जानु पाण्डे
कपिलवस्तु, मङ्सिर २० गते। कपिलवस्तुको बुद्धभूमि नगरपालिका-२ गोरुसिङ्गेमा जारी दोस्रो कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा दर्शकको बाक्लो उपस्थिति रहेको छ।
मङ्सिर १४ देखि २४ गते सम्म सञ्चालन भएको महोत्सवमा मङ्गलबार १० हजार दर्शकले अवलोकन गरेका छन्।
महोत्सवको छैटौँ दिन लोक तथा दोहोरी गायिका प्रीति आले र भोजपुरी गायक सुनिल पण्डितले साङ्गीतिक प्रस्तुति दिनुभएको थियो।
आलेले दोहोरी ब्याटल, रोइला, लोक तथा दोहोरी गीत प्रस्तुत गर्नु भएको थियो। पण्डितले मिनिरल वाटर, बाँझो खेतमा, कमरिया गीत गाउँदा दर्शकले वान्स मोरको आग्रह गरेका थिए।
महोत्सवमा स्थानीय उत्पादन प्रदर्शनी, बाल उद्यान, जिल्लाका हस्तकलाका सामाग्री बिक्री, महिला उद्यमीले तयार गरेका अचार लगायतका सामाग्रीमा जोड दिइएको आयोजक संस्था होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ कपिलवस्तुका अध्यक्ष लेखनाथ घर्तीले बताउनुभयो।