गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २ गते । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिका सभापति तथा सांसद सूर्य थापाले सहकारीका बचतकर्ताहरूको बचत अपचलन, दुरुपयोग र ठगीमा संलग्न भई फरार रहेको गितेन्द्रबाबु राईलाई नेपाल फर्काउनमा सहयोग गर्न मलेसियाका सांसदहरुसँग आग्रह गर्नुभएको छ ।
नेपाल भ्रमाणमा रहेका मलेसियाली सांसदहरुसँगको भेटमा उहाँले सो आग्रह गर्नुभएको हो । उहाँका अनुसार राईका सपरिवार सेकेन्डहोम मलेशिया स्किमअन्तर्गत त्यहाँ बसेका छन् ।
प्रतिनिधि मण्डललाई जीबी राई सहकारीको बचत रकम दूरुपयोग गरी फरार भएर विदेशमा लुकिबसेकामध्ये संसदीय छानविन विशेष समितिले खोजेर स्वदेश ल्याई कारबाही चलाउन निर्देशन दिएको थियो । २९ जनामा पहिलो नम्बरमा नाम रहेको राई करिब ८ अर्ब बचत अपचलन र ठगी गरेको तथ्यसमेत जानकारी समितिले सरकारलाई गराइसकेको छ ।