोट, सप्तरी, रामेछाप, गुल्मी, अर्घाखाँची, रोल्पा, सुर्खेत, डोटी, बाँके, नवलपुर, तनहुँ रहेका छन् । वितरण गरिने शैक्षिक सामाग्रीमा झोला, कपी, कलम, जोमेट्री बक्स, प्रागिक अंग्रेजी बोलचाल पुस्तक, नेपाली बृहत शब्दकोश, ल्यापटपसमेत रहेको बताइएको छ ।
सेवा र विकासका लागि युवाका राष्ट्रिय सचिव खगेन्द्रबहादुर क्षेत्रीका अनुसार उक्त शैक्षिक सामाग्री मित्र राष्ट्र भारत सरकारको सहयोगबाट प्राप्त भएको हो । राष्ट्रिय अध्यक्ष डा. देवेन्द्र कण्डेलले देशका विभिन्न ओहदामा पुग्ने जनशक्ति विद्यार्थी भएकाले उनीहरु स्रोत साधानबाट बञ्चित हुन नपरोस् भनेर आफूहरुले काम गरिरहेको बताउनुभयो ।